श्रीमतीको दाहसंस्कारका लागि सरिफ केही दिनका लागि जेलमुक्त

श्रीमतीको दाहसंस्कारका लागि सरिफ केही दिनका लागि जेलमुक्त


भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । सरिफकी पत्नी कुलसुम नवाजको मंगलबार लन्डनमा अर्बुद रोगका कारण निधन भएको थियो ।

कुलसुमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज सरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ । पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि सरिफ पाकिस्तान फर्किएका थिए ।

सरिफ र उनकी छोरी मरयामलाई प्लेनमा राखेर लाहोर पु¥याइएको छ । कुलसुमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ ।

उनीहरू दुवैलाई १२ घन्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरूको जमानतको अवधि बढाउन सक्ने रावलपिण्डी केन्द्रीय कारागारका एक अधिकारीले बताए । स्थानीय सञ्चारमाध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् ।

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसुमले नवाज सरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिएन् । उनलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौँदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो ।

नवाज सरिफविरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसुमको निधनप्रति दुःख प्रकट गरेका छन् ।