नेपाली राजनीतिमा ‘फेस सेभिङ’ शब्दको प्रयोग

नेपाली राजनीतिमा ‘फेस सेभिङ’ शब्दको प्रयोग


bichar– राजेन्द्रप्रसाद पाठक
कसैले तपाईं भनोस् कि नभनोस् आफैँ मपाइँ भन्ने उखान चरितार्थ भएको आजभोलि सबै क्षेत्रमा सुन्न र देख्न पाइन्छ । अझ राजनीतिक क्षेत्रमा त ‘आफ्नो नाउँ आफँै बढाऊँ’ प्रकृतिको राजनीतिक पार्टी, त्यसका नेता तथा कार्यकर्तामा त यसको प्रचुर बाहुल्य जताततै पाइन्छ । हो, यस्तो बडप्पन र मपाइँत्वको विकास आज भएको होइन । यो एउटा मानव विकास क्रममा मध्ययुगीन शैली हुँदै जतिवेला सामन्तवाद र दासप्रथा हावी थियो, सोही सामन्तवादी अवधारणाबाट विकसित भएको राजनीतिक र सामाजिक मोडलको अझ विकसित रूप हो । आजका दक्षिण एसियाली मुलुकहरू, त्यसमाथि पनि हाम्रोजस्तो अति कम विकसित देशको दुर्दशाभित्र यसले मौलाउने मौका पाइरहेको छ ।
जस्तोसुकै मूल्य र मान्यतालाई दाउमा राखेर परिवर्तन भएको राजनीतिक व्यवस्था होस्, त्यसभित्र चलायमान रहने अनुहारहरूको चरित्र र व्यक्तित्व परिवर्तन हुन नसक्नुमा यस्तो ‘जिन’को विकास भइआएको छ । त्यस्तो जिनको परिवर्तन स्वयम् प्रकृतिले मात्र गर्न सक्ला । किनभने, प्राकृतिक मानवको कृत्रिम क्षमताले त्यस्तो परिवर्तन गर्न सक्ने औकात यदि राख्यो भने त यस देशमा जति पनि राजनीतिक र व्यवस्थापकीय परिवर्तन भए सो सँगसँगै यस्ता चरित्र र व्यक्तित्वहरूले समेत परिवर्तनशील राजनीतिक व्यवस्थालाई आत्मसात् गर्न सक्नुपर्ने होइन र ? यो एउटा आजको गम्भीर राजनीतिक र सामाजिक प्रश्न हो भन्ने हामी सबैलाई लाग्नुपर्छ । यदि यस्ता विषयवस्तुमाथि विवेकशील ढङ्गबाट सोच्ने र परिवर्तन हुने दिशातिर समाजका अगुवाहरू अगाडि बढ्न सकेनन् भने समयले उनीहरूमाथि निकै ठूलो अङ्कुश लगाउन सक्नेछ । समाज परिवर्तनशील छ । मिडियाको चरम विकास र यसको जनउपयोग सँगसँगै जनता र समाजमा चेतना तथा सोच्न सक्ने विषयमा ठूलै परिवर्तन आइसकेको छ भन्ने कुरा नेपालको दोस्रो संविधानसभा निर्वाचनको मतपरिणामले दिएको सन्देशबाटै पनि आँकलन गर्न सकिन्छ । यो त एउटा पहिलो र सामान्य ‘प्रतिनिधि सन्देश’ मात्रै हो । छेपाराले मौसमअनुकूल रङ्ग परिवर्तन गरेजस्तो परिवर्तन यथार्थमा पूर्ण परिवर्तन होइन, त्यो त खालि आवरणको मात्रै परिवर्तन हो । यथार्थमा छेपारो त उही हो । मौसमअनुकूल आफूलाई सापेक्षित तरिकाले आवरणमा मात्रै बदल्न खोजिएको हो भन्ने सावित भएको खण्डमा सोचेको परिणामभन्दा ठीक उल्टो परिणाम जन्मन सक्छ भन्ने कुरा सावित भई नै सकेको छ । ‘बुझ्नु’ र ‘थाहा पाउनु’ सुन्नमा फरक शब्दजस्तो लागे तापनि सारअर्थ भने एउटै हो भन्दा फरक नपर्ला । जब थाहा लाग्दछ, यथार्थमा बुझिन्छ ।
त्यस्तै मुख लुकाउनु भन्नु र ‘फेस सेभिङ’ भन्नु पनि सुन्नमा शब्द फरक परे तापनि सारअर्थ भने करिब–करिब एउटै होला । आजभोलि मिडियाहरूले प्रशस्तै प्रयोगमा ल्याएको ‘फेस सेभिङ’ भन्ने शब्दले पनि यथार्थमा आफ्नो वास्तविक अनुहारलाई बनावटी आवरणले छोपेर अझ भनौँ भने तिलकोठी र पिम्पल (डण्डीफोर)ले अस्तव्यस्त भएको अनुहारलाई कस्मेटिक प्रक्रियाबाट लिपपोत गरेर हेर्न हुने बनाएको भन्न खोजिएको हुन सक्दछ । जब–जब हाम्रा घरका मझेरी भत्कन्छन् तब–तब गोबर माटोले लिपपोत गरेर चुस्तदुरुस्त पार्ने गरेको पङ्क्तिकारलाई राम्रै याद छ ।
जे होस्, भूमिकामा जे–जे उल्लेखित भए पनि आखिर भत्केपछि मर्मत–सम्भार त गर्नैपर्ने रहेछ । अब कल्पना गर्नुहोस् त, यदि आफ्नो मझेरी भत्किएमा आफ्ना कारणले भत्किएको ठानेर मर्मत गर्ने कि छिमेकीतिर दोष पन्छाएर आफू पानीमाथिको ओभानो बन्न खोज्ने ? यस्तो दरिद्र मानसिकता राखेमा त परिवर्तन नभएर सङ्कीर्ण सोचको विकास मात्रै हुन्छ । सम्पूर्ण राज्य समाज र बदलिँदो विश्व परिस्थितिलाई मूल्याङ्कन नै नगरी विषयवस्तुको उठान गरिसकेपछि त्यसको व्यवस्थित बैठान पनि गर्न सक्नु आजको राजनीतिक र सामाजिक चुनौती हो । कुनै पनि विषयको उठान गर्नुभन्दा अगावै त्यसको राजनीतिक, सामाजिक, भौगोलिक र अन्तर्राष्ट्रिय परिवर्तनको प्रवाह आदिको गहन अध्ययन र अनुसन्धानपछि मात्रै त्यो वास्तवमा सामाजिक र राजनीतिक एजेण्डा हुन सक्दछ, नत्रभने भस्मासुरले ब्रह्माबाट पाएको वरदान सावित हुन बेर लाग्दैन । यदि त्यस्तो दुर्भाग्यवश भइहाल्यो भने अनि उत्पत्ति हुन्छ क्लिष्ट या सबैले सहजै बुझ्न नसकिने किसिमको शब्दावली, जसको प्रयोगबाट केही हदसम्म त्राण मिल्न सक्ला तर त्यो पनि दीर्घकालीन उपचार भने हुन सक्दैन । राजनीतिमा जति पनि कमजोर पक्षलाई पर्दापछाडि राख्ने प्रयत्न गरिन्छ, त्यसैगरी प्रत्यक्ष रूपमा नै आत्मालोचना गरी परिवर्तनको दिशातिर आफू र आफ्नो पार्टीलाई लैजान सक्ने हो भने यस्ता क्लिष्ट र सबैले नबुझ्ने शब्दावली न त मिडियालाई आवश्यक पर्दछ न राजनीतिक दल र समाजलाई नै । यो त खालि क्षेपारोको छालाको रङ र डन्डीफोरे अनुहारमा कस्मेटिक लिपपोत गरेजस्तो मात्रै हो ।
हुन त यस्ता जनमानसले झट्ट नबुझ्ने र बहुअर्थी शब्दजाल भाषणमा समेत अधिक प्रयोग हुन थालेको दशकौँ भइसक्यो । त्यसैले त होला हाम्रा सामाजिक अगुवा भनौँदाहरू र मिडियाले समेत खासै उल्लेख्य भूमिका निर्वाह गर्न नसकेको । यस्ता विषयवस्तुले केही समय टालटुल गर्न सकिएला तर तात्विक परिवर्तन भने ल्याउन सक्ने देखिँदैन । अझ भनौँ देशका क्रान्तिकारी पार्टी र नेता भनौँदाले गरेका भाषण त साधारण जनताले बुझ्नका लागि कि त त्यस्ता विशेषज्ञ दोभासे नै प्रयोग गर्नुपर्दछ कि त ‘वाह ! भाषण त यस्तो पो गर्नु’ भनेर बुज्रुक बनेजस्तो गर्नुबाहेक अन्य बाटो खासै देखिँदैन । त्यसैले पङ्क्तिकारको आग्रह यति मात्रै हो कि सामाजिक अगुवा, नेता, तथा परिवर्तनका संवाहक भनिने मिडियाले कुनै पनि विषयमा लेख्दा, बोल्दा होस् वा केही कुरा सुनाउँदासमेत बुझ्ने र बुझाउने हेतुले आफूलाई प्रस्तुत गर्न सके आगामी दिनमा जनता–जनार्दनले कि त भ्रममा पर्नुपर्दैन किचाहिँ राम्ररी बुझेर यस्ता वर्ग वा समुदायलाई सहर्ष स्वीकार गर्न सक्ने अवस्था सिर्जना हुन सक्दछ । साथसाथै, जब बुझ्ने र बुझिने शैलीलाई अपनाइन्छ तब उठान गरेका विषयलाई कार्यान्वयनतर्फ अघि बढाउनसमेत कठिनाइ नपर्ने अवस्थामा लैजान सकिन्छ । यस्ता शाब्दिक भ्रम र अस्पष्टताले जनमानसलाई कुहिरोमा काग आकाशमै हराएजस्तो हुनबाट मुक्त गर्न सक्दछ । यदि स्पष्ट र कार्यान्वयन हुन वा गर्न सकिने विषयवस्तुको मात्र उठान गर्न र गराउन सक्दाको खण्डमा देश र समाजको विकास दु्रतगतिमा अगाडि बढ्न सक्दछ । त्यसपछि न त ‘फेस सेभिङ’ गर्नुपर्छ न मुख लुकाउनुपर्ने नै हुन्छ । अन्यथा, कति दिन लुकाउने त्यो कलुषित, कलङ्कित अनुहार ?