तीन महिनापछि मात्र सरकारको आलोचना गर्न इमरानको आग्रह

तीन महिनापछि मात्र सरकारको आलोचना गर्न इमरानको आग्रह


सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले भने, ‘आफूले सत्ता सम्हालेको पहिलो वर्ष पाकिस्तानले कठिनाइको सामनाबाट नै गुज्रनुपर्ने अवस्था देखिएको छ ।’

पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले सत्ता सम्हालेको केही समय नहुँदै पाकिस्तानमा सञ्चारमाध्यम विगत चार वर्षयता निकै सकसका साथ चलेको भन्ने समाचार आएपछि नवनिर्वाचित प्रधानमन्त्रीले तत्काल आलोचनाभन्दा आफ्नो सरकारलाई कम्तीमा तीन महिना काम गर्न दिन सञ्चारकर्मी तथा राजनीतिक दलसँग आग्रह गरेका हुन् ।

सय दिनको योजनामा सरकारी निकायलाई मजबुत बनाउने, पाकिस्तानको अर्थतन्त्रलाई पुनर्जीवन दिने र पाकिस्तानलाई एक समृद्ध राज्य बनाउने उल्लेख छन् ।

खानले पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख लक्ष्य भएको दोहो¥याउँदै भने, ‘देशमा न त राष्ट्रिय मेलमिलाप संगठनजस्ता संस्था रहने छन् न जिम्मेवारीबाट कोही पन्छिन पाइनेछ ।’

आफ्नो सरकारले काम शुरु गरेपछि गरेका कामबाट राज्यले कस्तो भिन्नताको महसुस पाउने हो यसलाई देखिने गरी काम हुने क्रिकेट खेलाडीबाट राजनीतिमा आएका नेता खानले विशेष जोड दिँदै बताएको पाकिस्तानी दैनिक द डनले शनिबारको अंकमा उल्लेख गरेको छ ।

मन्त्रीका पद स्थायी नहुने र कामका आधारमा परिवर्तन गरिने खानले बताए । उक्त अवसरमा प्रधानमन्त्री खानले सामाजिक सेवामा सुधार, कृषिमा परिवर्तन ल्याउने प्रतिबद्धतासमेत जनाएका थिए ।

सो अवसरमा खानले भारतसहितका छिमेकी मुलुकसँगको सम्बन्ध सुधारका लागि आफू प्रतिबद्ध रहने उल्लेख गरेका थिए । बानी गाला निवासबाट अफिस जाँदा हेलिकोप्टरको प्रयोग गरेको भन्ने प्रश्नको उत्तरमा आफूले जनताको असुविधालाई मध्यनजर राख्ने गरेको बताए ।

६५ वर्षीय प्रधानमन्त्री खानले सय दिनको योजना सार्वजनिक गरिसकेका छन् । जसमा सरकारी निकायलाई मजबुत बनाउने, पाकिस्तानको अर्थतन्त्रलाई पुनर्जीवन दिने र पाकिस्तानलाई एक समृद्ध राज्य बनाउनेजस्ता कार्यक्रम रहेका छन् ।