नेपाली सेनाको अगाडि कोही टिकेन

नेपाली सेनाको अगाडि कोही टिकेन


sportराष्ट्रिय तेक्वान्दो
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा ऐतिहासिक सफलता दिलाउन सफल तेक्वान्दो खेलको १२औँ राष्ट्रिय प्रतियोगिता भैरहवामा सम्पन्न भएको छ । यो प्रतियोगितामा पाँच विकास क्षेत्र पूर्वाञ्चन, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल र विभागीय टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी आठ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा ग्यारोगी तथा पुम्से गरी दुईवटा विधामा प्रतिस्पर्धा भएको थियो । ग्यारोगीतर्फ पुरुषतर्फ आठ र महिलातर्फ आठ गरी जम्मा १६ वटा तौल समूहमा प्रतिस्पर्धा भएको थियो । त्यस्तै पुम्सेतर्फ एकल पुम्से, टिम पुम्से र पियर्स पुम्से गरी तीनवटा विधामा प्रतिस्पर्धा भएको थियो । ग्यारोगीतर्फ १६ स्वर्ण, १६ रजत र ३२ कास्य र पुम्सेतर्फ ११ स्वर्ण ११ रजत र ११ कास्यका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को तत्वावधानमा प्रथम लुम्बिनी च्याम्पियनसिपअन्तर्गत नेपाल तेक्वान्दो सङ्घको आयोजना भएको थियो ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न प्रतियोगितामा सेनाकी निशा रावलले पहिलो स्वर्ण जित्दै सेनाको खाता खोलेकी थिइन् । त्यसपछि प्रतियोगितामा दबदबा बनाएको सेनाले अन्य प्रतिस्पर्धी टिमहरूलाई निकैपछि छाडेको थियो । प्रतियोगितामा स्पाइरिङतर्फ नेपाली सेनाले १० स्वर्ण, दुई रजत र एक कास्य गरी १३ पदक जितेर टिम च्याम्पियन बनेको थियो । नेपाल पुलिस चार स्वर्ण एक रजत र दुई कास्य गरी सात पदकसहित दोस्रो तथा मध्यमाञ्चल एक स्वर्ण, पाँच रजत र दुई कास्य गरी आठ पदकसहित तेस्रो भएका थिए । प्रथम हुने सेनाले १५ हजारसहित च्याम्पियन ट्रफीमा कब्जा जमाएको थियो भने दोस्रो र तेस्रा हुनेलाई ट्रफी मात्र प्रदान गरिएको थियो । त्यस्तै पुम्सेतर्फ मध्यमाञ्चल टिम च्याम्पियन बन्दै उपाधिमाथि कब्जा जमाएको थियो । पुम्से विधातर्फबाट मध्यमाञ्चलले चार स्वर्ण, दुई रजत र दुई कास्य गरी आठ पदक जितेको थियो । त्यस्तै दोस्रो हुने पश्चिमाञ्चल दुई स्वर्ण, तीन रजत र तीन कास्य गरी आठ पदक र तेस्रो हुने नेपाल प्रहरीले दुई स्वर्ण, दुई रजत र दुई कास्य गरी ६ पदक जितेको थियो । पुम्सेतर्फ प्रथम हुने मध्यमाञ्चलले नगद आठ हजारसहित च्याम्पियन ट्रफी उचालेको थियो ।
शुभारम्भदेखि नै निकै सनसनीपूर्ण भएको प्रतियोगितामा पुरुष ५४ केजीको स्पाइरिङतर्फ सेनाका अरुण अधिकारीले मध्यमाञ्चलका ताराकुमार रायमाझीलाई ९—५ अङ्कले हराउँदै स्वर्ण जितेका थिए । पुरुष ८० केजीमुनि अनुभवी सेनाकै दानबहादुर ऐरीले नेपाल प्रहरीका अनोज पुजारीलाई १४–९ ले पछि पार्दै स्वर्ण पदकमाथि धाक जमाएका थिए । त्यस्तै सेनाका रामहरि महतले पुरुष ८७ केजीमुनिमा नेपाल प्रहरीका डम्बरनारायण चौधरीलाई १२–४ अङ्कले पछि पार्दै स्वर्ण कब्जा गरेका थिए । पुरुषतर्फ सेनाले वर्चश्य कायम गरिरहेको अवस्थामा महिलातर्फको ४९ केजी तौल समूहमा नेपाली सेनाकी यानकुमारी चौलागाईंले सुदूरपश्चिमाञ्चलकी गीता विष्टलाई २३–४ को फराकिलो अङ्कले पछि पार्दै स्वर्ण हात पारेकी थिइन् । महिला ६७ केजीमुनिको सनसनीपूर्ण खेलमा सेनाकै प्रतिज्ञा भण्डारीले पश्चिमाञ्चलकी रेकमाया गुरुङलाई १४–१३ को झिनो अङ्कले पछाडि पार्दै सेनाको झोलीमा अर्को स्वर्ण हालेकी थिइन् । त्यस्तै, सेनाका प्रेमबहादुर बुढाथोकीले पुरुष ८७ केजीमाथिमा मध्यमाञ्चलका अर्जुन महर्जनलाई १०–६ अङ्कले हराउँदै स्वर्ण जितेका थिए । यसैगरी नेपाल प्रहरीलाई दोस्रो स्वर्ण पदक दिलाउने क्रममा रञ्जन श्रेष्ठले पुरुष ५८ केजीमुनिमा पश्चिमाञ्चलका जोर्डनविक्रम श्रेष्ठलाई १३–७ अङ्कले पछाडि पार्दै स्वर्ण जितेका थिए । महिला ७३ केजी तौलमा सशस्त्रकी सङ्गीता बस्यालले नेपाली सेनाकी मीरा काफ्लेलाई १५–१३ को साँघुरो अङ्कले पछाडि पार्दै सशस्त्रलाई प्रतियोगिताकै पहिलो स्वर्ण दिलाएकी थिइन् । ग्योरोगीतर्फको पुरुष ६३ केजीमुनिमा नेपाली सेनाका रोहित तामाङले सशस्त्रका सुजन जोशीलाई १०–८ अङ्कले पराजित गर्दै स्वर्ण जितेका थिए । त्यस्तै पुरुष ७४ केजी तौल समूहमा सेनाका रामदत्त भट्टले मध्यमाञ्चलका सक्षम कार्कीलाई १०–५ को अङ्कमा पाखा लगाउँदै स्वर्ण जितेका थिए । त्यसैगरी महिला ५७ केजीमा नेपाली सेनाकी ज्ञानी चुनाराले नेपाल प्रहरीकी सीता तामाङलाई १४–८ अङ्कले हराउँदै स्वर्ण जितेकी थिइन् । महिला ६२ केजीमुनि चर्चित राष्ट्रिय खेलाडी नेपाल प्रहरीकी मनिता शाहीले नेपाली सेनाकी आकृति कार्कीबाट वाकओभर पाएपछि स्वर्ण हात पारेकी थिइन् ।
महिलाको टिम पुम्सेतर्फबाट नेपाल प्रहरीका राधिका श्रेष्ठ, निमा गुरुङ र सीता तामाङको टिमले स्वर्ण, सशस्त्र प्रहरीका संगीता श्रेष्ठ, सोममाया तामाङ र ज्ञानु शाहीको टिमले रजत र मध्यमाञ्चलका अस्मिता खड्का, सरस्वती तामाङ र अनु लामाको टिमले कास्य पदक प्राप्त गरेका थिए । त्यसैगरी पुरुषको टिम पुम्सेतर्फ नेपाली सेनाका रेजिन रिमाल, सञ्जीव ओझा, प्रवीण गुरुङले स्वर्ण, नेपाल प्रहरीका निमा दोर्जे शेर्पा, प्रकाश श्रेष्ठ र जगदीशसिंह पालीको टिमले रजत र सशस्त्रका सन्तोष परियार, सूर्य परियार र लालबहादुर बरामुको टिमले कास्य जितेका थिए । पुम्सेतर्फको विधामा पुरुष एकलको १६ वर्षमुनिबाट मध्यमाञ्चलका छिरिङ तामाङले स्वर्ण, पश्चिमाञ्चलका विकल्प शाहीले रजत र पूर्वाञ्चलका विवेक राईले कास्य प्राप्त गरेका थिए । त्यस्तै पुरुष एकलको १९ वर्षमुनिबाट मध्यमाञ्चलका सुजन तामाङ स्वर्ण, पूर्वाञ्चलका अर्जुन सुनुवारले रजत र नेपाल प्रहरीका प्रकाश श्रेष्ठले कास्य प्राप्त गरेका थिए । त्यसैगरी पुरुष एकल २५ वर्षमुनिबाट सशस्त्रका सूर्य परियार स्वर्ण, नेपाली सेनाका सञ्जीव ओझा रजत र पश्चिमाञ्चलका सुमन पौडेलले कास्य हात पारेका थिए । त्यस्तै, महिला पुम्सेतर्फको एकल १६ वर्षमुनिबाट मध्यमाञ्चलकी अस्मिता खड्का स्वर्ण, पूर्वाञ्चलकी सिना मादेन रजत र पश्चिमाञ्चलकी सुनिता नेपालीले कास्यमा चित्त बुझाइन् । महिला एकलको १९ वर्षमुनिबाट मध्यमाञ्चलकी अनु लामा स्वर्ण, नेपाल प्रहरीकी निमा गुरुङ रजत र पश्चिमाञ्चलकी प्रशंसा क्षेत्रीले कास्य जितेका थिए । महिला एकलतर्फको २५ वर्षमुनिमा पश्चिमाञ्चलकी लक्ष्मी राना स्वर्ण, मध्यमाञ्चलकी सरस्वती तामाङले रजत र पूर्वाञ्चलकी अमिता राईले कास्य पदक जितेका थिए ।
प्रतियोगिताको ग्योरोगीतर्फबाट पुरुष बेस्ट प्लेयरमा मध्यमाञ्चलका मोहम्मद वेश र महिलातर्फकी नेपाल प्रहरीकी निमा गुरुङले बाजी मारेका थिए । त्यस्तै पुम्से विधाको पुरुषतर्फबाट मध्यमाञ्चलका सुजन तामाङ र महिलातर्फबाट मध्यमाञ्चलकै अस्मिता खड्का बेस्ट प्लेयर बनेका थिए । उत्कृष्ट खेलाडीले जनही सात हजार रुपैयाँ प्राप्त गरे । नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाको प्रमुख आतिथ्य एवम् प्रतियोगिता समिति संयोजक एवम् नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष प्रदीप जोशी (टेकराज) को सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रथम दोस्रो र तेस्रो हुने खेलाडी तथा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडीलाई पदक तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने प्रतियोगितामा विभिन्न क्षेत्रबाट सहयोग पु-याउने महानुभावहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा १२औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आगामी सेप्टेम्बर २०१४ मा कोरियामा हुने एसियन गेमको बन्द प्रशिक्षणमा राखिने तेक्वान्दो सङ्घले जानकारी गराएको छ ।

तेक्वान्दोमा लाग्यो ग्रहण
नेपाल तेक्वान्दो सङ्घका महासचिव तथा मुख्य प्रशिक्षक दीपराज गुरुङले तेक्वान्दोमा ग्रहण लागेको बताएका छन् । १२ औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको समापनपछि आयोजना गरिएको विशेष कार्यक्रममा गुरुङले सो कुरा बताएका हुन् । खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूलाई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिँदै गुरुङले अहिले तेक्वान्दोमा ग्रहण लागेकाले सबैलाई होसियार रहन आग्रह गरेका थिए । ग्रहण सूर्य, चन्द्र र सबैलाई लाग्ने र त्यो क्षणिक हुने प्रस्ट पार्दै ग्रहण लागेको बेलामा नहतारीकन धैर्यधारण गर्दै डटेर सामना गर्न निर्देशन पनि दिएका थिए । यतिबेला तेक्वान्दोलाई ग्रहणले छोएको मात्र छ, भोलि ग्रहण लगाउने र लाग्न खोज्नेको के हविगत हुनेछ त्यो आँखाभरि देख्न पाइने बताएका थिए । तसर्थ यतिबेला तेक्वान्दोलाई दाउमा राखेर यसको ब्याज खानेहरू सलबलाएकाले सबैको ध्यान तेक्वान्दोको साख बचाउनतर्फ हुनुपर्ने जानकारी गुरुङले गराएका थिए । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा ऐतिहासिक पदक दिलाएर मुलुकको मानसम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पु-याउन सफल खेल तेक्वान्दोको समग्र विकासमा लाग्न सबैलाई अनुरोध गरेका थिए ।

एथलेटिक्समा त्रिपक्षीय भिडन्त, पूर्वअध्यक्ष नीलेन्द्रको पल्ला भारी
विभिन्न राजनीतिक दलका नेतादेखि डनहरूलाई नेपाल एथलेटिक्स सङ्घको चुनाव लागेपछि अहिले खेलकुदमा नौलो तरङ्ग उत्पन्न भएको छ । यही माघ २९ गते हुने सङ्घको निर्वाचनमा आफ्नो पकड जमाउन अहिले थुप्रै सभासद्देखि डनहरू लागिपरेका छन् । हालै सम्पन्न संविधानसभाको निर्वाचनभन्दा पनि बढी चर्चा पाएको एथलेटिक्सको निर्वाचनप्रति नेताहरूले यसरी किन गिद्धेनजर लगाएका हुन् त्यो निकै चासोको विषय बनेको छ । प्राप्त जानकारीअनुसार धुपौरेहरूको लहलहैमा लागेर काङ्ग्रेस, एमालेका नेताहरूले खेलकुदको ‘ख’ नजाने पनि निर्वाचनमा होमिने तयारी गरिसकेका छन । तसर्थ एथलेटिक्स सङ्घलाई भ-याङ बनाएर ओलम्पिक कमिटीमा पुग्ने र डलरमा रमाउने सपना बुनेका राजनीतिक कार्यकर्ता आफ्नो उद्देश्यमा कति सफल हुन्छन् त्यो हेर्न लायक बनेको छ ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय विवादले गाँजेपछि एथलेटिक्स सङ्घमा धाँजा परेको थियो । पछि समाधानको विकल्पमा राष्ट्रिय खेलकुद परिषद्को अगुवाइमा दुवै सङ्घलाई विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको थियो । जसअनुसार ३५ जिल्ला र ११ वटा तदर्थ समितिमार्फत ४६ जनाको प्रतिनिधिले निर्वाचनमा मताधिकार पाएका छन् । ४६ जना प्रतिनिधि चयन भइसकेपछि तातेको सङ्घको निर्वाचन अहिले चरम उत्कर्षमा पुगेको छ । त्यसैले एक प्रतिनिधि भन्दै थिए, ‘सङ्घको निर्वाचन संविधानसभाको निर्वाचनभन्दा पनि रापिलो बनेको छ ।’ यस्तो माहोलको सिर्जना गर्नमा खुद एथलेटिक्स सङ्घका पदाधिकारी, प्रशिक्षक र खेलाडी अग्रस्थानमा देखिएका छन् ।
एथलेटिक्स सङ्घको विघटनसँगै यही माघ २९ गते हुन गइरहेको निर्वाचनमा पूर्वएथलेटिक्स सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र पूर्वमहासचिव रवि राजकर्णिकारबीच तीव्र प्रतिस्पर्धा हुने अड्कल र अनुमान गरिएको थियो । एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने यी पदाधिकारीले आगामी दिनमा एथलेटिक्सको कुर्सीमा विराजमान हुने पक्का थियो । तर, अहिले परिदृश्य परिवर्तन भएको छ । यी दुईको हानथापमा अर्को खेलकुदको शक्ति नभई राजनीतिक शक्तिको उदय भएको छ । जसको नेतृत्व पूर्वएथलेटिक्स सङ्घका उपाध्यक्ष राजीवविक्रम शाहले गरेका छन् । उनी हालै जाजरकोटबाट नेपाली काङ्ग्रेसको तर्फबाट सभासद्मा विजय हासिल गरे पनि सुर्खेतबाट एथलेटिक्सको प्रतिनिधि चुनिएर आएका व्यक्ति हुन् । शाहको अध्यक्षमा उम्मेदवारीसँगै अब एथलेटिक्स सङ्घमा त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ । शाहलाई उम्मेदवार बनाउन र जिताउन अहिले काङ्ग्रेसका उपल्लो दर्जाका नेता, राखेपका कर्मचारी र पदाधिकारीसमेत ज्यान छोडेर लागिपरेको थाहा भएको छ । यसका लागि राखेप सदस्य मानबहादुर न्यौपाने र राखेपका विभागीय प्रमुख कमल खनालले विशेष भूमिका खेलिरहेको पनि सूत्रको दाबी छ । स्मरणीय छ, न्यौपाने श्रेष्ठको कार्यकालका सदस्य हुन् भने खनाल राजकर्णिकारका कार्यकालका सचिव हुन् । अहिले काङ्ग्रेसका नेताले शाहले अध्यक्षमा उम्मेदवारी दिने भएपछि उनीहरूले खेमा परिवर्तन गरेका हुन् ।
खेलकुद सङ्घको निर्वाचन भए पनि खासगरी एथलेटिक्स सङ्घमा काङ्ग्रेस र एमालेले विशेष रुचि देखाएका छन् । एमाले आफ्नो उम्मेवारको रूपमा रवि राजकर्णिकारलाई प्रस्तुत गरेको छ । उनलाई नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गरिरहेका छन् । त्यस्तै, कराते खेलाडी भए पनि एमाले कार्यकालमा सङ्घको सदस्य बन्न पुगेका सन्तोष श्रेष्ठले पनि रविलाई काँधमा बोकेर हिँडेका छन् । १२ वर्षसम्म एथलेटिक्स सङ्घलाई झोले सङ्घको रूपमा परिणत गरेर डुङ्डुङ्ती गन्हाएका रविले यो निर्वाचनमा पानी पनि पिउन नपाउने प्रस्ट देखिएको छ । त्यसैले उनी अहिले ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानको चाकरीमा व्यक्त रहेको बुझिएको छ । आफ्नो पक्षमा भोटर नै नभएपछि प्रधान र श्रेष्ठले वैतरणी तराइदिने आशामा रहेका रविको यो निर्वाचनमा पत्तासाफ हुने प्रस्ट देखिएको छ । प्राप्त जानकारीअनुसार निर्वाचनमा रविको कमजोर स्थिति देखिएपछि उनको परिवारमा खुसी छाएको छ । स्मरणीय छ, उनको परिवार रविलाई खेलकुदमा नभई आफ्नो व्यवसायमा लागेको देख्न चाहन्छ ।
त्यस्तै १३ वर्ष एउटा राजाले एथलेटिक्समा राज गरेको इतिहासलाई आत्मसात् गर्दै सीमित काङ्ग्रेसी हर्ताकर्ताको उत्काहटमा जाजरकोटी अर्का राजा राजीवविक्रम शाहले पनि एथलेटिक्सको अध्यक्ष बन्ने सपना देखेका छन् । आधा माओवादी भनेर चिनिने अवसरवादी मानबहादुर न्यौपानेले देखाएको दिवास्वप्नमा शाह फसेको चर्चा चलेको छ । यसमा राखेपका कर्मचारी कमल खनालले आफू काङ्गे्रस भएको नाताले बाध्यात्मक रूपमा सहयोग गरिरहेका छन् । संविधानसभा सदस्य भएर संविधान बनाउनुतिर लाग्नुको छोडेर एथलेटिक्सको अध्यक्ष बन्ने रहर शाहलाई किन लागेको हो त्यो अहिले बुझिनसक्नु भएको छ । प्राप्त जानकारीअनुसार शाहका आसेपासे र भरौटेहरूले एथलेटिक्सको भ-याङ बनाएर ओलम्पिकमा राज गर्ने सपना देखाएका कारण शाहले पनि -याल चुहाएको बुझिएको छ । आउँदो वर्ष हुने एनओसीको चुनाव नै शाहको लक्ष्य भएको सूत्रको दाबी छ । शाहले काङ्ग्रेसी गुटबन्दी गरेर अध्यक्षको कुर्सीमा विराजमान हुने सपना देखे पनि उनका पक्षमा भोटर हेर्दा त्यो दिवास्वप्नमै परिणत हुने प्रस्ट देखिएको छ ।
एथलेटिक्सको समग्र विकास र निकासका लागि पूर्वअध्यक्ष नीलेन्द्रराज श्रेष्ठले आफ्नो दुई वर्षको कार्यकाल बाँकी छँदै निर्वाचनमा जाने निर्णय गरेका थिए । एथलेटिक्सको राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्कर्षमा पुगेको अवस्था विवाद सल्ट्याउन श्रेष्ठले अहम् भूमिका निर्वाह गरेका थिए । उनकै त्यागले गर्दा अहिले एथलेटिक्स सङ्घको निर्वाचन सम्भव भएको हो भन्दा अतिशयोक्ति नहोला । छोटो समयमा उनले एथलेटिक्स खेलको विकासमा खेलेको अहम् भूमिका पनि कसैबाट छिपेको छैन । तसर्थ यो निर्वाचनमा तीन पक्षको भिडन्त हुने देखिए पनि अन्यको भन्दा नीलेन्द्रको पलडा निकै भारी देखिएको छ । अझ राष्ट्रिय खेलकुद परिषद्ले पनि नीलेन्द्र र रविलाई मिलेर जान भनेको अवस्थामा नीलेन्द्रले बाजी मार्ने देखिएको छ । पैसावालाभन्दा पनि एथलेटिक्स बुझेको र यो खेलको विकासका लागि केही गर्न सक्ने व्यक्तिको रूपमा पूर्वएथलेटिक्सका राष्ट्रिय खेलाडीसमेत रहेका श्रेष्ठ अगाडि देखिएकाले उनले नेतृत्व पाउँदा एथलेटिक्सले काँचुली फेर्ने कुरामा विश्वास गर्न सकिन्छ । यो कुरा एथलेटिक्समा लागेका खेलाडी, पदाधिकारी र प्रशिक्षकले पनि बुझ्नुपर्ने जरुरी भइसकेको छ । अन्यथा भोलि पछुताउनु मूर्खता मात्रै हुनेछ ।

दीपक र संगीनाको उत्कृष्ट प्रशिक्षण
राष्ट्रिय तेक्वान्दो टिमलाई प्रशिक्षण दिँदै आएका ओलम्पियन दीपक विष्ट र संगीना वैद्यको प्रशिक्षण १२औँ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट ठहरिएको छ । यो प्रतियोगितामा प्रायः सबै राष्ट्रिय टिमका खेलाडीले स्वर्ण पदक जित्न सफल भएका छन् । आफूले प्रशिक्षण दिएका खेलाडीले यो प्रतियोगितामा उत्कष्ट प्रदर्शन गरेपछि उत्साहित ओलम्पियनद्वयले अझ कडा प्रशिक्षण गराउने प्रतिबद्धता जाहेर गरेका छन् । त्यस्तै उनीहरूले अहिले खेलाडी टेक्निकल्ली रूपमा निकै उत्कृष्ट भएको दाबी गर्दै ‘किक’को प्रदर्शन निकै उत्कृष्ट रहेको सुनाए । यसरी नै खेलाडीहरूमा सुधार आउने हो भने तेक्वान्दो खेलाडीले आठौँ साफको ऐतिहासिक सफलतालाई पुनः दोहो-याउने दाबीसमेत गरेका थिए । स्मरण रहोस्, तेक्वान्दो खेलाडीको प्रदर्शन सन्तोषजनक नभएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले युवा प्रशिक्षकलाई अगाडि ल्याउने अवधारणाअन्तर्गत दीपक र संगीनालाई तेक्वान्दोको राष्ट्रिय टिमको जिम्मेवारी सुम्पेका थिए भने दीपराज गुरुङलाई मुख्य प्रशिक्षक बनाएका थिए ।

उद्घाटन र समापनको खडेरी
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन र समापनमा राष्ट्रिय खेलकुद परिषद्ले कन्जुस्याइँ गरेको छ । बक्सिङ खेलको राष्ट्रिय प्रतियोगितासँगै प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपको उद्घाटन भएको राखेपले शंखनाथ गरेको थियो । सो अवसरमा प्रतियोगिता आयोजना गर्न राखेपले राष्ट्रिय सङ्घहरूलाई लाखौँ रुपैयाँसमेत बाँडेको थियो । त्यसपछि विभिन्न खेलको राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्न राखेपका सदस्यसचिव युवराज लामा र संयोजक कमल खनाल जिल्लाजिल्लामा पुगेर राष्ट्रिय प्रतियोगिता र आयोजनाको अनुगमनसमेत गरेका थिए । पुस १५ देखि माघ १५ गतेसम्म राष्ट्रिय च्याम्पियनसिपको डेटलाइन तोके पनि अहिले सो समय गुज्रिसक्दासमेत राखेपले यो प्रतियोगिताको समापनबारे कुनै जानकारी गराएको छैन । निकै चर्चा कमाएको र सफल रहेको यो प्रतियोगिताको समापन किन गरिएन भन्नेबारे यस प्रतियोगिताका संयोजक कमल खनालसँग सम्पर्क गर्दा उनले समापनको कुनै कार्यक्रम नरहेको बताए । खनालले गर्दा राम्रो हुनेथ्यो भन्दै अब मन्त्रालयदेखि सबै खेलकुद सङ्घका पदाधिकारीलाई बोलाएर समीक्षा बैठकचाहिँ गर्ने बताएका छन् ।

कारबाहीका लागि धर्ना र घेराउ
नेपाली काङ्ग्रेस १ नम्बर क्षेत्रीय समिति ललितपुरले गत आइतबार दोषीलाई कारबाही गर्न धर्ना र घेराउ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष तथा नेकाका चर्चित युवा नेता मीनकृष्ण महर्जनमाथि गोली प्रहार गर्नेलाई सरकारले कारबाही गर्न ढिलो गरेपछि समितिले ललितपुर जिल्ला प्रशासन कार्यालयलाई दबाब दिन धर्ना र घेराउ गरेको हो । १०ः३० देखि ११ः३० सम्म गरिएको धर्ना र घेराउमा समितिले नारा–जुलुस गर्दै एक घन्टा कार्यालयमा प्रवेशमा रोक लगाएको थियो । समितिले यसअघि नै दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । चार दिनको अल्टिमेटल दिएर ज्ञापनपत्र बुझाए पनि सो कार्यालयबाट कुनै कारबाही अगाडि नबढेपछि समितिले बाध्यतावश यो कदम उठाएको बुझिएको छ । साथै समितिले सरकारले अब पनि दोषीउपर कुनै कारबाही नगरे योभन्दा कडा कारबाही र ललितपुर बन्द गर्ने बताएको छ ।

महिला भलिबलमा एपीएफलाई उपाधि, रमिला उत्कृष्ट
चौथो पर्वत महोत्सव तथा पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको अवसरमा पर्वत उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल काठमाडौंले उपाधि हात पारेको छ । कुश्माबजारमा भएको राष्ट्रिय महिला भलिबलको फाइनलमा सशस्त्रले न्यु डाइमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
पहिलो सेट २५–१३ ले सहजै आफ्नो पक्षमा पारेको एपीएफलाई दोस्रो सेटमा निकै सङ्घर्ष गर्नुपरेको थियो । २८–२६ ले सेट आफ्नो नाममा पारे पनि न्यु डाइमन्ड काठमाडौंले दुईपटक सेट प्वाइन्टमा पुगे पनि सेट भने आफ्नो पक्षमा पार्न असफल भएको थियो । २५–२४ को स्थितिमा अग्रता लिएको न्यु डाइमन्डलाई रोक्दै पुनः एपीएफले २५–२५ को बराबरीमा ल्याएको थियो । एपीएफकी प्रतिभा मालीको उत्कृष्ट सटले न्यु डाइमन्डले पुनः २६–२५ को अग्रता लिँदै सेट प्वाइटमा पुग्न सफल भएको हो । पछिल्लो चरणमा न्यु डाइमन्डलालाई लगातार दबाबमा लिन सफल एपीएफकी निमा श्रेष्ठले उत्कृष्ट सट प्रहार गरेपछि एपीएफ सेट प्वाइन्टमा पुग्न सफल भयो भने न्यु डाइमन्डकी सविना श्रेष्ठले सर्भिसलाई नियन्त्रणमा लिन नसकेपछि एपीएफले २८–२६ ले सेट आफ्नो पक्षमा लिन सफल भयो । तेस्रो सेटमा भने एपीएफले २५–२० ले सेट जितेको थियो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डाइमण्डकी कप्तान रमिला तण्डुकारले पराजित हुनबाट टिमलाई बचाउन नसके पनि उत्कृष्ट खेलाडीको उपाधि भने हात पार्न सफल भइन् । प्रतियोगितामा बेस्ट सेटर एपीएफकी विनिता बुढाथोकी, बेस्ट ब्लकर एपिएफकै उषा विष्ट, बेस्ट स्पाइकर एपीएफकै निमा श्रेष्ठ र बेस्ट सर्भर पश्चिमाञ्चलकी अरुणा शाही घोषित भए । प्रतियोगितामा पहिलो स्थान हासिल गरेको एपीएफले एक लाख, दोस्रो स्थान हासिल गरेको न्यु डाइमन्डले ६० हजार, तेस्रो स्थान हासिल गरेको नेपाल प्रहरीले ३० हजार तथा सान्त्वना स्थान प्राप्त गर्न सफल पश्चिमाञ्चल टिमले १० हजारसहित ट्रफी, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगिताका उत्कृष्ट खेलाडीले पाँच हजार र फरक–फरक विधाका उत्कृष्ट खेलाडीले पन्ध्र सय नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

राष्ट्रिय उसुमा एपीएफ पहिलो
सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत १०औँ राष्ट्रिय उसु प्रतियोगितामा पहिलो भएको छ । एपीएफले नौ स्वर्ण र दुई रजत जित्दै प्रथम स्थान हासिल गरेको थियो । नेपाली सेना पाँच स्वर्ण, एक रजत र तीन कास्य साथ दोस्रो भयो भने तेस्रो स्थानमा रहेको सिन्धुपाल्चोकले दुई स्वर्ण र दुई कास्य हात पा-यो । मोरङले दुई स्वर्ण हात पार्दा भक्तपुर, काठमाडौं, कैलाली, सुर्खेत र कास्कीले १–१ स्वर्णमा चित्त बुझाएका थिए । थाउलुतर्फ पुरुषमा सिन्धुपाल्चोकका आङबाबु लामा र महिलामा सेनाकी सविता राई तथा सान्सौंको पुरुषमा बाँकेका सरोज पुन र महिलामा कास्कीकी झरना गुरुङ उत्कृष्ट खेलाडी चुनिए । धरानस्थित पब्लिक हाइस्कुलमा सम्पन्न भएको प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवम् आयोजक नेपाल उसु सङ्घका प्रथम उपाध्यक्ष इन्द्रबहादुर थिङ, राखेप सदस्य एवम् उसुकी केन्द्रीय उपाध्यक्ष कुसुमकुमारी श्रेष्ठ, स्थानीय आयोजक सुनसरी जिल्ला उसु सङ्घका अध्यक्ष रमेश राई, सुनसरी खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङवाङलगायतले पुरस्कार प्रदान गरेका थिए । माघ १२ गतेदेखि सुरु प्रतियोगितामा विभिन्न ३३ जिल्ला, एपीएफ र सेनाका दुई सय ७९ खेलाडीले २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । ०५४ पछि धरानमा पहिलोपटक राष्ट्रिय उसु भएको हो । सो अवसरमा पूर्वाञ्चलमा उसु भित्याउन महत्वपूर्ण योगदान पु-याएका उसु प्रशिक्षक रामगोपाल महर्जनलाई सम्मान गरिएको थियो ।

कान्छीमाया र हरि प्रथम
नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजू नेपाल टेलिकमको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ५ किलोमिटर दौडमा प्रथम भएकी छिन् । उनले निर्धारित दूरी २० मिनेट २७ सेकेन्डमा पूरा गरिन् । दोस्रो स्थान पाएकी एपीएफकै वृन्दा श्रेष्ठ देसारले २१ मिनेट ४४ सेकेन्ड र तेस्रो स्थानमा विजेश्वरी उमाविकी संगीता खड्काले २१ मिनेट ५९ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । पुरुषतर्फको १० किलोमिटर दौडमा नेपाली सेनाका हरि रिमालले ३६ मिनेट २५ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भएका थिए । दोस्रो स्थानमा रहेका एपीएफका गोपीचन्द्र पार्कीले ३६ मिनेट २६ सेकेन्डमा दूरी पार गरेका थिए भने सेनाका कल्याण बानियाँ ३६ मिनेट २८ सेकेन्डका तेस्रो स्थान हासिल गरेका थिए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २५, १५ र १० हजार नगद प्राप्त गर्नेछन् । पुरस्कार टेलिकमको वार्षिकोत्सव माघ २२ गते प्रदान गर्ने प्रतियोगिता संयोजक बाबुराजा महर्जनले जनाएका छन् ।

सोतोकानमा रामकृष्ण अध्यक्ष
नेपाल सोतोकान कराते डो सङ्घ (एसकेडीयूएन)को प्रथम महाधिवेशनले रामकृष्ण महर्जनको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रतापसिंह लामा, उपाध्यक्षद्वयमा नारायण खड्का र रूपक तामाङ रहेका छन् । सङ्घको नवनिर्वाचित समितिको महासचिवमा धिर्जेमान तामाङ, सचिवमा श्यामकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा गोविन्द श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरूमा बद्रीबहादुर महत, देवेन्द्र लुइँटेल, भरत प्रधान, राममान सिंह, यामबहादुर थापा, टीकानारायण श्रेष्ठ, सन्तोष मल्ल, नवीन राई, उत्तम लामा तामाङ, पंकज मल्ल र नीरबहादुर घलान रहेका छन् । कार्यक्रमको नेपाली काङ्ग्रेसका महामन्त्री एवम् संविधानसभाका सभासद् प्रकाशमान
सिंहले उद्घाटन गरेका थिए । कार्यक्रममा सभासद् एवम् नेपाली काङ्ग्रेस खेलकुद विकास विभाग प्रमुख धनराज गुरुङ, सभासद् ध्यानगोविन्द रञ्जित, सभासद् एवम् करातेका वरिष्ठ प्रशिक्षक मोहनकुमार राई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानबहादुर न्यौपाने, नेपाल ओलम्पिक कमिटीका सदस्य एवम् नेपाल बक्सिङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

सीसीआरसीलाई बास्केटबल उपाधि
सीसीआरसीले स्व. नारायणप्रसाद श्रेष्ठ स्मृति प्रथम ओमेगा क्वेस्ट अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । ओमेगा र क्वेस्ट इन्टरनेसनल कलेजद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको फाइनलमा सीसीआरसीले टाइम्सलाई ६४–५६ ले पराजित गरेको थियो । विजेताका किरण पुनले १८ अङ्क जोडेका थिए । उपाधिसँगै सीसीआरसीले २० हजार नगद पुरस्कार हात पा-यो भने टाइम्सले १५ हजार । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा भीएस निकेतनले प्रिमियरमाथि ४४–३५ को जित निकालेको थियो । भीएस निकेतनले १० हजार र टाइम्सले पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा सीसीआरसीका किरण पुन मोस्ट भेलुएबल प्लेयर’ घोषित भएका थिए । प्रतियोगिताभर एक सय पाँच स्कोर गरेका भीएस निकेतनका अनुप राउत सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । गोल्डेनगेटले अनुशासित टिमको उपाधि हात पा-यो । उत्कृष्ट तीनैले समान दुई हजार पाँच सय नगद पुरस्कार पाएका थिए ।

करातेमा न्यु लिरा टिम च्याम्पियन
न्यु लिरा एकेडेमी दोस्रो ल्होसार कप खुला सितोरियो कराते प्रतियोगिता २०७० को टिम च्याम्पियन भएको छ । न्यु लिराले पाँच स्वर्ण पदक हासिल गर्दै टिम च्याम्पिनि भएको हो । दोस्रो स्थान प्राप्त गरेको बौद्ध डोजोले तीन स्वर्ण र आनन्दनगर दुई स्वर्णका साथ तेस्रो भएको थियो । यस्तै महिलातर्फ सिद्धार्थकी सोनाम लामा र पुरुषतर्फ बुद्ध एकेडेमीका अनिश लामा उत्कृष्ट फाइटर चुनिएका थिए । बैद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्राष्ट्रिय निर्णायक राम लामाको संयोजकत्वमा सञ्चालित भएको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक कृष्णकुमार लामाले ट्रफी र मेडल प्रदान गरेका थिए । सो क्रममा कराते खेलको विकास र विस्तारमा योगदान पु-याएबापत प्रेमकुमार लामालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १८ डोजो र २० स्कुलका दुई सय ४५ खेलाडीले १८ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

गोल्डेनगेट र साइपाललाई उपाधि
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत प्रथम एनएईई यू–२० राष्ट्रिय बास्केटबलको पुरुषमा गोल्डेनगेट र महिलामा साइपाल च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष फाइनलमा गोल्डेनगेटले मोफसल टोली कास्कीलाई ७४–५९ ले पराजित गरेको थियो । गोल्डेनगेटको जितमा अजय नेपालीले २५ अङ्क योगदान गरे । कास्कीका किरण पुनले सर्वाधिक २९ स्कोर गरे पनि कास्कीको पराजय टरेन । तीनवटा क्वाटरमा अग्रता लिनका बाबजुद पनि कास्कीले हारको सामना गर्नुपरेको थियो । त्यस्तै महिलाको उपाधि भिडन्तमा साइपालले ह्वाइटहाउसको चुनौती ४८–३७ ले समाप्त पारेको थियो । साइपालकी स्नेहा श्रेष्ठले १३ अङ्क जोडेकी थिइन् । पुरुषमा गोल्डेनगेटका अनिश शाही र महिलामा साइपालकी स्नेहा श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान, सभासद् पुरुषोत्तम पौडल, बास्केटबल सङ्घका अध्यक्ष लामा टेन्डी शेर्पाले पुरस्कार प्रदान गरेका थिए । माघ १३ गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा १६ तथा महिलामा आठ टिमको सहभागिता रहेको थियो ।