२० वर्षे द्वन्द्वका कारण अफ्रिकामा मात्रै ५० लाख बालबालिकाको मृत्यु

२० वर्षे द्वन्द्वका कारण अफ्रिकामा मात्रै ५० लाख बालबालिकाको मृत्यु


अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ ।

अध्ययनमा यीमध्ये १२ महिना वा सोभन्दा कम उमेरका शिशु मात्र ३० लाख रहेका छन् ।

विश्वप्रसिद्ध द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानमा मृत्यु भएका बालबालिकाको एक–एक गणना नगरिएको, तर अफ्रिकामा भएका १५,४४१ वटा द्वन्द्वको विश्लेषण गरिएको उल्लेख छ । यो द्वन्द्वमा झन्डै दश लाख मानिसको मृत्यु भएको थियो । ल्यान्सेटमा यिनै मृत्यु भएका व्यक्ति, बालबालिकाको जन्म र मृत्युदर्तालाई अनुसन्धानमा समेटिएको छ ।

अनुसन्धाताहरूले सय किलोमिटरको वरिपरिको क्षेत्रभित्र हुने बालमृत्यु तथा आठ वर्षसम्मको सशस्त्र द्वन्द्वका जोखिमलाई ध्यान दिएर तथ्यांक संकलन गरेका थिए । यही आधारमा उनीहरूले अफ्रिकाका धेरै युद्धमा बालमृत्युका घटनाको तथ्यांक विश्लेषण गरेका छन् ।

प्रतिवेदन लेखकहरूका अनुसार विगतमा अनुमान गरिएभन्दा बालमृत्युको संख्या बढेको पाइएको छ । ‘अरू कुनै महादेशमा भन्दा अफ्रिकी महादेशमा विगत ३० वर्षमा बढी दर्दनाक सशस्त्र द्वन्द्वहरू भइरहेका छन्,’ उनीहरूले लेखेका छन् ।

यस विश्लेषणमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वको प्रभाव लडाकुको मृत्यु र भौतिक विनाशभन्दा बढी बालबालिकाको मृत्युको जोखिम हुन्छ र यसको प्रभाव लामो समयसम्म पर्दछ ।’

बालबालिकालाई प्रत्यक्ष घाउचोट लाग्नुका अलावा द्वन्द्वका कारण धेरै वर्षसम्म बालमृत्यु र पुड्कोपनका समस्या आइरहेको हुन्छ– प्रतिवेदनमा भनिएको छ ।

गर्भवती महिला र नवजात शिशुका लागि उपचार सेवाको अभाव, सरसफाइ सेवा र खानेपानीको प्रबन्धको व्यवस्थाको अभावमा फैलिने रोग तथा खाद्यान्न अभावका कारण कुपोषण तथा औषधिको अभावका कारण पनि आममहिलाको मृत्यु हुनुका साथै बालमृत्यु हुने गर्दछ ।