जापानमा आँधीको चेतावनी

जापानमा आँधीको चेतावनी


जापानमा आइतबार शक्तिशाली आँधी आउने चेतावनी दिइएको छ । आँधीपछि बाढीपहिरो पनि आउने अधिकारीहरूले बताएका छन् ।

जेबी नामक आँधी प्रतिघन्टा झन्डै २५२ किलोमिटरका दरले जापानको भित्री भूभागतर्फ लम्किरहेको समाचारमा जनाइएको छ ।

‘निकै शक्तिशाली आँधी आउने अनुमान गरिएको छ, आँधीले जापानको पश्चिमी र पूर्वी क्षेत्रमा प्रभाव पार्ने देखिन्छ,’ जल तथा मौसम पूर्वानुमान विभागका एक अधिकारीले बताए ।

आँधी आउने अनुमान गरिएको पश्चिमी चुगुकु क्षेत्रमा गत जुलाईमा पनि ठूलो बाढीपहिरो आएर झन्डै २२० जनाको मृत्यु भएको थियो । त्यस घटनालाई यस दशककै सबैभन्दा नराम्रो प्राकृतिक प्रकोप मानिएको छ ।

आँधी आउने क्षेत्रमा रहेकामध्ये २७ हजार नागरिकलाई अस्थायी स्थानान्तरण गर्न शनिबार नै निर्देशन दिइएको थियो । जापानमा अहिले आँधी आउने मौसम चलिरहेको छ । त्यसैले बेलाबेलामा आँधी, वर्षा र बाढीपहिरो आइरहेको छ ।