बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीनजना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् ।
‘हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएको छौँ,’ क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार सञ्चारकर्मीहरुलाई यसरी जानकारी गराएका एएफपीले जनाएको छ ।
गत शनिबार पश्चिमी बुल्गेरियामा भएको बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने चार जनाको अवस्था चिन्ताजनक रहेको छ ।
प्रधानमन्त्री बोयको बोरिसोभले शुक्रबार बिहानै तीनैजना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसको केही समयपछि तीनैजना मन्त्रीले राजीनामा दिएका हुन् ।
दुर्घटनापछि सम्वन्धित मन्त्रालयका उच्च अधिकारीहरुको तर्फबाट अपेक्षित र पर्याप्त सहयोग तथा तदारुकता नदेखिइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएका बताइएको छ । दुर्घटना बारेमा अहिलेसम्म बसका चालकलाई मात्रै दोषी भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया