बालविवाह अन्त्यका लागि बालिका बिमा कार्यक्रम

बालविवाह अन्त्यका लागि बालिका बिमा कार्यक्रम


रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बिमा कार्यक्रम शुरु हुन लागेको छ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बिमा गर्न कार्यविधि पारित गरेपछि बिमा कार्यक्रम लागू गर्न लागिएको हो ।

बिमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाका लागि गाउँपालिकाले २० हजार तथा अभिभावकले पाँच हजार शुल्क बुझाउनुपर्ने गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । सो रकम बीस वर्षपछि मात्र बैंकबाट झिक्न मिल्नेछ । यसका लागि गाउँपालिकाका सबै वडामा बालिका जन्मनेबित्तिकै बैंक खाता खोलिनेछ । ‘बालिकालाई अध्ययन गर्न यस कार्यक्रमबाट मद्दत पुग्नेछ,’ उनले भने ।

चालू आवको साउनमा जन्मिएका बालिकाको बिमा गरिनेछ । कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउने उनको भनाइ छ । बिमा गर्न बच्चा अस्पताल वा प्रसूतिगृहमा जन्मिएको हुनुपर्ने, जन्मदर्ता गराउनुपर्ने र वडाको सिफारिस अनिवार्य चाहिन्छ । उक्त गाउँपालिकामा बस्दै आएका यादव, केवट, कुर्मी र लोध, कोहार समुदायमा बालविवाहको प्रचलन छ ।