मेक्सिकोमा गोली हानी टेलिभिजन पत्रकारको हत्या

मेक्सिकोमा गोली हानी टेलिभिजन पत्रकारको हत्या


मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चारमाध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठजना पत्रकारको हत्या भएको छ ।

जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रूपमा काम गर्दथे ।

टेलिभिजन स्टेसनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टि गरेको जनाएको छ ।

क्विन्टाना राज्यको सरकारले पत्रकार एनरिकसहित अर्को व्यक्तिको पनि गोली हानी हत्या गरिएको जनाएको छ । उनीहरू दुवैमाथि कानकुन नगरमा सकडमा हिँडिरहेको समयमा गोली प्रहार भएको थियो ।

कानाल १० टेलिभिजन स्टेसनले एनरिकले खासगरी दृश्य छायांकनको काम गरे पनि कतिपय राजनीतिक विषयमा अन्तर्वार्ता लिने गरेको जनाएको छ । राज्य सरकारले पत्रकारको हत्या उनको पत्रकारिताको कार्यसँग जोडिएको प्रमाण तत्काल नपाइएको बताउँदै घटनाबारे अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

दुई महिनाको अवधिभित्रै क्विन्टानामा मारिएका पत्रकारमा एनरिक तेस्रो हुन् । यसअघि जुलाईमा प्लाया न्युजका प्रधान सम्पादक रुबेन पाटको प्लाया डेल कार्मेनमा गोली हानी हत्या भएको थियो ।

यसै वर्ष जुन २९ मा क्विन्टानाको दक्षिणी मायान आदिवासी गाउँमा जोसे ग्वाडालुप चानको गोली हानी हत्या गरिएको थियो । उनी पनि प्लाया न्युज अखबारमा संवाददाताको रूपमा कार्यरत थिए ।

गत वर्ष मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । विभिन्न वाक स्वतन्त्रता पक्षधर संस्थाहरूका अनुसार सन् २००० यता मात्र मेक्सिकोमा सयभन्दा बढी पत्रकारको हत्या भएको छ । अधिकांश यी जघन्य अपराधका दोषीमाथि कारबाही नभएको यी संस्थाको भनाइ छ ।