लमजुङमा अघोषित लोडसेडिङको मारमा उपभोक्ता

लमजुङमा अघोषित लोडसेडिङको मारमा उपभोक्ता


छिन–छिनमा लाइन काटिने समस्याले लमजुङका उपभोक्ताहरु मारमा परेका छन् । महिना दिन यता बिना सूचना हुने विद्युत कटौतीले उपभोक्ताको दैनिकी प्रभावित भएको हो ।

ट्रान्सफर्मर पड्किने र जल्ने क्रम बढेपछि वितरण प्रणालीमा समस्या आउँदा अघोषित लोडसेडिङ गर्नु परेको सामुदायिक विद्युत उपभोक्ता संघका अध्यक्ष श्रीकान्त घिमीरेले बताए । उनका अनुसार केही दिनअघि बेंशीसहरको ट्रान्सफर पड्किएपछि ट्रिपिङ समस्याले विद्युत आपूर्ति अनियमित भएको छ । विद्युत सेवा प्रभावित हुँदा दैनिक सञ्चालन हुने साना उद्योग तथा कलकारखानाको काम प्रभावित भएको उपभोक्ताको गुनासो छ ।

उद्योगको उत्पादनमा पनि कमी आएको छ । विद्युत कटौतीको सबैभन्दा बढी मार जिल्लामा सञ्चालित इँटा क्रसर, काष्ठ, दालमोठ र पाउरोटी उद्योग एवं अन्य साना तथा मझौला उद्योग मर्कामा परेका छन् । बैंक तथा वित्तीय संस्थाले दिने सेवा पनि प्रभावित भएको छ । ट्रिपिङ समस्याले नियमितरुपमा काम गर्न नसकिएको लमजुुङ उद्योग वाणिज्य सघंका उपाध्यक्ष अशोक अधिकारी बताउँछन् ।

जिल्लास्थित सामुदायिक संस्थाले वितरण प्रणालीको संरचना सुधार नगरेसम्म गुणस्तरीय विद्युत सेवा पाउन नसकिने उनको भनाई छ । लमजुङमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीबाट नभई सामुदायिक उपभोक्ता संघले विद्युत सेवा दिँदै आएको छ । सामुदायिक उपभोक्ता संघका संरचना जिर्ण बन्दै गएकाले जिल्लाको वितरण प्रणालीमा पनि समस्या प्रभावित हुँदै आएको छ ।

लमजुङमा ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, ४ मेगावाटको खुदी, ५ मेगावाटको सिउरी र ४.४ मेगावाटको राधी खोला जलविद्युत केन्द्र सञ्चालित छन् । जिल्लामा उत्पादन हुने विद्युत राष्ट्रिय प्रणालीमा जोडिए पनि स्थानीय उपभोक्तालाई सामुदायिक उपभोक्ता संघले तनहुँको लाइनबाट विद्युत सेवा दिँदै आएको छ ।