दुख्छ भने सबैलाई दुख्नुपर्छ– विमलेन्द्र निधि (काङ्ग्रेस नेता)
० विश्वमा प्रचलित मान्यताविपरीत राष्ट्राध्यक्षले आह्वान गर्नुपर्ने संविधानसभाको पहिलो बैठक सरकारप्रमुखले बोलाउनुभयो, यसमा तपाईंको धारणा के छ ?
– हो, हामीले पनि विश्वको प्रचलित मान्यता पछ्याएर राष्ट्रपतीय संस्थाको मान–मर्यादा कायम गरौँ भनेका हौँ, तर एमालेलगायतका दलहरू फरक मान्यतामा अडिए । बैठक बोलाउनेजस्तो विषयमै विवाद, बहस र राजनीतिक अडचन खडा हुनु अशोभनीय हुने हुनाले हामीले बैठक नै नबोलाउनुभन्दा बरु जसले बोलाए पनि हुन्छ, संविधानसभाको प्रक्रिया अघि बढाआँै भन्ने सोच राखेर सरकारप्रमुखलाई नै बैठक बोलाउन बाटो खुला गरिदिएका हाँै ।
० यसबाट काङ्ग्रेसको अहम्मा ठेस पुग्यो भन्ने टिप्पणी गरेको पनि सुनियो नि, यस्तो हो र ?
– यो बेकारको कुरा हो । राष्ट्रपति काङ्ग्रेसको मात्र होइन, काङ्ग्रेसी पृष्ठभूमिका व्यक्ति भए पनि उहाँ यतिबेला मुलुककै साझा अभिभावक हो । विधि र मर्यादा काङ्ग्रेसलाई मात्रै चाहिने कुरा नभई सबैका लागि आवश्यक कुरा हो । त्यसैले राष्ट्रपतिको सट्टा प्रधानमन्त्रीले बैठक आह्वान गर्दा काङग्रेसको अहम्मा ठेस पुग्ने सवालै रहन्न । अहम्मा ठेस पुगेकै छ भने सिङ्गो मुलुकको परम्परा वा मर्यादामाथि ठेस पुगेको छ । यसबाट यदि दुख्छ नै भने काङ्ग्रेसजनलाई मात्रै दुख्ने नभई प्रचलनअनुरूप विधिसम्मत् हिसाबले चल्न खोज्ने जोकसैलाई पनि दुख्छ, दुख्दैन भने कसैलाई पनि दुख्दैन । मैले कता हो सुनँे– महान्यायाधिवक्ताले ‘म राष्ट्रपतिको पक्षमा वकालत गर्न सक्दिनँ, बैठक आह्वान त सरकारप्रमुखले नै गर्नुपर्छ/ भने अरे । यस्तो अवस्था आउनु वास्तवमा मुलुककै लागि नराम्रो हो ।
० नेपालको लोकतान्त्रिक आन्दोलनमाथि पहिलेदेखि नै विभिन्न कोणबाट प्रहार हुँदै आएको देखिन्छ, यतिबेलाको विवादलाई पनि त्यो कोणबाट अथ्र्याउन सकिएला ?
– यस्तो विवाद र अशोभनीय टीका–टिप्पणी सार्वजनिक हुनुलाई केही हदसम्म लोकतन्त्र सबलीकरणको मार्गमा व्यवधान नै हो भन्ने किसिमबाट अथ्र्याउन पनि सकिन्छ ।
० अब त सरकार निर्माणको बाटो पनि फुक्यो । तपाईंहरू कोसँग मिलेर सरकार बनाउँदै हुनुहुन्छ ?
– नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय सहमतिको सरकार बनाउने भन्ने छ । मुलुकको यतिबेलाको राष्ट्रिय एजेण्डा भनेको संविधान निर्माण हो र यस कार्यलाई काङ्ग्रेसले पनि पहिलो प्राथमिकता दिएको छ । तसर्थ, सरकार गठन गर्दा पनि कसरी हुन्छ छिटो संविधान बनाउन सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेर नै नेपाली काङ्ग्रेसले पाइला चाल्छ । पाँच महिनाभित्र मस्यौदा तयार गर्ने र एक वर्षमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने हाम्रो ध्येय हो । सहमति चाहिने यसैका लागि हो । यस हिसाबमा काङ्ग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न हामी लागिपरेका छौँ ।
० यतिबेला पनि दलहरूबीच विभिन्न कचिङ्गलहरू कायमै देखिन्छन्, राष्ट्रिय सहमतिको सरकार निर्माण सम्भव होला ?
– सम्भव भएन भने बहुमतको सरकार बनाएर भए पनि त अगाडि बढ्नु त प-यो नि । एमाले दोस्रो दल छ, तेस्रो दल एमाओवादी र अरूहरू पनि छन् । बहुमतीय सरकार नै बनाउनुपरेको खण्डमा जोसँग लोकतान्त्रिक संविधान निर्माणसम्बन्धी हाम्रा मुद्दाहरूमा सहमति हुन्छ उसैसँग मिलेर सरकार बनाइन्छ । तर, भरसक हाम्रो ध्येयचाहिँ राष्ट्रिय सहमतिकै सरकार निर्माण गर्नु नै छ ।
० बहुमतीय सरकार बनाउँदा पहिलो प्राथमिकतामा चाहिँ कुन दल परेको छ त काङ्ग्रेसको ?
– यसरी नाम किटेर प्राथमिकता तोक्ने चरणमा हामी प्रवेश गरिसकेका छैनौँ ।
० अब त ढिलै भइसकेन र, अब पनि यसरी पन्छिन र कुरा चपाएर बस्न सुहाउँछ र काङ्ग्रेसले ?
– पहिले सहमतिकै सरकार बनाउनेमा ध्यान केन्द्रित भएकाले त्यसकै लागि छलफलको क्रममा छौँ हामी । बहुमतीय प्रयास गर्ने त आवश्यक परेपछिको कुरा हो ।
० सहमतीय सरकार बनाउन राप्रपा नेपाल, एमाओवादीलगायतका अन्य विविध सोच र शैलीका दलहरूसँग कुरा मिल्नुपर्छ, यो सम्भव छ ?
– असम्भव छैन । सबैसँग छलफल, संवाद र सहकार्य गरे यो असम्भव कुरा होइन । सबैले सबैको बटमलाइन बुझ्नुपर्छ । न्युनतम सर्तहरू के–के छन् दलका, सहमतिको जग त्यो हो । सबैको लक्ष्य सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण नै भएकोले सहमति असम्भव छैन ।
० मुलुकले कहिलेसम्म राष्ट्रिय सहमतिको सरकार पाउला त अब ?
– माघको अन्तिम अथवा फागुनको पहिलो सातासम्म लाग्न सक्छ । किनकि, संविधानसभाको पहिलो बैठक बसेपछि सभासद्हरूको शपथग्रहण, त्यसपछि अध्यक्षको चुनाव हुनुप-यो । अनि राष्ट्रपतिजीले संविधानको धारा ३८(१) अनुसार सहमतिको सरकार बनाउन या सहमतिको आधारमा प्रधानमन्त्रीको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नुहुन्छ । पहिलेको परम्परा हेर्ने हो भने पनि त्यसका लागि उहाँले सात दिनको म्याद दिनुहुन्छ । यति प्रक्रिया पूरा हुँदासम्म माघको आधा अवधि गुज्रिसक्छ । त्यसमाथि फेरि म्याद थप्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । यस हिसाबले मोटामोटी माघको अन्त्यसम्मको अनुमान लगाएको हुँ मैले ।
० सरकारचाहिँ काङ्ग्रेसकै नेतृत्वमा बन्छ होइन त ?
– नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नेमा शङ्का गर्नुपर्दैन ।
० काङ्ग्रेसबाट को बन्ला त प्रधानमन्त्री, सुशील, देउवा कि पौडेल ?
– उहाँहरूमध्येबाट कोही बन्नुहोला । देउवाजी, पौडेलजीलाई बोलाएर सभापतिजीले यस सन्दर्भमा छलफल प्रारम्भ गर्नुभएको छ । तीनजना छलफल गर्दै हुनुहुन्छ । उहाँहरूबीच सहमति भएर एउटा नाम अगाडि आउँछ । अहिले हतारिएर हामीले प्रधानमन्त्रीको नाम तोक्न सक्ने कुरा भएर, मिल्दैन पनि ।
० सुशील कोइराला प्रधानमन्त्री बन्नुहुने अवस्थामा शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनुपर्छ भन्ने आवाज उठ्ला कि नउठ्ला नि ?
– म भन्दै छु कि हामी कसैले पनि हतारिएर यस्ता कुरा गर्नु आवश्यक छैन । नेताहरू छलफल गर्दै हुनुहुन्छ । उक्त छलफलले नै सरकार कसले कसरी, पार्टी कसले कसरी चलाउने भन्नेजस्ता सवालको पनि हल निकाल्छ भन्नेमा विश्वस्त रहौँ । हामीले सल्लाह, सुझाव वा अन्य आवश्यक कदम उठाउनुपरे त्यो पछिको कुरा हो । तीन नेताहरूले नै सबैलाई मान्य हुने परिणाम निकाल्नेछन् भन्नेमा आशावादी छु म ।
चुनावले प्रचण्डको ‘योग्यता/ देखाइसक्यो– गङ्गा श्रेष्ठ (एमाओवादी नेता)
० तपाईंका पार्टी अध्यक्षले ‘केन्द्रीय सदस्यहरूको गलत रिपोर्टिङका कारण चुनाव हारियो/ भन्न थालेका छन्, प्रचण्डलाई किन गलत रिपोर्टिङ गरेको तपाईंहरूले ?
– उहाँले कुन परिवेशमा किन त्यस्तो भन्नुभयो हामीलाई जानकारी भएन । तर, आफू मुख्य नेतृत्वमा रहेको व्यक्ति हुनुको नाताले उहाँले यसरी हामीलाई दोष दिनुको साटो हारको जिम्मेवारी आफैँले लिनुपर्ने हो । सहायक नेतृत्वहरू, आफ्ना कार्यकर्ता या कसैले पनि दिएको रिपोर्टिङलाई राम्ररी अध्ययन गर्ने, त्यसको विश्लेषण र संश्लेषण गरी आवश्यक नीति–रणनीति लिने जिम्मेवारी त अध्यक्षकै हो नि । राम्रो भए आफूले गरेको भन्ने अनि बिग्रेको–भत्केको जति अन्य नेता तथा कार्यकर्तालाई थोपर्न खोज्ने व्यक्ति शीर्ष नेतृत्वमा रहन नैतिकताले पनि मिल्दैन ।
० तपाईंहरूको गुटबन्दी र विशेषगरी बाबुराम भट्टराईको कारणले यसपटक चुनाव हार्नुपरेको सङ्केत प्रचण्डले गरेका छन्, के भन्नुहुन्छ ?
– यो कुरा हुँदै होइन, हुनै सक्दैन । आफू पानीमाथिको ओभानो बन्न खोज्नुभएको मात्रै हो उहाँ । विगत २२–२३ वर्षदेखि पार्टीको मुख्य जिम्मेवारी उहाँले लिँदै आउनुभएको छ । यो चुनाव हुँदा पनि उहाँ अध्यक्ष नै हुनुहुन्थ्यो र सबै कुरा उहाँले आफ्नै तजबिजमा गर्नुभएको हो । यस परिवेशमा हारको सम्पूर्ण जिम्मेवारी प्रचण्डजीले नै लिनुपर्छ । अर्काको टाउकोमा थोपरिदिएर उहाँले सुख पाउने कुरै छैन । उहाँले नैतिक दायित्व लिँदै अध्यक्षको जिम्मेवारी लिइरहने कि छोड्ने भनी विवेक पु-याएर निर्णय लिनु आवश्यक छ ।
० तपाईंका नेता बाबुराम भट्टराईले त संविधान नबनेसम्म कुनै जिम्मेवारी नै लिन्नँ भनेका छन्, अनि प्रचण्डलाई नेतृत्वबाट हटाउन कसरी सक्नुहुन्छ त तपाईंहरूले ?
– बाबुराम भट्टराई भनेको मेरा मात्र नभई सिङ्गो पार्टी र देशकै नेता हो । अर्को कुरा प्रचण्डलाई हटाउने या नहटाउनेभन्दा पनि उहाँले जिम्मेवारी लिएर अहिलेसम्म पार्टीमा जुन ढङ्गले आइरहनुभएको छ र पछिल्लो संविधानसभाको चुनावमा जुन खालको परिणाम आएको छ, यसले पार्टीमा सबैलाई गम्भीर बनाएको छ । उहाँको नेतृत्व–क्षमतामा प्रश्न उठेकै छ । अब उहाँले गम्भीर भएर सोच्नुपर्छ ।
० प्रचण्डले के गरिदिए तपाईंहरूको चित्त बुझ्छ या पार्टीभित्र सहमति हुन्छ त ?
– यसका लागि त उहाँले पार्टी बैठकमा कस्तो दस्तावेज लेखेर ल्याउनुहुन्छ, यसपछि नै कुरा आउँछ । हामीले पनि हाइपोथेटिकल कुरा गरेर हुँदैन । उहाँले ल्याएको दस्तावेज हेरिसकेपछि चित्त बुझे समर्थन गर्न सकिन्छ नभए सोहीअनुरूपको प्रतिक्रिया दिनेछौँ । तर, यथाचालले अब काम चल्दैन भन्ने सबैलाई लागिरहेको छ ।
० प्रचण्डजीले त पार्टी पुनर्गठनको योजना अघिसारिसकेका छन् नि ?
– पुनर्गठन त नगरी अब हुँदैहुँदैन । त्यो कुरा उहाँले भनिरहनै पर्दैन । उहाँले त्यो प्रस्ताव ल्याएको सुनेर खुसी नै लागिरहेको छ, तर के–कसरी ल्याउनुभएको छ हेर्न पाइएको छैन । एक ढङ्गले यो पार्टी त विघटन नै भइसकेको छ नि । विघटन भइसकेको पार्टीलाई पुनर्गठन गर्नुको विकल्प हामीसँग छँदा पनि छैन ।
० तपाईंको कुरा सुन्दा त प्रचण्डजी पूरै असफल भइसकेका रहेछन् होइन त ?
– सफल र असफल भन्ने म पर्गेलिरहन चाहन्न, तर उहाँको नेतृत्वक्षमतामाथि प्रश्न उठिसकेको छ, यो चुनावले उहाँको अयोग्यता राम्रै ढङ्गले उजागर गरिसकेको छ । अब के गर्नु उचित हुन्छ उहाँ आफैँले सोच्ने कुरा हो, किन हाम्रो मुखबाट बकाइरहनुप-यो र ?
० प्रचण्ड जिम्मेवारीबाट हट्नुपर्छ भन्ने तपाईंहरूको चाहना हो, हो नि ?
– हामी त्यसरी हट्नुपर्छ भन्दैनौँ, भनेका छैनौँ । उहाँले सोच्ने कुरा हो नि त्यो त । उहाँले जुन ढङ्गबाट पार्टी चलाउनुभएको छ र जसरी पार्टीले हार व्यहोर्नुपरेको छ, त्यो नेतृत्वको ठाउँबाट हेरेर उहाँ आफैँले विवेक पु-याएर निर्णय गर्नुपर्छ । हामीले भनिरहनुपर्ने कुरै होइन ।
० बाबुराम र नारायणकाजीहरूले पनि प्रचण्ड असफल भएकाले नेतृत्व परिवर्तनको कुरा त गरिरहेका हुन् नि, होइन त ?
– असफलताको जिम्मेवारी प्रचण्डजीले नै लिनुपर्छ भनेर मैले अघि नै भनिसकँे, नेताहरू र अरू साथीका कुरा पनि यस्तै हो । जितेको भए श्रेय त पूरै प्रचण्डजीलाई नै जान्थ्यो नि ।
० बाबुराम भट्टराईले चाहिँ कत्ति जिम्मेवारी लिनुपर्दैन ?
– बाबुराम भट्टराईले मात्रै होइन गङ्गा श्रेष्ठले पनि जिम्मेवारी लिनुपर्छ, नपर्ने होइन । तर, पदीय सोपानका आधारमा लिनुपर्छ । ठोस रूपमा जिम्मेवारी लिने कुरा आउँछ । यसरी हेर्दा अध्यक्ष कमरेडले सबभन्दा पहिला समग्रतामै जिम्मेवारी लिनुपर्छ, त्यसपछि तत्–तत् रूपमा सबैले लिने कुरा आउँछ ।
० एमाओवादी पार्टी फेरि फुट्ने चर्चा पनि चलेको छ नि ?
– खै किन चर्चा गरिएको छ, हामीले त पार्टी फुटाउने कुरा गरेका छैनौँ । पार्टीभित्र सामान्य वैचारिक बहसहरूको थालनी हुनेबित्तिकै पार्टी फुट्दै छ भनी विषयान्तर गरेर हल्ला गरिन्छ, मलाई ताजुव लाग्छ ।
० बाबुराम भट्टराईले पार्टी फुटाउन लागे भनेर तपाईंको पार्टीभित्रैकाले भन्न थालेका छन् त ?
– एकदमै होइन । बाबुराम भट्टराईले पार्टी फुटाउन लागे भनी कोकोहोलो मच्चाउनेहरूले नै विगतमा पार्टी फुटाएर गएका छन् । यस्तो भन्नेहरूले नै फेरि फुटाउन बेर छैन ।
प्रतिक्रिया