बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बस्दै


बिम्स्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास)को १६औँ मन्त्रीस्तरीय बैठक अहिले बिहान बस्दैछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा हुने उक्त बैठकमा सदस्य देशका परराष्ट्र÷बाह्य मामिला÷विदेशमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् । त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुने बताइएको छ ।

बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भिके सिंहले गर्नेछन् ।

यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनेछ भने भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्दैछन् ।