पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर अमेरिकाद्वारा रोक्का

पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर अमेरिकाद्वारा रोक्का


संयुक्त राज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले ‘निर्णायक भूमिका निर्वाह नगरेको’ आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ ।

अमेरिकाले पाकिस्तानभित्र रहेका लडाकुहरूका सुरक्षित आश्रयस्थलहरू ध्वस्त पार्नेतर्फ दबाब दिइआएको छ, र वर्षको शुरुमै घोषणा गरेको सहायता रोक्काको रकम वृद्धि भएर दुई अर्ब डलरसम्म पुग्ने एक अधिकारीले बताए ।

‘दक्षिण एसिया रणनीतिको कार्यान्वयनमा पाकिस्तानको निर्णायक कारबाहीको अभाव महसुस गरिएको छ । यही कारण जुन जुलाई २०१८ मा रक्षा मन्त्रालयमार्फत पाकिस्तानलाई उपलब्ध गराउने भनिएको ३० करोड डलर अब अन्यत्रै प्राथमिकताका क्षेत्रमा खर्च हुन्छ,’ लेफ्टिनेन्ट कर्नेल कोन फल्कनरले बताए ।

तथापि, कार्यक्रममा फेरबदल गर्ने रक्षा मन्त्रालयको प्रस्तावमाथि कंग्रेसको अनुमति आवश्यक पर्नेछ– उनले भने । कंग्रेसले उक्त प्रस्ताव स्वीकृत वा खारेज गर्न सक्नेछ ।

पाकिस्तानले देशभित्रैका कतिपय लडाकु समूहसँग कडा संघर्ष गर्नुपरेको छ र चरमपन्थीसँगको लामो युद्धमा हजारौँको ज्यान गइसकेको र अर्बौं डलरको क्षति भइसकेको पाकिस्तानको भनाइ छ ।

तर, अमेरिकी अधिकारीहरू अफगानिस्तानमा हुने आक्रमणमा पाकिस्तानभित्र सुरक्षित रूपमा लुकेर बस्ने विभिन्न समूहको संलग्नता रहेको आरोप लगाउँछन् । सीमावर्ती क्षेत्रमा खुलेआम घुमफिर गर्ने लडाकुलाई नियन्त्रण गर्न पाकिस्तानले बेवास्ता गरिरहेको वा कतिपय अवस्थामा सहयोग गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ ।

ह्वाइट हाउसको विश्वासमा पाकिस्तानको गुप्तचर निकाय इन्टर–सर्भिस इन्टेलिजेन्स र अरू सैनिक निकायहरूले लामो समयदेखि तालिवानलाई रकम र हतियार दिइरहेका छन् । अफगानिस्तानमा भारतको प्रभाव निस्तेज तुल्याउन पनि तालिबानलाई पाकिस्तानको सहयोग छ ।

पाकिस्तानको हस्तक्षेपले मात्र अफगानिस्तानमा जारी लामो युद्ध अन्त्य हुने अमेरिकी विश्वास छ । अमेरिकी नैराश्य केही पहिलेदेखि तीव्र रूपमा अगाडि आएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडिका राष्ट्रपति बाराक ओबामाले पाकिस्तानको एब्बोटाबादमा लुकेर बसेका ओसामा बिन लादेनलाई मार्न तथा लडाकुहरू लुकिछिपी रहेका स्थानहरूमा ड्रोन आक्रमण गर्न अनुमति दिएका थिए ।

तर ट्रम्पको भाषाबाट खासगरी पाकिस्तानी अधिकारीहरूलाई क्षुब्ध पारेको छ ।

‘संयुक्तराज्य अमेरिकाले विगत १५ वर्षदेखि पाकिस्तानलाई ३३ अर्ब डलरको सहयोग दिनु नै मूख्र्याइँ हो, तर उनीहरूले हामीलाई कपट र धोखा मात्र दिए र हाम्रा नेतालाई उनीहरू मूर्ख ठान्छन्,’ ट्रम्पले यसै वर्षको शुरुमा एउटा ट्विटमा लेखेका छन्, ‘उनीहरू (पाकिस्तान) ले आतंकवादीलाई सुरक्षित स्थल दिए हामीले अफगानिस्तानमा खोज्यौँ । अब त्यो हुँदैन ।’

पाकिस्तानी नेताहरूले ३३ अर्ब डलरको सहयोगबारे विवाद उठाएका छन् र आधाभन्दा बढी पैसा भुक्तानी गर्नुपर्ने रकम हो । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले आतंकवादसँगको लडाइँमा पाकिस्तानले ठूलो बलिदान गरेको कुरा ट्रम्पले नजरअन्दाज गरेको आरोप लगाएको छ ।