भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आर्कषण ‘घिन्ताघिसी नाच’

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आर्कषण ‘घिन्ताघिसी नाच’


आठ दिनसम्म मनाईने भक्तपुरको प्रमुख जात्रा मध्ये एक गाईजात्रा आईतवारदेखि सुरु भएको छ । उपत्यकासँगै विभिन्न शहरहरुमध्ये भक्तपुरको गाईजात्राको महत्तव फरक रहेको छ ।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आर्कषण घिन्ताघिसी नाच हो । यो नाच विशेष तयारीका साथ कलात्मक शैलीको हुने भएका कारण यो नाचमा सहभागीहरुलाई नचाउनका लागि दुई सातादेखि अभ्यास गरी सो दिन निकालिन्छ । आकर्षक नाचको रुपमा लिने घिन्ताघिसी नाच धार्मिक एवं एतिहासिक महत्व बोकेको नाच मानिन्छ ।

यो नाच नाच्नका लागि कलात्मक कपडाको समेत आवश्यकता पर्ने गर्दछ । यो नाच विगतमा भक्तपुर नगरका विभिन्न टोल तथा गल्लिबाट निकाल्ने नाच वाद्यवादनको बोलमा लय, ताल र सुर मिलाएर सबै जनाले एकैनासले नाच्ने यो नाच नेवार समुदायले विशेष पर्वका रूपमा मनाउदै आएका छन् ।

गाईजात्रा वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आत्माले मोक्ष प्राप्त गरुन भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिनदेखि आठ दिनसम्म मनाइन्ने गरिन्छ । नेपाल भाषामा सापारु भनिने गाईजात्रामा विधिवत गाईलाई परिक्रमा गराएमा मृतात्माहरू सजिलैसँग स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

गाईजात्राका दिन बिहान सबेरै भक्तपुर तलेजु स्थानवाट भक्तपुरवासीले कुखुरा नबास्दै पहिलो तलेजुको ताहामचा बनाई देश परिक्रमा गर्ने प्रचलन छ । त्यसपछि सर्वसाधारण मान्छेको मृत्यु भएकाहरूको वर्ष दिनभित्र मरेकामध्ये मृत्यु संस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाहरुको साँचा (बाच्छा-बाच्छो) बाँसको डोको सिंगारेर गाईको मुख भएको चित्रमा परालको एकजोडा सिंङ, पङ्खा तथा विभिन्न पूmलमालाले सिंगारेर घरको आँगनमा पुरोहित, ब्राम्हणद्धारा मृतकका किरिया गर्ने, जजमानको हातबाट संकल्प गरी विधि बमोजिम पूजा गराई डोकोलाई एकजना केटो वा मानिसले बोकेर निश्चित बाटो गरी गाई पदेन गर्न पठाउने चलन छ ।

तर उमेर पुगेका मानिसहरुको मृत्युमा १५ देखि २० हात लामो बाँसमा माथिदेखि तलसम्म मूल्यवान नयाँ नयाँ कपडाले टुप्पादेखि तलसम्म छोपी, त्यो कपडाको चारैतर्फ जरीवाल पठाले मोडी चार जना मानिसले बोक्ने लिङ्गाकार चारवटा बाँसले तयार पारिएका खट (ताहा साँ) लाई चारजना र दाँया बाँया कपडाले तान्ने दुईजना मानिस गरी जम्मा ६ जना मानिसले बोकेर गाईजात्राको दिनमा प्रदर्शन गर्ने गर्दछन् । त्यो खटको टुप्पामा गाई मुख छापलाई परालका दुईवटा सिंगमा लगभग तीनचार हातका कपडा झुण्ड्याइन्छ । गाई मुख छापलाई चवर पंखा छाताले ओढाई विभिन्न प्रकारका पूmलका गुच्छा र माला लगाई मृतकको घरको ढोका अगाडि मूल पुरोहित ब्राम्हणले क्रिया पुत्रद्वारा पूजा संकल्प गराई विधिबमोजिम पूजा गरी मृतकको आत्मा यमद्वारभित्र प्रवेश हुन पाओस् भनी कामना गरेर देश परिक्रमा गर्न पठाउने गर्दछन् ।

आठ दिनसम्म मनाईने भक्तपुरको गाईजात्राको दोस्रो दिन खाली रहने गर्दछ भने तेस्रो दिनदेखि भक्तपुुरका विभिन्न मन्दीरमा जात्रा मनाइने गरिन्छ ।