दुर्लभ गैँडा मृत अवस्थामा भेटियो

दुर्लभ गैँडा मृत अवस्थामा भेटियो


चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा मरेको अवस्थामा भेटिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार मंगलबार काँसघारीमा टाउको पानीमा डुबेको अवस्थामा भाले गैँडा मरेको भेटिएको हो । गैँडाको अवस्था हेर्दा दुई–तीन दिनअघि मरेको जस्तो देखिएको अर्यालले बताए ।

गैँडा जुधेर, दलदलमा फसेर, बुढो भएर, घाउको सङ्क्रमण लगायतका कारण मर्ने गर्दछन् । निकुञ्जमा चालू आवमा हालसम्म योसहित चारवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । गत आव २०७४/७५ मा २६ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । राससका अनुसार नेपालमा ६४५ वटा एकसिङ्गे गैँडा रहेका छन् जसमध्ये ६०५ वटा चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन् ।