१० हजार भक्तजनद्धारा गोसाइँकुण्डमा स्नान

१० हजार भक्तजनद्धारा गोसाइँकुण्डमा स्नान


जनैपूर्णिमा पर्वमा तीर्थ भर्न गोसाइँकुण्ड गएका गएका यात्रीहरु धमाधम फर्कन थालेका छन् ।

गोसाइँकुण्ड क्षेत्र विकासका अनुसार अध्यक्ष सञ्जीव डिएमका अनुसार जनैपूर्णिमा पर्वमा करीब १० हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको आँकलन गरिएको छ ।

बिहानै कुण्डमा स्नान गरेपश्चात् ५ बजेसम्म झण्डै २५ प्रतिशत भक्तजन धुञ्चे रोडहेडमा पुगिसकेको बताइएको छ । गोसाइँकुण्ड मेलामा तीर्थ गर्न पुगेका धादिङ महादेवबेँसीका कान्छा तामाङले भने बाटोमा हिँड्दा सबै यात्रु सहजरुपले ओहोरदोहोर गरेको पाइएको बताए ।

यस्तै सर्लाही रामघाटबाट आएका ७३ वर्षीय दामोदर घिमिरे भने उकालो चढ्न गाह्रो भएपछि देउरालीबाटै घरतर्फ फर्किएका थिए । उनका अनुसार धेरै स्वाँस्वाँ भयो शरीरका सबै अङ्गले उकालो चढ्ने आँट नै आएन त्यसैले आफू र साथमा रहेकी उनकी धर्मपत्नी होमकुमारी घिमिरेसमेत अन्य दुई जना साथीसमेत बीच बाटोबाटै फर्किए ।

यात्रुमाझ शान्तिसुरक्षा यथेष्ट व्यवस्था गरिएको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

भदौ १ गतेदेखि भक्तजनको आगमन भएकाले १ गतेदेखि १० गतेसम्मका यात्रु सङ्ख्याको आँकलन गर्दा समग्रमा १३ हजार भक्तजन निलाद्री पर्वत पुगेको अनुमान गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

गोसाइँकुण्ड जानका लागि सुन्दरीजल हेलम्बु सरमथली, यार्सा भञ्ज्याङ, धुञ्चे र लौरीविनायक मार्ग प्रयोग गर्ने गरेको र शास्त्रको विधिअनुसार जुनै मार्ग प्रयोग गरे लौरो चढाउने परम्परा छ ।

लौरीविनायकमा लौरी चढाएर मात्र गोसाइँकुण्ड पुग्ने र गोसाइँकुण्डको जल धैबुङको कालिका मन्दिरमा चढाएर फर्किनुपर्ने मान्यता रहेको पुरोहित टङ्कप्रसाद ढकालले बताए । धुञ्चेदखि काठमाडौँसम्म मोटर चल्ने भएकाले सबै भक्तजन धुञ्चे काठमाडौँ सिधा मार्ग मात्र प्रयोग गर्ने पछिल्लो परम्परा बसेको छ ।

गोसाइँकुण्ड स्नानका लागि सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, दाङ, स्याङ्जा, गोरखा, लमजुङ, धादिङ, काठमाडाँै, भक्तपुर, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट भक्तजन आएका थिए ।