प्यालेष्टिनी अधिकारीद्वारा अमेरिकालाई चेतावनी

प्यालेष्टिनी अधिकारीद्वारा अमेरिकालाई चेतावनी


अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको विषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी उच्च अधिकारीहरुले चेतावनी दिएका छन् । अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि आइतबार प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु यूसेफ र अहमद अबु हाउलीको उक्त प्रतिक्रिया आएको हो ।

प्यालेस्टिनी पक्षले आफ्ना नागरिकको राष्ट्रिय अधिकारलाई प्रभावित गर्ने कुनैपनि विषयलाई अस्वीकार गर्ने यूसेफले प्यालेष्टिनी रेडियो ‘भ्वाइस अफ प्यालेस्टाइन’लाई दिएको अन्तवार्तामा बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले इजरायलको पक्षमा ‘पूर्ण पक्षपातपूर्ण’ व्यवहार देखाएको पनि उनको आरोप छ । प्यालेस्टिनी नेताहरूले वर्तमानअमेरिकी प्रशासनसँग तत्काल कुनै सम्पर्क भएको कुरालाई इन्कार गरे । आन्दोलनका कारण अमेरिकी प्रशासनले प्यालेस्टिनी जनताको ऐतिहासिक अधिकारविरुद्ध हुनेगरी निर्णयहरू गर्ने गरेको बताउँदै यसले अमेरिकालाई राम्रो नहुने उनीहरूको भनाइ थियो ।

शरणार्थी विभागका प्रमुखसमेत रहेका हाउलीले इमेलमार्फत एक विज्ञप्ति पठाउँदै भनेका छन्, प्यालेस्टिनी शरणार्थीको समस्या विल्कुल इजरायली–अरब द्वन्द्व भएकोले यसमा अमेरिकी हस्तक्षेप अनावश्यक छ ।

प्यालेस्टिनी समस्याबारे कार्यान्वयनमा आउन लागेको संयुक्त राष्ट्र सङ्घको सङ्कल्प प्रस्तावलाई अमेरिकाले रद्द गर्न नमिल्ने उनले बताएका छन् । “प्यालेस्टिनी शरणार्थी घर फर्कन पाउने अधिकारलाई अन्तराष्ट्रिय कानून तथा मानव अधिकारबारे विश्वव्यापी घोषणापत्रले प्रत्याभूत गरेको विषय हो ।”

एक इजरायली टेलिभिजनले शनिबारको प्रशारणमा सन् १९४८ भन्दा पहिले जन्मेका प्यालेस्टिनीहरूलाई मात्र शरणार्थीको मान्यता दिन चाहेको भन्ने सूचनालाई लिएर उनीहरूले अमेरिकालाई प्यालेस्टिनी शरणार्थीका सम्बन्धमा हस्तक्षेपकारी भूमिका नखेल्न चेतावनी दिएका हुन् ।