इराकमा आत्मघाती कारबम आक्रमणमा एघारको मृत्यु

इराकमा आत्मघाती कारबम आक्रमणमा एघारको मृत्यु


पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ ।

उक्त कारबम हमलामा परी ज्यान जानेमा कम्तीमा पाँचजना प्रहरी परेका बताइएको छ । प्राप्त समाचारअनुसार उक्त आक्रमण एकजना व्यक्तिले आफ्नो कारमा विस्फोटक पदार्थ राखेर गराएको हो ।

बुधबार भएको सो बम हमलाको कारण पत्ता लाग्न सकेको छैन । साथै आत्मघाती हमलाकारीको पनि सोही विस्फोटमा परी ज्यान गएकोले थप सूचना प्राप्त भएको छैन ।

उक्त नगर सिरियाको सीमा क्षेत्रबाट नजिक पर्दछ र उक्त सीमाक्षेत्र इराकी राजधानी बग्दादबाट ३४० किलोमिटर टाढा पर्दछ । सो नगर पछिल्लो समयमा आईएस लडाकुबाट इराकी सरकारले फिर्ता गरेको थियो । आईएसका सशस्त्र लडाकुले उक्त नगरलाई पहिला कब्जा गरेर केही महिना आफ्नो नियन्त्रणमा राखेका थिए ।

सोही नगरमा बुधबारै बिहान करिब ९ बजेतिर अर्काे बम विस्फोट भएको पनि समाचारमा जनाइएको छ । उक्त विस्फोटमा परी अरू १६ जना सर्वसाधारण घाइते भएका छन् ।

घाइते हुनेमा पाँचजना प्रहरी पनि परेका छन् । यो विस्फोट पनि प्रहरीको गस्ती रहेको स्थानमा लगी गराइएको थियो । यसरी आज सो नगरमा गराइएका यी विस्फोट पूर्वनियोजित रूपमा नै भएका बताइएको छ ।