फेसबुकमार्फत् बलात्कारसम्बन्धी अफवाह फैलाएको आरोपमा १२ जना पक्राउ

फेसबुकमार्फत् बलात्कारसम्बन्धी अफवाह फैलाएको आरोपमा १२ जना पक्राउ


सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एकजना पर्यटकलाई बलात्कार गरेको सम्बन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले शुक्रबार जानकारी दिएका एएफपीले जनाएको छ ।

बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन् । उनलाई विदा मनाउन आएका बेला बलात्कार भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

थाइल्याण्डको कोह टाओ प्रहरीलाई पनि घटनाका बारेमा उजुरी आएको तर औपचारिक रुपमा दर्ता भने नभएको समाचारमा उल्लेख छ ।

अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैङ्ककसहित देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो ।

उनीहरुलाई थाइल्याण्डको कम्युटर अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै सम्बद्ध प्रहरी अधिकारीले उनीहरु सबैलाई बिहीबार राती प्रतिव्यक्ति ६० हजार भाट धरौटीमा छाडिएको बताएका छन् । आरोप पुष्टि भएमा उनीहरू सवैले पाँच बर्ष जेल सजाय भोग्नु पर्ने बताइएको छ ।