प्रशिक्षकको एकमुष्ट भोट निर्णायक हुने
राष्ट्रिय र अन्तर्राट्रिय विवादले गाँजेको नेपाल एथलेटिक्स सङ्घको निर्वाचन आज बुधबार काठमाडौंमा हुँदै छ । ५० जना जिल्ला र तदर्थ समितिको प्रतिनिधित्व रहेको उक्त निर्वाचनमा अध्यक्ष र १० जना सदस्यको निर्वाचन हुँदै छ । एथलेटिक्स सङ्घको निर्वाचनमा पूर्वअध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, पूर्वमहासचिव रवि राजकर्णिकार, पूर्वउपाध्यक्ष तथा सभासद् राजीवविक्रम शाहबीच त्रिपक्षीय भिडन्त हुँदै छ ।
त्रिपक्षीय भिडन्तमा तीनैजना उम्मेदवारले आफ्नो विजयको दाबी गरेका छन् । प्रतिनिधिसँगको भेटघाटपछि आफ्नो विजयमा आश्वस्त देखिएका तीनैजनाले निर्वाचनमा कडा प्रतिस्पर्धा हुने बताएका छन् । तथापि यो निर्वाचनमा प्रशिक्षकहरूको मत निर्णायक हुने दाबी गरिएको छ । भेटघाटपछि प्रशिक्षकहरूले जसलाई भोट दिए पनि सामूहिक रूपमा दिने भनेपछि उनीहरूको भोट निर्णायक बन्न पुगेको हो । यो निर्वाचनमा प्रशिक्षकहरूको १० देखि १२ भोट रहेको छ ।
सभासद् शाह एथलेटिक्सको अध्यक्षमा उठेपछि तातेको एथलेटिक्स सङ्घको निर्वाचन अहिले चरम उत्कर्षमा पुगेको छ । शाह नेपाली काङ्ग्रेसको आधिकारिक उम्मेदवारको रूपमा यो निर्वाचनमा होमिएका छन् । शाह नेकाको आधिकारिक उम्मेदवार भएको नेका खेलकुुद विभाग प्रमुख तथा सभासद् धनराज गुरुङले बताएका छन् । गुरुङले यसको जानकारी पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई गराइसकेको प्रस्ट पारेका छन् । विभागले यो निर्णय गरे पनि सार्वजनिक रूपमा भने कसैलाई जानकारी गराइएको छैन ।
शाह नेकाको आधिकारिक उम्मेदवार भए पनि उनका प्रतिस्पर्धी भने स्वतन्त्ररूपमा उठेका छन् ।
तीनजना उम्मेदवारको तीव्र प्रतिस्पर्धा हुने देखेपछि अहिले प्रतिनिधिहरू खुला रूपमा बार्गेनिङमा उत्रिएका छन् । उम्मेदवारलाई आफू बसेको होटेलमा बोलाउँदै आर्थिक लेनदेनको कुरा मिलाइरहेका छन् । उसले यति आर्थिक सहयोग गर्दै छ तपाईं कति गर्ने ? भन्दै हाकाहाकी भन्न थालेका छन् । नीलेन्द्र र रवि प्रतिनिधि भेट्न होटेलैै पुग्ने गरे पनि राजीवले भने आफ्ना विश्वास प्राप्तहरूमार्फत प्रतिनिधिसँग कुराकानी गरिरहेको थाहा भएको छ । यसका लागि राखेपका सदस्य मानबहादुर न्यौपाने, खेलकुदका अध्यक्ष र एथलेटिक्सका प्रशिक्षकहरू लागिपरेको बुझिएको छ । प्राप्त जानकारीअनुसार न्यौपानेले दरबारमार्गको एउटा रेस्टुरेन्टमा बसेर सबैसँग भेटघाट गरिरहेको जानकारीमा आएको छ । यसरी एथलेटिक्स खेलको समग्र विकासका लागि नायक चुन्न छानिएका प्रतिनिधिहरू नै आर्थिक लोभ र प्रलोभनमा लिप्त हुँदा एथलेटिक्स सङ्घले भविष्यमा कस्तो नेतृत्व पाउला सोझै अड्कल काट्न सकिन्छ । सङ्घको चुनाव पैसाको घिनौनो खेलबाट प्रभावित हुने पक्का भएका भएका छ ।
खेलकुदमा आमूल परिवर्तन हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै अध्यक्षमा उम्मेदवारी दिएका शाहले मिलेर जानका लागि अध्यक्षका प्रत्याशी दुवैजनासँग मन्त्रणा गरेका थिए । शाहले श्रेष्ठलाई उपाध्यक्ष र राजकर्णिकारलाई महासचिवमा बसेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, दुवैले यो प्रस्तावलाई अस्वीकार गर्दै निर्वाचनमा जाने फैसला गरेका थिए । परिणामस्वरूप आज सङ्घको निर्वाचन हुँदै छ । लोकतान्त्रिक पद्धतिबाट भएको निर्वाचनको परिणाम जस्तोसुकै आए पनि आफूले स्वीकार गर्ने भेटघाटमा उनीहरूले बताएका थिए । उता सभासद्को गरिमामय पदमा आसीन व्यक्ति अध्यक्षको उम्मेदवार भएपछि अहिले काङ्ग्रेसका लागि पनि प्रतिष्ठाको विषय बनेको छ । तसर्थ अहिले शाहलाई जिताउन उनका सहयोगी र विश्वासप्राप्तहरू साम, दाम, दण्ड, भेद चारै नीतिको अवलम्बन गर्दै ज्यान छोडेर लागेका छन् । जसको सकारात्मक प्रभाव प्रतिनिधिहरूमा पर्दै गएको र निर्वाचनको परिणाम शाहको समीप पुगेको अड्कल र अनुमान गरिन थालेको छ ।
त्यस्तै अध्यक्षका अर्का प्रत्याशी रवि राजकर्णिकारले एथलेटिक्स सङ्घमा हाम्रो–तिम्रोभन्दा पनि राम्रो उम्मेदवारको छनोट हुनुपर्ने बताएका छन् । एथलेटिक्स खेलको विकासका लागि सबै मिलेर जानुपर्नेमा यहाँ आपसमा मिल्न नदिने न्यौपानेजस्ता भाँडहरूले विशेष भूमिका खेलेको आरोप लगाए । तसर्थ अहिले तिनै दहीचिउरेले गर्दा प्रतिनिधिहरू पैसाको मुख ताक्न थालेका छन् । त्यस्तै उनले अहिले कर्मचारी सङ्घ जसरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लागेको छ त्यसरी लाग्नु हुँदैनथ्यो भन्दै यसले सङ्घको साख गिराउने ठोकुवा गरेका थिए । अहिले एथलेटिक्स सङ्घमा तीनैजनाको आवश्यकता छ, मैले जितेँ भने सबैलाई मिलाएर लाने कोसिस गर्नेछु । मलाई विश्वास छ– मैलै एथलेटिक्सका लागि पसिना बगाएको छु, त्यसको मूल्याङ्कन यो निर्वाचनमा हुने मेरो विश्वास छ ।
त्यस्तै अर्का प्रत्याशी श्रेष्ठले अहिलेसम्म सबैको स्थिति एउटै भएको प्रस्ट पार्दै एथलेटिक्सको निर्वाचनमा पैसा र राजनीति हावी भएको बताएका छन् । उनले यसको प्रत्यक्ष प्रभाव प्रतिनिधिहरूमा परेकाले उनीहरू लोभी बन्दै अन्योलमा परेको बताए । प्रतिनिधिहरूले खुलारूपमा पैसाको बार्गेनिङ गर्नु लाजमर्दो भएको छ । जसले गर्दा यो निर्वाचन एथलेटिक्स नभई पैसाको चुनावको रूपमा परिणत भएको आरोप लगाएका छन् । पैसाको चलखेल व्यापक भइरहेको छ, एउटा प्रतिनिधिलाई ५० हजारदेखि एक लाखसम्म बाँडेको चर्चा चलेको छ । पैसाले यो निर्वाचनलाई प्रभाव पार्ने भए पनि ‘कोही बिक्लान्, सबै बिक्दैनन् भन्ने कुरामा मेरो विश्वास छ,’ श्रेष्ठले भने । यस्तो कार्यले खेलकुदमा गलत सन्देश जाने भन्दै श्रेष्ठले भने, ‘पैसा भएपछि जोकोही पनि सङ्घको अध्यक्ष बन्न सक्ने रै’छ ।’ तसर्थ यो खेलकुदमा त्याग तपस्या र लगानी गर्नेहरूका लागि पीडादायी बन्ने प्रायः निश्चित छ । यस्तो बेलामा प्रतिनिधिहरूले विवेक प्रयोग गरेर मूल्याङ्कन गर्नुपर्छ । एथलेटिक्सलाई हाँक्न सक्ने, माया गर्ने र प्रत्यक्ष सरोकार राख्ने व्यक्तिलाई जिताउनुपर्छ । त्यसैले म भन्छु, ‘सर्वप्रथम म हार्दै हार्दिनँ, यदि म हारेँ भने राजनीति र पैसाले जित्नेछ, एथलेटिक्स हार्नेछ ।’
प्रतिक्रिया