इजिप्टमा सामाजिक सञ्जालमाथि नियन्त्रण

इजिप्टमा सामाजिक सञ्जालमाथि नियन्त्रण


इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने कानुनलाई अनुमोदन गरेका छन् ।

नयाँ कानुनमा सरकारी अधिकारीहरूलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको निगरानी गर्न अधिकार दिइएको छ ।

संसदबाट गत जुलाईमा पारित भएको कानुनमा ‘सञ्चारमाध्यम नियमनका लागि सर्वोच्च परिषद्’लाई कामको जिम्मेवारी दिइएको छ ।

सामाजिक सञ्जाल, व्यक्तिगत ब्लग, वेबसाइटलगायतमा ५,००० भन्दा बढी फलोअर भएका व्यक्तिको अनुगमन गरिने कानुनमा व्यवस्था छ ।

‘गलत समाचार प्रकाशन वा प्रसारण गरेमा वा कानुनको उल्लंघन गरी हिंसा वा द्वेष फैल्याउन सूचना प्रवाह गरेमा’ व्यक्तिगत एकाउन्ट निलम्बन वा बन्द गर्ने अख्तियारी परिषद्लाई दिइएको छ ।

सञ्चारसम्बन्धी विज्ञ तथा अधिकारकर्मीहरूले भने यस कानुनले राष्ट्रपतिको शासनबारे अनलाइनमार्फत आलोचना गर्न पाउने हरेक व्यक्तिको वाकस्वतन्त्रतामा धावा बोल्ने वा व्यवधान उत्पन्न गर्ने टिप्पणी गरेका छन् ।

सीसीले जारी गरेको कानुनसँगै इन्टरनेटको प्रयोग र यसको व्यवस्थापनबारे सार्वजनिक रूपमा थप बहस हुन थालेको छ । सिलसिलाबद्ध रूपमा यस्ता नियन्त्रणमुखी कानुन आइरहेको विज्ञ तथा अधिकारकर्मीको भनाइ छ ।

यही अगस्तमा राष्ट्रपति सीसीले यस्तै अर्को कानुन पनि जारी गरेका थिए । सो कानुनमा इजिप्टको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रलाई असर गरेमा अदालतले वेबसाइट बन्द गर्न आदेश दिन सक्ने व्यवस्था थियो ।

अधिकारप्राप्त व्यक्ति तथा प्रशासकहरूले वेबसाइट तथा सामाजिक सञ्जालहरूको गलत प्रयोग गर्नेलाई कारावास सजाय तथा दण्ड–जरिवाना गर्न सक्ने जनाइएको छ ।

इजिप्टमा अहिले ५०० भन्दा बढी वेबसाइटहरू बन्द गरिएको छ भने नयाँ कानुन आएपछि अरू पनि धेरै अनलाइन, वेबसाइट तथा व्यक्तिगत ब्लगहरू बन्द हुने अशंका गरिएको छ ।