सडकबाट डोजर खस्दा दुईको मृत्यु

सडकबाट डोजर खस्दा दुईको मृत्यु


कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

एसके देवीरमण कन्स्ट्रक्सनको बा.२क ३२०५ नम्बरको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढनिवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी साहले जानकारी दिए ।

दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकोमा अहिले सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ । मृतक बोगटी र घाइते गणेश थापा घर बनाउने डकर्मी हुन् ।

आज घर बनाउने काम नभएपछि उनीहरू डाँडीगुराँसे आउने क्रममा तीव्र गतिमा रहेको डोजर सडकबाट करिब २५ फिट तल खसेको थियो । दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।