चिनियाँ राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । जापान र दक्षिण कोरियाका प्रधानमन्त्री पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता किम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किमलाई रुसको भ्लाडिभोस्टकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चमा सहभागी हुन आमन्त्रण गरेका छन् । सम्मेलन यही सेप्टेम्बर ११–१३ मा हुँदै छ ।
किमले भने सहभागिताबारे घोषणा गरेका छैनन् । तर, उनको सहभागिताले अन्तर्राष्ट्रिय जगतमा प्योङयाङको उपस्थिति बलियो हुनेछ ।
चिनियाँ अधिकारीहरूले सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले अरू नेताहरूसँग अलगअलग भेटघाट गर्ने–नगर्नेबारे स्पष्ट भइनसकेको बताए ।
चीनका विदेश सहायकमन्त्री झाङ हानहुइले अरू मुलुकबाट भेटघाटको प्रस्ताव आए त्यसलाई सकारात्मक लिइने संवाददाताहरूलाई बताए । यसै वर्ष उत्तर कोरियाली नेता किमसँग राष्ट्रपति सीले तीनपटक भेट गरिसकेका छन् ।
राष्ट्रपति सीले चिनियाँ वरिष्ठ सांसद ली झान्सुलाई यही साता उत्तर कोरियाको ७०औँ वार्षिकोत्सवमा सहभागी हुन प्योङयाङ पठाएका थिए । यो वार्षिकोत्सवमा चिनियाँ राष्ट्रपति सहभागी हुने धेरैले अनुमान लगाएका थिए ।
उत्तर कोरियाका सन्दर्भमा ‘रोलर–कोस्टर कूटनीति’ अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता जीवितै रहेको संकेत गर्नुभएको छ ।
राष्ट्रपति सी भ्लाडिभोस्टकमा मंगलबार र बुधबार रहनेछन् । रसियाले आयोजना गरेको वार्षिक आर्थिक मञ्चको बैठकमा चिनियाँ नेताको यो पहिलो सहभागिता हो ।
बैठकमा चीन र जापानबीच सन् २०१२ देखि बिग्रिएको सम्बन्धमा केही सुधार आएको छ । हालैका महिनामा दुवै पक्षबीच उच्चस्तरको भ्रमण हुने क्रम सुरु भएको छ ।
प्रतिक्रिया