पत्नीको दाहसंस्कार गर्न नवाज शरिफ केही दिन जेलमुक्त

पत्नीको दाहसंस्कार गर्न नवाज शरिफ केही दिन जेलमुक्त


भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी बिमार श्रीमतीको लण्डनमा निधन भएपछि दिवंगत पत्नीको दाहसंस्कार गर्न उनलाई अन्तरिम जमानतमा रिहा गरिएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा अर्बुध रोगका कारण निधन भएको थियो ।

कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी छोरीलाई पक्राउ गरी भ्रष्टाचारको आरोपमा थुनामा राखिएको छ ।

पाकिस्तानको संसदीय चुनावमा पाकिस्तान मुस्लिम लीग–नवाज पीएमएल) पार्टीका लागि चुनावी प्रचारका लागि पाकिस्तान फर्किएको बेला सरिफलाई पक्राउ गरिएको थियो ।

जेलबाट निकालेर शरिफ र उनकी छोरी मरयामलाई हवाई जहाजमा राखेर लाहोर पुर्याइएको छ । कुलसूमको दाहसंस्कार लाहोरमा गर्ने कार्यक्रम रहेको पीएमएलले जनाएको छ ।

दुबैलाई १२ घण्टाका लागि छाडिएको भए पनि गृह मन्त्रालयले उनीहरुको जमानतको अवधि बढाउन सक्ने रावलपिन्डी केन्द्रीय कारागारका एक अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले दाहसंस्कार शुक्रबार मात्र गरिने बताएका छन् ।

राजनीतिमा पनि सक्रिय ६८ वर्षीया कुलसूमले नवाज शरिफको राजनीतिलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनलाई क्यान्सर भएको गत वर्ष अगस्टमा पत्ता लागेको थियो । महिनौंदेखि लन्डनस्थित एक निजी अस्पतालमा उनको उपचार भइरहेको थियो ।

नवाज शरिफ विरुद्ध तीव्र प्रचार गरेर चर्चामा आएका प्रधानमन्त्री इमरान खानले कुलसूमको निधनप्रति दुःख प्रकट गरेका छन् ।