आत्मसम्मानको प्रश्न

आत्मसम्मानको प्रश्न


nisedhनेपाली काङ्ग्रेसकी महासमिति सदस्यसमेत रहेकी उदयपुरकी एक महिला राजनीतिकर्मीले आफू समानुपातिकमा नपरेपछि ‘नेताको ओछ्यान तताउन नसकेका कारण समानुपातिकमा परिएन’ भन्ने प्रतिक्रिया दिइछन् । यसअघि मिडियामा खासै चर्चा नपाएकी उनको यो प्रतिक्रियाले मिडियामा राम्रै स्थान प्राप्त ग-यो । अलि सभ्य मुलुकमा भए यस्तो प्रतिक्रियाका लागि अहिले उनी अदालत धाइरहेकी हुने थिइन् । किनभने उनको भनाइको अर्थ अरू जति पनि महिलाहरू समानुपातिकमा परे ती नेताहरूसँगका सम्बन्धका कारण परे भन्ने हुन्छ । सम्बन्ध पनि साधारण मित्रताको नभएर अरू नै केही जुन कुरा पटकपटक उल्लेख गर्नु भनेको राजनीतिमा रहेका सम्पूर्ण महिलाको अपमान गर्नु हो । अन्य मुलुकमा भए अन्य तमाम राजनीतिकर्मी महिलाले आफ्नो आत्मसम्मानको रक्षाका लागि सकेका जति उपायको अवलम्बन गरिसकेका हुने थिए । तर, हाम्रो देशमा जसले जे बोले पनि हुने भएकाले यस्ता कुराको खासै वास्ता पनि गरिएन । उनले जुनसुकै मनशाय, आशय र मुडमा यो कुरा गरेकी भए पनि महिलाका लागि अत्यन्तै दुर्भाग्यपूर्ण कुरा हो । महिलाको पनि आफ्नै अस्तित्व, क्षमता र स्थान हुन्छ भन्ने कुरालाई यसप्रकारका सस्ता प्रतिक्रियाले माटोमा मिलाउन मद्धत गर्दछ । यसप्रकारको प्रतिक्रियाले नेपाली काङ्ग्रेसको महासमितिजस्तो ठाउँमा पनि कस्ता सोचका मानिस रहेछन् भनेर सोच्न पनि मानिसलाई बाध्य बनाएको छ । हो, समानुपातिकमा मानिसको चयन गर्दा लाखापाखा अनेक भए होला, तर त्यसमा पुरुषहरू को कहाँबाट कसरी परे भनेर कमै चर्चा गरियो र महिलाको चर्चा शिखरमा पुग्यो । हुन त समाजमा शक्ति सम्बन्ध (पावर रिलेसन) का कारण पुरुषहरू दिने र महिलाचाहिँ लिने वर्गमा परेका कारण महिला कुनै स्थानमा पुग्दा पुरुषहरूकै निगाह ठानिन्छ । यदि महिला दिने स्थानमा भएका भए अहिले श्रीमती सभासद्का ठाउँमा श्रीमान् सभासद्को चर्चा हुने थियो होला । जुन ठाउँमा जो शीर्ष स्थानमा छ उसले आफन्त ल्याएर राख्दा यसप्रकारको प्रतिक्रियाहरू आउने गरेका छन् । जस्तो एनजीओ क्षेत्रमा कतिपय महिलाले नेतृत्व गरेका संस्थामा आफ्नै पतिलाई परियोजना संयोजकलगायतका पदमा राखेको चर्चा बेलाबेलामा आउने गर्छ । राजनीतिमा महिला कम शक्तिशाली भएका कारण तिनका पति या प्रेमीको चर्चा हुने गरेको छैन ।
यसपटकको समानुपातिकमा चर्चा पाएका नामहरूमध्ये एमालेबाट सभासद् चयन गरिएकी राज्य लक्ष्मी गोल्छा पनि हुन । मोरङकी व्यापारी गोल्छाको चयनलाई लिएर सामाजिक सञ्जाललगायत अन्य मिडियामार्फत पनि अनेक प्रकारका प्रतिक्रिया व्यक्त गरियो । पार्टीकी अर्की जुझारु नेतृ रामकुमारी झाँक्रीले समानुपातिकमा सिट नपाएको कुरालाई राज्यलक्ष्मीसँग जोडेर पनि हेरियो । राज्यलक्ष्मीको चयनलाई पैसासँग मात्र तुलना गरिएन, अपमान नै हुने गरी चर्चा–परिचर्चा पनि गरियो । उनको फोटोहरू फेसबुकमा सेयर गरियो, एकातिर रामकुमारीको टाउकोबाट रगत बगिरहेको फोटो र अर्कोतिर राज्यलक्ष्मीको फोटो राखेर पार्टीमा ती दुई नेतृको योगदानको तुलना पनि गर्न खोजियो । यद्यपि राज्यलक्ष्मी गोल्छालाई राजनीतिक वृत्तबाट नभएर व्यापारिक क्षेत्रबाट एमालेले प्रतिनिधित्व गराएको थियो । यस अर्थमा रामकुमारी र राज्यलक्ष्मीको तुलना एक–अर्कामा गर्नु नै गलत थियो । यदि राज्यलक्ष्मीका ठाउँमा राज्यराम या कुनै बहादुर वा कुमारहरू चयन भएका भए यति ठूलो चर्चाको विषय हुने थिएन । यसअघि पनि एमालेले मारवाडी समुदायबाट विनोद चौधरीलाई सभासद् बनाएको थियो । त्यतिबेला कसैले कोहीसँग तुलना गरेर उनको विरोध गरेको थिएन । माडवारी समुदायमा महिलाहरू आफ्नो व्यापार–व्यवसायमा समेत कम निस्कने गर्छन् । यस्तो संस्कारलाई तोड्दै नेपालको राजनीतिमा राज्यलक्ष्मीको उपस्थिति आफैँमा सकारात्मक कुरा हो । यसलाई माडवारी समुदायका महिलाको सशक्तीकरणका रूपमा पनि लिनुपर्दछ । तर व्यापारी, व्यवसायी भनेपछि सधैँ पुरुष देखिरहेका हाम्रा आँखाले र उद्योग–व्यवसायी भन्नेबित्तिकै पुरुष मात्रै हुन्छन् भन्ने मान्यता राख्ने हाम्रा सोचहरूले राज्यलक्ष्मीको चयनलाई सराहना गर्नु त कता हो कता उनलाई प्रवेशकै चरणमा ह्यारास गर्न खोजियो । यो पनि महिलाको आत्मसम्मानसँग जोडिएको कुरा हो । आफूलाई अग्लो देखाउन अरूलाई होच्याउने प्रवृत्ति नेपाली काङ्गे्रस उदयपुरकी ती महिला र त्यसप्रकारको एटिच्युट राख्नेहरूमा मात्र होइन राज्यलक्ष्मीलाई गाली गर्नेहरूमा पनि देखियो ।
यसपटकको समानुपातिक प्रकरणमा महिलासँग जोडिएको अर्को चर्चित प्रसङ्ग श्रीमती सभासद्हरू पनि हुन् । नेपाली काङ्ग्रेस, एमाले हुँदै अरू त अरू मधेसवादी दलका नेताहरूले समेत आफ्नो पार्टीले पाएको सभासद्को सिटमा आफ्ना श्रीमतीहरूलाई राखेपछि यो प्रसङ्गले थप चर्चा पाएको हो । पहिल्यैदेखि राजनीतिमा भएका महिला भएका भए नेताकी श्रीमती हुनु नै उनीहरूको अयोग्यता हुने थिएन न त कसैले यति चर्को विरोध नै गर्न सक्थ्यो । तर, नितान्त गृह–व्यवस्थापकको भूमिका निर्वाह गरिरहेका उनीहरूलाई एक्कासि सभासद् बनाउँदा धेरैका लागि यो विषय आश्चार्यजनक बन्न पुग्यो । हामीकहाँ देखासिखी गर्ने चलन नयाँ होइन, तर राम्रा कुराको भन्दा बढी अरू नै कुराको देखासिखी गर्ने चलन हामीकहाँ धेरै छ । संसद्मा श्रीमती पु-याउने यो ‘प्रथा’ मधेसवादी या अन्य जस–जसले गरेका भए पनि विगतमा माओवादीबाट सिकेको देखिन्छ । अवस्था, सन्दर्भ र योगदान भने माओवादीका महिलासँग तुलना गर्नै सकिँदैन । लडाइँको एउटै मोर्चामा होमिएर काम गरेका र सँगसँगै एकैप्रकारको राजनीतिक संस्कारबाट आएका हुनाले विगतको संविधानसभामा श्रीमान्–श्रीमती सभासद्हरू माओवादीबाट राम्रै सङ्ख्यामा थिए । माओवादीबाट सिक्नुपर्ने या सिक्न सकिने कुराहरू कति थिए होला तर अरू सबै कुरालाई छोडेर जनताले पार्टीका नेताहरू संविधानसभामा जाऊन् भनेर हालेको मतबाट नेताहरूले आफ्नै श्रीमतीलाई चयन गरे । यस्ता श्रीमतीहरू जो न त विगतमा राजनीतिक दलका सदस्य थिए न त कुनै दिन राजनीतिमा जाने सपना नै देखेका थिए । तर, केही महिलाको आफ्ना नेता पतिहरूका कारण जिन्दगीमा कहिल्यै नदेखेको सपना पूरा भएको छ । नत्र हाम्रो इतिहासमा त त्यसप्रकारका गृहिणी महिला संसद्सम्म पुग्नका लागि श्रीमान्कै मृत्यु हुनुपर्दथ्यो । श्रीमान् हुँदाहुँदै संसद्मा पुग्ने भाग्यमानी पत्नीका रूपमा केही महिलाको संविधानसभामा प्रवेशलाई रोचक मानिएको छ । यो मामिलामा के भन्न सकिन्छ भनें यदि सभासद् पद पैसाबिनाको स्वयम्सेवी पद हुन्थ्यो भने निश्चय नै नेताहरूले आफ्ना पत्नीहरूलाई त्यहाँ पु-याउने थिएनन् । आफ्नी पत्नीलाई राजनीतिमै ल्याउने चाहना भएको भए पार्टीका महत्वपूर्ण पदमा पहिल्यै पु-याइसकेका हुने थिए । अहिले सभासद्मा मनोनीत गरिएकामध्ये एकजना पनि पत्नी सभासद् आफूसम्बद्ध राजनीतिक दलका निर्णायक स्थानमा छैनन् । २०४७ सालमा प्रजातन्त्र आएपछि आफूले प्रधानमन्त्री पद नलिने घोषणा गर्दै श्रीमती र छोरालाई राजनीतिमा अघि बढाउन निर्वाचनमार्फत परीक्षा लिन लगाउँदा त्यतिबेला सर्वोच्च नेता गणेशमान सिंहले निकै ठूलो आलोचना खप्नुपरेको थियो । ता कि उहाँका छोरा प्रकाशमान र श्रीमती मंगलादेवी दुवै जेलजीवन भोगेका पृष्ठभूमिसहितका व्यक्तित्व थिए । राजनीतिमा कुनै योगदान नै नभएकालाई श्रीमतीकै नातामा मात्रै सभासद् बनाउनु र राजनीतिमा सङ्घर्षशील महिलालाई कसैकी पत्नी भएकै कारण सभासद् हुनबाट वञ्चित गर्नु दुवै आत्मसम्मानसँग जोडिएका कुरा हुन् । कसैकी श्रीमती हुनु न त राजनीतिमा कुनै योग्यता हो न त अयोग्यता नै । महिला हुन् या पुरुष व्यावसायिक र व्यक्तिगत जीवन फरकफरक कुरा हुन् ।