युद्धग्रस्त सुडानमा पहिरो जाँदा बीसको मृत्यु

युद्धग्रस्त सुडानमा पहिरो जाँदा बीसको मृत्यु


सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएको छ ।

गत सेप्टेम्बर ७ मा डार्फरको जेबेल मार्रा क्षेत्रको पहाडी इलाकामा ठुल्ठूला ढुंगासहितको पहिरो झरेका कारण घरहरू पुरिएका र अरू कैयौँ व्यक्ति पुरिएको आशंका गरिएको छ ।

डार्फरको जेबेल मर्रा क्षेत्र विद्रोही समूह ‘सुडान लिबरेसन आर्मी–अब्दुल वाहिद (एसएलए–एडब्लू)’ को नियन्त्रणमा रहेको छ । सोही कारण त्यहाँबाट स्वतन्त्र रूपमा सूचना प्राप्त गर्न पनि कठिन भएको अधिकारीहरूले बताएका छन् ।

शुरा परिषद्का महासचिव अमिन महमुद ओस्मानले खुला आकाशमुनि बस्न बाध्य मानिसका लागि आश्रयस्थल उपलब्ध गराउन र हराइरहेका मानिसको खोजी गर्न राष्ट्रसंघ, गैरसरकारी संस्था एवं सुडान सरकारसमक्ष आग्रह गरे ।

सीमान्तकृत समुदायलाई बेवास्ता गरिएको आरोपमा सन् २००३ बाट डार्फरमा सुडान सरकारको विरोधमा विद्रोह शुरु भएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार सुडानमा जारी पछिल्लो द्वन्द्वका कारण तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी यस द्वन्द्वमा परी २५ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।