सपनाले कोल्टेफेर्दा…– भरत खत्री

सपनाले कोल्टेफेर्दा…– भरत खत्री


bicharमुलुककै ठूलो दल बनेर प्रभाव फैलाउँदै आएको र एकलौटी शासनको सपना पालेको एनेकपा माओवादी पार्टी यतिबेला तेस्रो स्थानमा परेपछि पानीबिनाको माछोझैँ छटपटीमा परेको छ । एमाओवादी पार्टीलाई जनताले यसपटक हराइदिएकै हुन्, तर यो सत्य बुझेर पनि पार्टी–नेतृत्वले अरू नै बहानाबाजी गर्नुपरेको छ । वास्तवमा एमाओवादी पराजित हुनुका कारण अनेक होलान्, तीमध्ये एउटा कारणचाहिँ हामीजस्ता इमानदार, वफादार कार्यकर्तालाई उपेक्षा गर्ने अनि नगदमा नेता किनेर पार्टीभित्र हावी हुन पुगेका चैतेहरूलाई बढावा दिने प्रवृत्ति पनि हो । नेतृत्वले नमाने पनि चुनाव हार्नुको एउटा सत्यभित्र पर्दछ यो । चैतेहरू हावी भएर पार्टी हारेको र पार्टी नेतृत्वले नौटङ्की प्रदर्शन गरेर देश र जनतालाई थप निराश पार्न थालिरहेको यस बखतमा आमाबुबालाई रुवाउँदै घर छोडेर भूमिगत जीवन अपनाएकोदेखि त्यहाँभित्र भोगेका कहालीलाग्दा घटना एकपटक फेरि सम्झनाका छाल बनेर उर्लिएका छन् ।
त्यतिबेला म कक्षा ६ मा अध्ययन गर्दै थिएँ । एकदिनको कुरो हो, तत्कालीन नेकपा माओवादीको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको इकाइ कमिटी विस्तार भयो । त्यस कमिटीमा मलाई सचिवको जिम्मेवारी दिइयो । के–के न पाएँ भनेर मनै फुरुङ्ग भयो । त्यसपछि प्रत्येक स्थानीय माओवादी अभियानमा सहभागी हुन थालँे । गाउँ–गाउँमा सांस्कृतिक कार्यक्रम लिएर सहकर्मीसँग हिँड्दाको रमाइलोपनले आकर्षित गर्न थालेपछि मैले पनि ‘भूमिगत’ हुने निधो गरँे । किनकि, ‘नेताहरू भूमिगत भएर देश र जनताको निम्ति काम गर्छन्, उनीहरू प्रतिक्रियावादी शासकहरूको तारो बन्छन्, तर उनीहरू झुक्दैनन् बरु देशका लागि मर्न तयार हुन्छन्’ भन्ने सुन्दै आएको मलाई पनि ‘भूमिगत’ भएर पार्टीको काममा होमिने ठूलो रहर थियो । कुरो ०५९ साल चैतको हो, म साथीहरूसँग भूमिगत भएर काम गर्न हिँडँे, यो कुरा मेरो घरमा बुबा–आमासम्म नपुग्ने कुरै भएन । उहाँहरू निकै अत्तालिनुभएछ । गाउँबाट एक दिनजतिको दूरीमा म रहने गरेको पत्तो पाएर एक दिन मेरी आमा मलाई खोज्दै लिन आइपुग्नुभयो । मलाई देख्नेबित्तिकै उहाँ बेस्सरी रुन थाल्नुभयो । म एक हिसाबले अबोध बालक नै थिएँ, के थाहा मलाई कि ममाथि आमाले कति प्रेमको वर्षा गरिरहनुभएको थियो । उहाँले मलाई ‘घर हिँड बाबु’ भन्दै फकाउन थाल्नुभयो, तर मैले ठाडै इन्कार गरँे । म जाँदै जान्न भन्ने मेरो अडान देखेपछि उहाँले जबर्जस्ती तान्न थाल्नुभयो । हाम्रो समूहका कमान्डरले पनि ‘सानै छस्, घर जा बाबु’ नभनेका होइनन्, मैले नै नजाने जिद्दी गरँे । त्यसपछि अलिक बल प्रयोग गरेर आमाले काखीमा च्याप्नुभयो र सास्तीका साथ मलाई घर पु-याउनुभयो ।
तर, मलाई घर बस्न मनै लागेन । उराठ अनुभूति भयो । अनि दोस्रो दिन नै म पुनः घरबाट भागँे । यसपटक मैले शरद अवस्थी नामक हँसिलो अनुहारका कामरेडलाई भेटँे । उनी निकै आकर्षक र जोसिला युवा थिए । उनको बोल्ने र व्यवहार गर्ने शैलीले मलाई निकै प्रभाव पा-यो । उनैसँग आफू भूमिगत भएर काम गर्न चाहेको खुलाउँदै वातावरण मिलाइदिन आग्रह गरँे । तर, उनले ‘बाबु तिमी सानै छौ, अहिले हुन्न’ भन्ने जवाफ दिए । मैले हिम्मत हारिनँ, भूमिगत भई पार्टीको काम नगरी नछोड्ने जिद्दी गर्न थालँे । अन्ततः उनी पनि मेरो जिद्दीसँग हारे र मैले भूमिगत भई काम गर्न पाउने भएँ । आज शरद भौतिक रूपमा यस संसारमा छैनन्, उनी वास्तवमै होनहार युवा थिए, त्यस्ता व्यक्तिले असामयिक मृत्युवरण गर्नुप-यो, पार्टीका खातिर, हाम्रा यिनै नेताहरूको आदेश पालनाका खातिर । सम्झँदा अहिले पनि मन उदासिएर आउँछ ।
भूमिगतकालमा मलाई पार्टीले सञ्चार विभागमा खटाएको भन्दै सुरुमा चिट्ठीपत्र ओहोरदोहोर गर्ने काममा लगायो । त्यतिबेला जनप्रतिरोध अभियान चलेको थियो । काम चल्दै थियो, यस्तैमा फेरि पनि मलाई घर फर्काउने अभिप्रायका साथ मेरा बुबा र ममी दुवैजना मलाई खोज्दै आइपुग्नुभयो । मेरा विभागीय कमाण्डरसँग उहाँहरू त्यसबारे कुरा गर्न थाल्नुभयो । भविष्यको सुन्दर सपना बोकेको म पार्टीकै काममा रमाइरहेको थिएँ । तर, मलाई त्यहाँ बस्न दिइएन, बुबाआमाले तानेर घर लैजानुभयो । घर पुगेपछि फेरि पनि मलाई उराठ लाग्न थाल्या, पटक्कै घरमा बस्न मन लागेन । फर्कने ढिपी गर्न थालँे । मेरो त्यो ताल देखेर आमाबुबा नै रातभरि रुनुभयो । ‘तँ घरको जेठो छोरो, खुरुखुरु स्कुल नपढेर त्यस्तो अकाल मरण हुने काममा हामीलाई छोडेर नजा न बाबु !’ भन्दै उहाँहरूले गरेको विलौना साह्रै मर्मस्पर्शी थियो । तर अचम्म ! मेरो मन कति कठोरताका साथ एकोहोरिइसकेको रहेछ, पग्लँदै पग्लिएन । बिहान हुनेबित्तिकै घरबाट भाग्ने कुरा मात्र सोचिरहँे । बिहान घरको ढोकामा बाहिरबाट ताल्चा लगाएर आमाबुबा खेतमा काम गर्न जानुभयो । त्यो सबै मेरो मायाले गर्नुभएको थियो, तर मलाई भने औधी रिस उठ्यो । अब कसरी बाहिर निक्लने भनी सोच्न थालँे । उपाय केही थिएन । बेलुका आएर आमा फेरि रुन थाल्नुभयो । त्यतिबेला आमाले गरेको विलौना सम्झँदा अहिले आफ्नै आँखाबाट आँसु बग्छ । त्यसो भएर पनि म घरमा नरोकिने भएँ । भागँे । बुबाले दौडिएर समात्नुभयो । यसपटक मलाई घरमा दाम्लोले नै बाँधेर राख्न खोज्नुभयो । तर, आमाको मन मानेन, उहाँले बुबालाई त्यसो गर्नचाहिँ दिनुभएन । यसरी घरमा एकप्रकारको भिडन्त नै सुरु भयो । मैले जबर्जस्ती गर्न थालँे । भाँडाकुँडा र सरसामान फ्याँकिदिएँ, ती कुच्चिए, बिग्रिए । मोही राख्ने ठेकी हुत्याउँदा फुटेको सम्झँदा अहिले पनि पश्चात्तापको हाँसो आउँछ । यसरी म फेरि पनि भाग्न सफल भएँ र त्यसपछि आमाबुबाले पनि मलाई खोजेर फर्काउने प्रक्रिया बन्द गर्नुभयो ।
त्यसपछि मेरा उत्कर्षका दिनहरू सुरु भए । अनेक घटना देख्न र भोग्न थालियो । ०६१ साल फागुन १ गतेको घटना सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ । जहाँ मैले आफ्ना एक सहयोद्धा आँखैअगाडि गुमाएँ भने आफू पनि तत्कालीन शाही नेपाली सेनाको युनिफाइड कमाण्डको फेला परेको थिएँ । ममाथि सेनाले कम्तीमा ३० वटाजति गोली दाग्यो होला, तर संयोगले म बचँे । यस घटनाको दुई दिनअघि अर्थात् ०६१ माघ २९ को कुरा हो । दिउँसो पनि सिरसिरे बतास चलेर वातावरण असाध्यै चिसो भइरहेको थियो । बैतडीको श्रीकोट गाविसबाट म र ज्वलन्त उर्फ वसन्त बोहरा भन्ने साथी बैतडीकै श्रीकेदार गाविस पुग्यौँ । त्यहाँ एक स्थानीयको घरमा पार्टीले पाइप बम लुकाएर राखेको थियो । त्यसलाई मर्मत गरेर लैजाने जिम्मेवारी थियो । ज्वलन्तले त्यो पाइप बम उक्त घरबाट केही पर खेतमा लगे, म पनि सँगै थिएँ । त्यहाँ लगेर एक टुक्रा फलामको सहारामा पाइपभित्र बारुदलगायतका के–के हो पड्कने मसला उनले लोड गर्न थाले । तीखो फलामे वस्तुलाई तलमाथि गर्दै उनी जोडतोडले लोड गरिरहेका थिए । त्यसैक्रममा उनले मलाई पानी लिएर आउन अह्राए । म पानी लिन नजिकैको घरमा गएँ । एक लोटा पानी लिएर म ज्वलन्तले बम बनाइरहेको ठाउँतिर फर्कंदै थिएँ । थोरै दूरी बाँकी थियो, अचानक भयानक किसिमले ‘ड्याम्म’ आवाज आयो । मेरो बाल मस्तिष्क खल्बलियो, के भयो भन्ने केही पनि सुझेन । म बेहोस भई ढलँे । पछि पानी छर्किएर स्थानीयले उठाउँदै गरेको अवस्थामा म ब्युँझिएँ । म त बेहोसीबाट होसमा आएँ, तर साथी ज्वलन्तको अवस्था देखेर फेरि बेहोसी छाउँलाजस्तो भयो । उनका दुवै खुट्टा घुँडाभन्दा मुन्तिर छुट्टिएको थियो । त्यस्तो अवस्थामा पनि साथी ‘मेरो खुट्टामा के भएछ हेर्नुस् त’ भन्दै चिच्याउँदै थिए । जीवन र मरणको दोसाँधमा रहेको साथीले खुट्टाको चिन्ता गरेर चिच्याएको देख्दा मन भक्कानिएर आयो । उनको रक्ताम्ये शरीरलाई छुने हिम्मत सुरुमा त भएन । तैपनि मन कठोर बनाउँदै उनको शरीर सुम्सुम्याएँ । साथीलाई ढाडस दिने हेतुले ‘दाइ, हजुरलाई केही भएको छैन, बच्नुहुन्छ’ भनँे मैले । तर, संकटकालको त्यो बेला कहाँ ठूलो अस्पताल पु-याउन सकिन्थ्यो र ? उनको मृत्युको बाटो म कहाँ रोक्न सक्थँे र ? गाउँलेसहितको मद्दतमा बेहोसीले कराउँदै गरेको घाइते अवस्थामा साथी ज्वलन्तलाई गाडीमा हालेर श्रीकोटको सिल्लेगाडा पु-याइयो । त्यहाँ एक मेडिकल पु-याएर रगत बग्न रोक्ने एक इन्जेक्सन लगाउन भ्याउँदानभ्याउँदै डाक्टरले सङ्केत गरे– साथी त गइसके ! हेर्दाहेर्दै मानिस मरेको मैले पहिलोपटक त्यसरी अनुभूति गर्नुप-यो । अलिक नजिक पुग्न भ्याएको भए आफू पनि त अहिले संसारमा के रहिन्थ्यो र ? भन्ने अनुभूति भइरहन्छ । यसरी मृत्युनजिक पुगेर फर्केको भोगेका, देखेका र सुनेका थुप्रै कथा छन् । तर, कुन सपनामा यस्तो बाटो अँगालिएको थियो र आज के हुँदै छ । सपना देखाउने पार्टी कुन दिशातर्फ गइरहेको छ र आफू कुन दशामा बाँचिएको छ, फर्केर हेर्दा लाग्छ– जीवनमा सिर्जना गर्न सिक्नु र सक्नु नै सार्थकता रहेछ न कि ध्वंशको कल्पना गर्नु ।