डोनेस्क ‘नायक’को सम्मानमा उर्लियो मानवसागर

डोनेस्क ‘नायक’को सम्मानमा उर्लियो मानवसागर


यूक्रेनी पृथकतावादी नेताको गत शुक्रबार भएको हत्याको विरोध गर्दै हजारौँको सङ्ख्यामा डोनेस्कमा जम्मा भएका नागरिकले उनको सम्झना तथा सम्मानमा आइतबार गरिएको शोक ऱ्यालीमा सहभागिता जनाएका छन् ।

रूसी राष्ट्रपतिका समर्थकले मृतक ४२ बर्षीय अलेक्जेन्डर जाखारचेन्कोलाई यूक्रेनी नायकको नामले सम्बोधन गर्ने गर्थे । दशौँ हजारको सङ्ख्यामा सहभागी भएका डोनेस्कबासीले शुक्रबार एउटा रेष्टुरेन्टमा बिष्फोटमा मारिएका जाखारचेन्कोको अन्तिम सम्मानका लागि शोक गरिएको ऱ्यालीमा सहभागिता जनाएका थिए ।

शुक्रबारको घटनामा जाखारचेन्कोसहित उनका सुरक्षा सहयोगीको मृत्यु भएको थियो भने करिब दश जना घाइते भएका थिए । उनि विगत चार बर्ष यता मारिएका मस्को समर्थक यूक्रेनी उच्च अधिकारी हुन् ।

कम्तीमा लाख जनाले जाखारचेन्कोको मृत शरीर राखिएको स्थानमा पुगी श्रद्धाञ्जलि अर्पण गरेका थिए । स्वघोषित डोनेस्क गणराज्यका प्रमुख जाखारचेन्कोको अन्तिम संस्कारका लागि गरिएको सभामा अलेक्जेन्डर जाल्देभस्तानोभ, रुसी सांसद नाटालिया पोकलोन्सकाया लगायतका रूसी पक्षधर उच्च नेताहरूको सहभागिता रहेको थियो ।

सहभागी ४१ बर्षीय ओक्सानाले भने, ‘उनीहरूले हाम्रो मुटुको टुक्रा चुँडेर लगेका छन् । हामीले यो दुखद घटनालाई कहिल्यै विर्सने छैनौँ । उहाँ सधैँ एकै परिवारको सदस्यजस्तो व्यवहार गर्नुहुन्थ्यो । यो म र मेरा साथीका लागि अपुरणीय क्षति भएको छ ।’

उनको हत्यारालाई क्षमा हुने छैन, अर्का सहभागी ३५ बर्षीय सेर्गेई कापुस्टिनले थपे ।

‘ऱ्यालीमा हामी सबैको एउटै मातृभूमि.. रूस’ भन्ने व्यानर बोकेका सहभागीले आँखाभरी आँसु लिएर शहरको विभिन्न भाग पुगेका थिए ।

रूसले हत्यालाई उत्तेजना फैलाउने काम भनेको छ । उसले पश्चिमा राष्ट्रहरूको पहलमा भएको शान्तिवार्ता भङ्ग गर्ने प्रयास भनेको छ ।

जाखारचेन्कोले रूसी पक्षधर विद्रोहीको विगत चार बर्ष यता नेतृत्व गर्दै आएका थिए । सन् २०१४ मा जाखारचेन्को डोनेस्कको प्रथम राष्ट्रपतिमा सर्वसम्मत रूपमा चुनिएका थिए ।

सन् २०१४ मा रूसले क्रिमियालाई गाभेपछि पूर्वी यूक्रेनको डोनेस्क र लुगान्सकमा रूसी समर्थनमा विद्रोह भएपछि करिब १० हजार नागरिकले ज्यान गुमाएका थिए ।

कीभ र पश्चिमा मुलुकहरूले उक्त विद्रोहका लागि मस्कोले उक्साएको दावी छ तर रूसले यसलाई नकार्दै आएको छ ।

(रासस/एएफपी)