कवि कृसु क्षेत्रीको ‘चराको गीत’ न्युयोर्कमा लोकार्पण

कवि कृसु क्षेत्रीको ‘चराको गीत’ न्युयोर्कमा लोकार्पण


– मनोज रिजाल, न्युयोर्क

आधुनिक पुस्ताका चर्चित कवि कृसु क्षेत्रीको नवीनतम कृति ‘चराको गीत’ एक जीवन्त समारोहकाबीच संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा लोकार्पण गरिएको छ ।

क्वीन्स्को ज्याक्सन हाइट्समा अवस्थित जुइस (यहुदी) सेन्टरमा गत शनिबार आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले गरेका थिए भने समारोहलाई सम्बोधन गर्दै डा. कार्कीले कृसु क्षेत्रीको नवीनतम कृतिले नेपाली वाङमयमा थप योगदान पु¥याएको बताए ।

‘म आफैं एक कवि नभए पनि कवितालेखनको नेपाली साहित्यमा के–कति महत्व छ भन्ने तथ्य मैले बुझेको छु । यो कृतिले एक कुटनीतिज्ञको कवित्वलाई बाहिर ल्याएको छ र मैले पनि वहाँको कवित्वलाई बुझ्ने मौका पाएको छु,’ राजदुत डा. कार्कीको भनाई थियो ।

यसैगरी, कवि कृसु क्षेत्रीले आफ्ना विभिन्न नियमित कार्यहरू छँदाछँदै पनि सबै काम छाडेर यो कृतिलाई प्रकाशित गर्न आफु लागिपरेको स्मरण गरे ।

‘मैले साझा प्रकाशनलाई पुस्तक प्रकाशनसम्बन्धी प्रतिबद्धता व्यक्त गरे पनि समयमै यस पुस्तकमा काम गर्न सकिरहेको थिइनँ । तर सबै काम छोडेर यसमै तल्लिन हुनुपर्ने अवस्था आयो । यस कार्यमा मलाइ सहयोग गर्नुहुने मेरो परिवार, सहकर्मीलगायत सम्पुर्ण मित्रजनलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ क्षेत्रीले मन्तव्य व्यक्त गर्ने क्रममा भने ।

कवि क्षेत्रीले ‘चराको गीत’मा समेटिएका आफ्ना केही कवितासमेत उक्त समारोहमा वाचन गरे । ती कविताले परदेशमा नेपालीहरूको दशैं, भुईंचालोपछिको नेपाल र नेपालीको अवस्था, जीवनमा बुबा अनि आमाको महत्व लगायतका विषय समेटेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व जर्सी सिटीका मेयरका सल्लाहकार एवम् सामाजिक अभियन्ता डा. विष्णुमाया परियारले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै डा. परियारले कृसु क्षेत्रीको कविता संग्रहले नेपाली साहित्यको उत्थान गर्न सबैलाई उत्प्रेरणा दिइरहने जिकीर गरिन् ।

कार्यक्रमको संचालन युएसनेपाल अनलाइनका प्रधानसम्पादक प्रदीप परियार थापाले गरेका थिए भने कार्यक्रमको लाइभ प्रसारण युएसनेपाल अनलाइन, इ–नेपालीज लगायतका मिडियाले गरेका थिए ।

कवि क्षेत्रीको ‘चराको गीत’ साझा प्रकाशनले २०७४ मा प्रकाशित गरेको हो, जसमा विलयन लेखनका समेत गरी ४२ वटा समसामयिक कविताहरु समेटिएका छन् । कवि क्षेत्रीले १० वर्षको अन्तरालमा आफ्नो दोस्रो कृति प्रकाशनमा ल्याएका हुन् ।