कमला नदीमा दुई बालकको शव भेटियो

कमला नदीमा दुई बालकको शव भेटियो


कमला नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव सोमबार फेला परेको छ ।

गोलबजार नगरपालिका–४ का १५ वर्षीय मन्जय महरा र सोही ठाउँका १४ वर्षीय राहुल राउतको शव फेला परेको हो । सिरहा औरही गाउँपालिका तुलसीपुरका १४ वर्षीय कृष्ण महतोको शव आइतबार नै फेला फेला परेको थियो । सिरहाको गोलबजारस्थित शिव मन्दिरमा चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका तीनैजना आइतबार डुबेर बेपत्ता भएका हुन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गर्ने क्रममा महराको शव भारतीय सीमा क्षेत्रको बजार जयनगर नजिक तथा राउतको शव कर्जन्हा नगरपालिका–७ कमला नदी किनारमा फेला परेको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । चार जनाको समूहमा कमला नदीको जल भर्ने क्रममा डुबेका एक बालकको स्थानीयवासीले तत्कालै उद्धार गरेका थिए ।

यस्तै, जाजरकोटमा खोलाले बगाउँदा डोल्पामा दुई जनाको मृत्यु भएको छ ।

तिब्बतको क्याटो र मरिम्लामा लाग्ने हाट बजारबाट फर्किने क्रमम शनिबार शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा तथा छार्का ताङसोङ गाउँँपालिकाका एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिए ।

हाट बजारबाट फर्किने क्रममा दुवै जनालाई खोलाले बगाएको हो । क्याटो र मरिम्लामा वर्षमा एक पटक हाट बजार लाग्ने गर्छ । यस वर्ष गत साउन २५ गतेदेखि यहि भदौ १० गतेसम्म हाट बजार लागेको थियो ।