अस्ट्रेलियाली चलचित्र निर्मातालाई कम्बोडियामा ६ वर्षको जेल सजाय

अस्ट्रेलियाली चलचित्र निर्मातालाई कम्बोडियामा ६ वर्षको जेल सजाय


एकजना अस्ट्रेलियाली चलचित्र निर्मातालाई कम्बोडियाविरुद्ध जासुसी गरेको आरोपमा ६ वर्षको जेल सजाय तोकिएको छ ।

अस्ट्रेलियाली ती चलचित्र निर्माता जेम्स रिक्सटनलाई कम्बोडियाली अदालतले सुनाएको ६ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद भनी टिप्पणी गरेको छ ।

उनलाई गत वर्षको जुनदेखि पक्राउ गरी थुनामा राखिएको थियो । आज (शुक्रबार) एक अदालतले उनलाई जासुस गरेको भन्दै ६ वर्षको जेल सजाय सुनाएको हो ।

गत वर्षको जुनमा कम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल कम्बोडिया नेसनल रेस्क्यु पार्टीले गरेको सरकारविरोधी ¥यालीको तस्बिर उनले ड्रोन प्रयोग गरेर खिचेका थिए ।

यहाँको सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रूपमा नै देशका विरुद्धमा जासुसी गरेको आरोप उनलाई लगाइएको थियो ।

गत वर्षको जुनदेखि थुनामा राखिएका उनको मुद्दाको सुनुवाइ यसै हप्ता शुरु भएको थियो । ६ दिनको सुनुवाइपछि शुक्रबार यहाँको अदालतले उनलाई ६ वर्षको जेल सजाय सुनाएको हो ।

फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुईवटा मुद्दा लगाइएको थियो । ती दुवै मुद्दामा दोषी ठहर गरेर उनलाई ६ वर्षको जेल सजाय तोकिएको उक्त अदालतले जनाएको छ । उनले कम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर सो अदालतको छ । तर, सो आरोप रिक्सटनले भने अस्वीकार गरेका छन् ।

अदालतमा सुनुवाइ भइरहेकै बेला उनले चर्काे स्वरमा भने– विश्वासै गर्न नसकिने, मैले कम्बोडियाविरुद्ध कुन देशलाई जासुसी गरेँ ?

चलचित्र निर्माता रिक्सटनका अधिवक्ताले यस फैसलविरुद्ध कम्बोडियाका राजासँग माफीका लागि अपिल गर्ने जानकारी दिए । ६९ वर्षीय चलचित्र निर्माता रिक्सटनले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिएका छन् ।