साउदी गठबन्धनद्वारा विमानस्थललक्षित हवाई हमला

साउदी गठबन्धनद्वारा विमानस्थललक्षित हवाई हमला


विद्रोहीको बलियो प्रभाव रहेको यमनको राजधानी सानाको विमानस्थलमा स्थानीय समयानुसार सोमबार मध्यराति साउदी गठबन्धनले एक दर्जनभन्दा बढी हवाई हमला गरेको छ ।

यमनका हुथी विद्रोही समूहले हवाई हमला मध्यराति शुरु भएको र करिब आधा घन्टासम्म जारी रहेको जनाएको छ । यद्यपि प्रायः यो विमानस्थल प्रयोगमा आउने गरेको छैन । उक्त विमानस्थलनजिकै अल दैलामी हवाई शिविर पनि रहेको छ ।

साउदीको अग्रसरताको संयुक्त सेनाले बेलाबखत यी दुवै विमानस्थलमा हवाई हमला गर्ने गरेको स्थानीय बासिन्दा र हुथी विद्रोहीआबद्ध टेलिभिजन अल मसिराहले जनाएका छन् । तर, हालसम्म यस कारबाहीबाट मानवीय क्षतिको कुनै सामाचार आएको छैन ।
हुथी विद्रोहीले दुबई विमानस्थलमा मानवरहित ड्रोन आक्रमण गरेको दाबी गरेलगत्तै केही घन्टापछि सोमबार रातिको आक्रमण भएको बताइन्छ । तर, संयुक्त अरब इमिरेट्सले हुथी विद्रोहीको दाबीलाई अस्वीकार गरेको छ ।

साउदी अरेबियाआबद्ध संयुक्त सेनाले सन् २०१५ बाट नै इरानको समर्थन रहेको हुथी विद्रोहीविरुद्ध कारबाही गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समर्थन रहेको यमन सरकारलाई पुनस्र्थापनालगायत शक्तिमा ल्याउन र हुथी विद्रोहीलाई पछाडि पार्न साउदी अरेबियाले सन् २०१५ बाट यमन सरकारलाई सहयोग गर्दै आएको छ । तर, साउदी अरेबियाआबद्ध संयुक्त सेनामाथि हुथी विद्रोहीविरुद्धको कारबाहीको क्रममा निर्दोष सर्वसाधारणको हत्या भएको आरोप लाग्दै आएको छ ।

सन् २०१५ बाट शुरु भएको यस द्वन्द्वमा परी १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । साथै संयुक्त राष्ट्रसंघले यमनमा विश्वमै अत्यन्त खराब मानवीय द्वन्द्व जारी रहेको बताएको छ ।