‘हिरो’को खडेरी
विश्वमा भित्रिएको आधुनिक प्रविधिसँगै खेलकुदले ठूलो छलाङ मारिसकेको छ । यस्तो हुनुमा राज्यको लगानी र नेतृत्व वर्गको पनि उत्तिकै हात रहेको छ । सही नेतृत्व र सही व्यवस्थापनको हातमा राज्यको लगानी प-यो भने त्यसको परिणाम जहिले पनि सकारात्मक र उत्कृष्ट हुन्छ । विश्वमानचित्रमा पहिल्याउनैै नसकिने मुलुकहरू आज खेलकुदकै माध्यमबाट परिचित र जनजिब्रोमा बस्न सफल भएका छन् । यसको अर्थ खेलकुदमा त्यस्तो शक्ति छ जसले त्यो मुलुकको मान, सम्मान र प्रतिष्ठालाई मात्र नभई समग्र मुलुकको विकासमा नै कायापटल गर्न सक्छ । तसर्थ त्यहाँ खेलकुदको मूल्याङ्कन निकै बढावाका साथ गर्ने गरिन्छ, खेलकुदलाई राज्यको अभिन्न अङ्गको रूपमा प्रस्तुत गरिन्छ । खेलकुदमा हिरो जन्माउन व्यापक लगानी र साधनस्रोतको प्रयोग गरिन्छ । अझ २१औँ शताब्दीको आगमनसँगै खेलकुदमा प्रयोग भएका वैज्ञानिक उपकरण र यसको ग्ल्यामरले खेलकुदलाई अझ चर्चित र अविश्वसनीय सफलता दिलाएको छ । तसर्थ खेलकुद अहिले आमचासोको पहिलो प्राथमिकतामा परेको छ ।
तर विडम्बना, नेपालमा समग्र खेलकुदको विकासका लागि ‘राष्ट्रिय खेलकुद परिषद्’ नामक संस्थाको गठन भएको अहिले ५५ वर्ष पुगिसक्दा पनि नेपाली खेलकुद कछुवाको चालमा समेत हिँड्न सकेको छैन । यो अवधिमा १६ जना सदस्यसचिवले खेलकुदलाई हाँक्ने अवसर पाए पनि अधिकांशले खेलकुदको अस्मितामाथि नुन खुर्सानीमा मात्रै दलेको कसैबाट छिपेको छैन । अन्यथा स्वर्गीय जनरल नरशमशेर राणाले हालेको जगमा निर्माण भएको दशरथ रंगशाला नै अन्तिम रंगशाला कदापि बन्ने थिएन । नेपालको एक मात्र राष्ट्रिय रंगशालाको रूपमा रहेको दशरथ रंगशाला बूढो र जर्जर अवस्थामा पुगिसक्दासमेत विकल्पको रूपमा कागजी खेस्रामै रंगशाला निर्माण हुनु राज्यको खेलकुदप्रतिको धारणा सोझै अड्कलन र अनुमान लगाउन सकिन्छ । यस्तो हुनुमा अधिकांश समय खेलकुद दरबारकै चार दिवारीमा सीमित रहनुलाई कारकतत्वको रूपमा लिइएको छ । र पनि, शरदचन्द्र शाहको ११ वर्ष कार्यकालमा भने खेलकुदले खरायो गति लिएको थियो । सो अवधिमा अधिराज्यभरि बनेका भौतिक पूर्वाधार अहिले पनि खेलकुदको धरोहरको रूपमा रहेका छन् । तत्कालीन समयमा खेलकुदले जुन रफ्तार लिएको थियो शाहको पतनसँगै खेलकुदको अग्रगामी विकासमा पनि तगारो लागेको थियो । अझ ०४६ सालपछि त खेलकुद नाम मात्रकै खेलकुदमा सीमित रहन पुग्यो । त्यहाँ राजनीति हावी भएको थियो । परिणाम खेलकुदको दुर्गतिको प्रारम्भ भएको थियो ।
खेलकुद विकासको मूल आधार भनेको भौतिक पूर्वाधारको विकास हो । तत्कालीन शासक वर्गहरूले खेलकुदको मूल्य, मान्यता, आदर्श र मर्मलाई कुनै कोणबाट नाप्ने कोसिस गरेनन् । साँचो अर्थमा भन्नुपर्दा आफ्नो बुटमुनि नै राखे । खेलकुदको विश्वव्यापी लोकप्रियताले शिखर चुमिरहेको अवस्थामा नेपालचाहिँ खेलकुद दयनीय अवस्थामा गुज्रिरहेको थियो । राष्ट्रिय खेलकुद परिषद् राजनीतिक कार्यकर्ताहरूको अखडाको रूपमा परिणत हुँदा खेलकुद सेना र पुलिसमा सीमित भएको थियो । यिनै संस्थाको भरमा खेलकुद र खेलाडीले स्वास फेरिरहेका थिए । जुन खेलकुदको कालखण्डको सबैभन्दा तीतो सत्य हो । र पनि, परिषद् खेलकुदको नामले बाँचिरहेको थियो । दरबारिया र राजनीतिक लुटेराले खेलकुदको अस्मितामाथि यसरी खेलवाड गरे खेलकुद नराम्रोसँग नाङ्गिन पुग्यो, बेसहारा बनेर । खेलकुदलाई सम्हाल्ने कसैले कोसिस गरेन उल्टै असहाय बनेको खेलकुदमाथि सरकारले सौतेलो व्यवहार गर्दै गयो, खेलकुदलाई घर न घाटको अवस्थामा पु-याइदियो । यसरी गिद्धहरूले पालै पालो गरी लुछी–लुछी खेलकुदलाई खाँदासमेत खेलाडीहरूले मुखसमेत बाउन सकेनन् । खेलकुद कुसंस्कारको परिणती भोग्दै दलदलमा भासिन पुग्यो, जसको पीडा अहिलेसम्म खेलकुदले महसुस गरिरहेको छ, एकादेशको कथासरि ।
राजनीति जाँतोमा नराम्रोसँग पिसिएको खेलकुदमा अहिले शुभसङ्केतका किरण देखापरेका छन् । सरकारले खेलकुदको महत्व र विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ । खेलकुदमा आर्थिक सहयोग र खेलाडीलाई प्रोत्साहित गर्ने कार्यमा विशेष रुचि राखेको छ । यसको नजिरको रूपमा चर्चित तेक्वान्दो खेलाडी दीपक विष्ट र म्याराथन धावक वैकुण्ठ मानन्धरलाई प्रदान गरिएको २५ लाख लिन सकिन्छ । यो नजिरले खेलाडीमा सकारात्मक सन्देश गएको छ । खेलकुदमा लागेर पनि बाँच्न सकिन्छ भन्ने । अन्तर्राष्ट्रियस्तरमा पदक जित्दासमेत मौनताको ब्रत साँध्दै आएको सरकारले अहिले खेलकुद र खेलाडीप्रति गम्भीर भएर देखाएको यो साँचो र प्रतिबद्धताले खेलाडीमा नयाँ जोस र उमङ्ग भरिदिएको छ । त्यसैले खेलाडीहरू भन्न थालेका छन्, ‘अब खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्नेहरूले पछाडि फर्केर हेर्नुपर्ने छैन, खेलकुदमा लागेर जीवन बर्बाद होइन, बहार हुनेछ । विगतमा दक्षिण एसियाली खेलकुद (साग), एसियाली खेलकुद र ओलम्पिक खेलकुद प्रतियोगितामा पदक जित्नेलाई मात्र सरकारले नगद पुरस्कारको घोषणा गरेको थियो । तर, अहिले यी बाहेकका प्रतियोगितामा समेत सरकारले खेलाडीहरूलाई पाँच–पाँच लाख प्रदान गरेर नौलो आयामको शुभारम्भ गरेको छ । परिणाम ठूला प्रतियोगितामा चुके पनि अन्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई समेत नयाँ ढोका खोलिदिएको छ । जुन खेलाडीको भविष्यका लागि सकारात्मक पहल मानिएको छ । यसले निराश भएर खेलकुदबाट पलायन हुनेलाई समेत सोच्न बाध्य पारेको छ ।
अहिले भौतिक पूर्वाधारको निर्माणदेखि नीति र कार्यक्रमहरूले प्राथमिकता पाएका छन् । विगतका झैं यी कार्यक्रमहरू फाइलमा मात्र सीमित नभई आवरणमा पनि देखिएका छन् । जसको प्रत्यक्ष र अप्रत्यक्ष फाइदा खेलाडी र प्रशिक्षकलाई पुगेको छ । खेलाडीहरूलाई वर्षभरि नै उचित भत्ता पाएर प्रशिक्षण गर्ने अवसर मिलेको छ । यस्तो व्यवस्था नेपालको खेलकुद इतिहासमा पहिलोपटक भएको हो । जुन आफैँमा स्वागतयोग्य र तारिफयोग्य बनेको छ । पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र पुरस्कारलाई मुख्य हतियार बनाएको राखेपले खेलाडीलाई प्रोत्साहित गर्न र अन्तर्राष्ट्रियस्तरमा पदक जित्नका लागि विगत दुई वर्षदेखि यस्तो कार्यक्रम सञ्चालन गरे पनि सोचेअनुरूपको सफलता भने पाउन भने सकेको छैन । छैटौँ राष्ट्रिय प्रतियोगितादेखि हालै सम्पन्न प्रथम राष्ट्रिय लुम्बिनी च्याम्पियनसिपसम्म प्रायः पुरानै खेलाडीको बाहुल्य रहेको छ । नयाँ खेलाडी जन्मिन सकेका छैनन् भने पुराना राष्ट्रिय खेलाडीहरूको स्तरमासमेत वृद्धि हुन सकेको छैन । जसले राखेपलाई निरश र चिन्तित बनाएको छ । त्यसैले सदस्यसचिव युवराज लामाले यो विषयमा बारम्बार चर्चा गर्दै खेलाडीले क्वालिटीमा वृद्धि गर्नुपर्ने बताउँदै आएका छन् ।
राखेपले विगत दुई वर्षदेखि सम्भावित पदक जित्ने खेलका खेलाडीलाई उचित प्रशिक्षणको व्यवस्था मिलाउँदै दिनको दुईपटक प्रशिक्षण गराउँदै आएको छ । यो अवधिमा ती खेलका राष्ट्रिय प्रतियोगिता पनि भएका छन् । तर, खेलाडीको खेलस्तरमा कुनै सुधार आएको छैन । उनीहरूकोे स्तर हिजो जहाँ थियो, आज पनि त्यहीँ छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको स्तर र प्रदर्शन सामान्य रहने प्रायः निश्चित छ । राज्यले खेलकुदको विकास र खेलाडीको स्तरमा व्यापार सुधार ल्याउन र एसियाली प्रतियोगितामा समेत आफ्नो दरिलो उपस्थिति जनाउन लाखौँ रुपैयाँ खर्च गरे पनि अहिले त्यो बालुवामा पानी हालेसरि भएको छ । खेलाडीहरूले आफ्नो स्तर सुधार गर्न नसक्नुमा अन्य थुप्रै कारण भए पनि बूढा खेलाडी जोत्दाको परिणाम भएको एक प्रशिक्षकले बताएका छन् । राखेपले दोस्रो दर्जाका युवा खेलाडीलाई समेटेर राष्ट्रिय प्रशिक्षणको शुभारम्भ गरेको भए अहिले उत्कृष्ट नतिजा आइसक्ने उनले दाबी गरे । तसर्थ ‘हिरो’ जन्मिने कुरामा विश्वस्त राखेपको हातमा दुई वर्षको अन्तरालमा पनि ‘जिरो’ हात लागेको छ । जुन राखेपका लागि शिरदर्द बन्दै गएको छ । यसको समाधान र विकल्पको रूपमा राखेपले कुनै कदम पनि चाल्न सकेको छैन । तसर्थ राखेपको यो मिसन बीचैमा तुहिने सम्भावना बढेर गएको छ ।
नेकाले लोकतान्त्रिक सङ्घ गठन गर्ने
नेपाली काङ्ग्रेसले खेलकुदलाई प्राथमिकतामा राख्दै राष्ट्रिय नीतिनिर्माण गर्ने र खेलकुदमा रहेका काङ्ग्रेसनिकटहरूलाई समेट्दै लोकतान्त्रिक सङ्घ गठन गर्ने निर्णय गरेको छ । नेपाली काङ्ग्रेस खेलकुद विभाग संयोजक माननीय सभासद् एवम् केन्द्रीय सदस्य धनराज गुरुङको अध्यक्षतामा राष्ट्रिय सङ्घमा आबद्ध रहेका काङ्ग्रेसनिकट पदाधिकारीहरूको भेलाले उक्त निर्णय गरेको हो । गैरीधारास्थित नमस्ते पार्टी बैङक्वेटमा भएको भेलामा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेका विभिन्न ४० सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त भेलामा उपस्थित व्यक्तिहरूले खेलकुदप्रति पार्टीको धारणा, नीति, आगामी दिनमा पार्टी र सरकारले खेलकुदमा गर्नुपर्ने लगानीबारे विचार–विमर्श गर्नुका साथै खेलकुदमा देखिएको विसङ्गतिलाई हटाउँदै खेलकुदलाई पार्टीको प्राथमिकतका साथ मूल नीतिमा समावेश गर्नुका साथै लोकतान्त्रिक सङ्घ गठन गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री कप
आमन्त्रित महिला भलिबल नेपालगञ्जमा
प्रधानमन्त्री कप इन्डो (नेपाल आमन्त्रण महिला भलिबल प्रतियोगिताका लागि नेपाल भलिबल सङ्घकी कोषाध्यक्ष निरोज मास्केले प्रथम पुरस्कार ५० हजार प्रदान गर्ने घोषणा गरेकी छिन् । बाँके जिल्ला भलिबल सङ्घको आयोजनामा फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजनसम्बन्धी हस्ताक्षर कार्यक्रममा मास्केले उक्त घोषणा गरेकी हुन् । प्रतियोगिताको मुख्य प्रायोजकमा लामो समयदेखि भलिबल खेलसँग आबद्ध रहेको ब्लु स्काई ग्रुप अफ कम्पनीले साथ दिने भएको छ । नगद नखुलाएको कम्पनीले प्रतियोगिताको आवश्यकताअनुसार सहयोग गर्ने हस्ताक्षर कार्यक्रममा जनाइएको थियो । यस प्रतियोगिताको उपलब्धिलाई हेरेर आगामी दिनमा सहयोगमा वृद्धि गर्ने र निरन्तरता दिने विषयमा निर्णय गरिने कम्पनीका अध्यक्ष प्रेम कटुवालले जनाए । यस हस्ताक्षरपश्चात् प्रतियोगिताको नाम प्रधानमन्त्री कप ब्लु स्काई इन्डो (नेपाल
आमन्त्रण महिला भलिबल २०१४ रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष टीएस ठकुरीले बताए । नेपालका चार टिम नेपाल प्रहरी, एपीएफ क्लब, पश्चिमाञ्चल र न्यू डायमण्ड र भारतका दुई टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुनेले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र लिबेरोले नगद पाँच हजार प्राप्त गर्नेछन् ।
एथलेटिक्स अध्यक्षमा शाह निर्वाचित
नेपाल एथलेटिक्स सङ्घको विशेष साधारणसभाले राजीवविक्रम शाहको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । अध्यक्ष र १० सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घको विधानअनुसार मनोनीतसहित सङ्घको केन्द्रीय कार्यसमिति १७ सदस्यीय रहने प्रावधान छ । अध्यक्ष पदकका लागि शाहसहित नीरेन्द्रराज श्रेष्ठ र रवि राजकर्णिकारले उम्मेदवारी दिएका थिए । शाह सर्वाधिक ३१ मतसहित विजयी भएका थिए । राजकर्णिकारले १८ र श्रेष्ठले १ मत पाए ।
त्यसैगरी सदस्यमा विजयी हुनेहरूमा पद्मा चौधरी (४१ मत), धनवीर चौधरी (३२ मत), कुमार श्रेष्ठ (२९ मत), रोहित भट्टराई (२८ मत), आरके (राधाकृष्ण) विष्ट (२५ मत), चन्द्री गिरी (२२ मत) तथा विक्रमजंग थापा, दिलबहादुर बम र प्रभाकर पाण्डे छन् । थापा, बम र पाण्डेले समान २१–२१ मत हासिल गरेका थिए । सदस्य पदका लागि नै सन्तोष श्रेष्ठ र जीवनकुमार चौधरीले समान २० मत ल्याएकोमा गोलप्रथामा सन्तोषले बाजी मारेका थिए । सदस्य पदका लागि २६ जना चुनावी मैदानमा उत्रेका थिए । राजधानीमा सम्पन्न भएको विशेष साधारणसभामा केन्द्रीय कार्यसमितिका ११ र विभिन्न ३९ जिल्लाबाट एकका दरले ३९ गरी जम्मा ५० प्रतिनिधि सहभागी थिए । अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घका प्रतिनिधि जी इस्रामको पनि उपस्थिति रहेको थियो ।
नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष इन्द्रबहादुर थिङले प्रमाणपत्र प्रदान गरेका थिए । प्रमुख निर्वाचित अधिकृत खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेले पद तथा गोपनीय शपथग्रहण गराएका थिए । त्यसअघि साधारणसभाको राखेप सदस्यसचिव युवराज लामाले उद्घाटन गरेका थिए । नवनिर्वाचित अध्यक्ष शाहले एथलेटिक्सको सबै परिवारलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कसैलाई पनि व्यक्तिको पछि नभई सङ्घको पछि लाग्न आग्रह गरेका थिए ।
सङ्घ सक्रिया हुनुपर्छ ः इस्राम
अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घ (आईएएएफ) का सिनियर म्यानजर जी इस्रामले महासङ्घको सुविधा प्रयोग गर्न नवनिर्वाचित नेपाल एथलेटिक्स सङ्घको केन्द्रीय कार्यसमिति सक्रिय हुनुपर्ने बताएका छन् । हालै आयोजित पत्रकार सम्मेलनमा इस्रामले सो कुरा बताएका हुन् । उनले भने, ‘हामीसँग धेरै कार्यक्रम छन्, यो सबै सुविधा प्रयोग गर्न सङ्घले राष्ट्रिय प्रतियोगिता, साधारणसभा, तालिमलगायतका विभिन्न कार्यक्रम गर्नुपर्ने हुन्छ ।’ ‘हामी एउटा सङ्घलाई मात्र मान्यता दिन्छौँ । यहाँ दुई सङ्घ अस्तित्वमा थिए । त्यसैको विवाद सुल्झ्याउन म राखेपको पहलमा नोभेम्बरमा नेपाल आएको थिएँ,’ उनले भने, ‘हिजोको विशेष साधारणसभाले विवादको टुङ्गो लगाएको छ ।’ इस्रामले अहिलेको कार्यसमितिलाई विगतमा जस्तो विवादमा समय खेर नफाल्न सुझाव दिँदै सङ्घले सुविधायुक्त कार्यालय स्थापना गर्नुपर्नेमा जोड दिए । उनले जर्मनी प्रोजेक्टलाई पनि पुनः सञ्चालन गर्ने सम्बन्धमा महासङ्घले प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
नवनिर्वाचित एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाहले सम्बन्धित सबैलाई सङ्घमा फर्काउने प्रयास गर्ने बताउँदै सङ्घमा रहेको गुट–उपगुटलाई हटाउन प्रयाससमेत गर्ने बताए । उनले जर्मनी प्रोजेक्टलाई पुनः सञ्चालन गर्न आफू इच्छुक भएको बताउँदै जर्मनी प्रोजेक्ट आएको खण्डमा सङ्घलाई मात्र नभई राखेपलाई पनि सहयोग हुने बताए । जर्मनी प्रोजेक्टले विगतमा एथलेटिक्सको हितमा धेरै काम गरेको थियो । यो प्रोजेक्टले केन्द्रमा मात्र नभई विभिन्न जिल्लामा तालिमलगायत विभिन्न कार्यक्रम गरेको थियो । शाहले भने, ‘जर्मनी प्रोजेक्ट पुनः सञ्चालन गर्न सके यसले सङ्घलाई मात्र होइन राखेपलाई पनि सहयोग हुन्छ ।’ शाहले विभिन्न कमिटी निर्माण गरेर अघि बढ्ने योजना रहेको बताउँदै पहिले बुझेर मात्र सङ्घमा पदाधिकारी चयन गर्ने बताए । उनले पारदर्शी ढङ्गबाट सङ्घ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बूढासुब्बा गोल्डकप चैतमा
धरानमा निरन्तर रूपमा सञ्चालन भइरहेको चर्चित बूढासुब्बा गोल्डकपको १६ संस्करण आगामी चैतमा हुने भएको छ । प्रतियोगिता चैतको ६ देखि १५ गतेसम्म एन्फा टेक्निकल सेन्टरको मैदानमा आयोजना हुनेछ । यो संस्करणलाई आयोजकले मिडियालाई समर्पण गर्दै ‘मिडिया समर्पित गोल्ड कप’को नारा दिएको छ । यो प्रतियोगितामा आयोजकका दुई टिमसहित ‘ए’ डिभिजन क्लब र विदेशका गरी जम्मा १२ टिमको सहभागिता रहने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले बताएका छन् । सो अवसरमा राईले आमन्त्रित टिममा भारतीय गोर्खा क्लब, ब्रुनाई गोर्खा क्लब र साविक विजेता हङकङ नेपाली महासङ्घको सहभागिता रहने बताएका थिए । त्यस्तै नेपालका ‘ए’ डिभिजनका क्लबहरूमा मनाङमस्र्याङ्दी, थ्री स्टार, नेपाल प्रहरी, त्रिभुवन आर्मी, सहारा पोखरा क्लब र एन्फा एकेडेमीको सहभागिता रहनेछ । त्यस्तै बंगलादेश र भारतका ‘ए’ डिभिजनका क्लबहरूलाई पनि सहभागिताका लागि पहल भइरहेको राईले जानकारी गराएका छन् । यसपटक पुरस्कारमा वृद्धि गरिएको जानकारी गराए पनि कति रकम भन्नेचाहिँ खुलाएको छैन । गत वर्ष विजेता टिमले तीन लाख २५ हजार र उपविजेताले एक लाख ६५ हजार पाँच सय प्राप्त गरेका थिए ।
पाँचौँ अम्बिका स्मृति जुडो हुने
नेपाल जुडो सङ्घका पूर्वउपाध्यक्ष स्व. अम्बिकाबहादुर क्षेत्रीको सम्झनामा ‘पाँचौँ अम्बिका स्मृति राष्ट्रव्यापी खुला तौल जुडो प्रतियोगिता– २०७०’ फागुन ११ गते हुने भएको छ । नेपाल जुडो सङ्घको आयोजना तथा स्व. क्षेत्रीको परिवारको आर्थिक सहयोगमा आयोजना हुने प्रतियोगितामा १२औँ र १३औँ राष्ट्रिय जुडो प्रतियोगितामा पदकविजेता खेलाडीलाई पुरुषतर्फ ५५ केजीदेखि ७३ केजीसम्मका खेलाडीहरूको एक समूह र ७३ केजीमाथिको एक समूह गरी दुई र महिलातर्फ ४४ केजीदेखि ५७ केजीसम्मको एक समूह र ५७ केजीमाथिको एक समूह गरी चार समूहको प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा सहभागी हुने स्वर्ण र रजत पदक हासिल गरेका खेलाडीको खर्च सङ्घले व्यहोर्ने र कास्य पदक हासिल गर्ने खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा सहभागिता जनाउनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।
उक्त खुला जुडो प्रतियोगिताका पुरुष तथा महिला विजेता प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः ३, २ र १ हजार नगदका साथै ट्रफी र मेडल प्राप्त गर्नेछन् भने पुरुष र महिलातर्फ उत्कृष्ट खेलाडीहरूले १/१ हजार नगद प्राप्त गर्नेछन् । कुल एक लाख ९८ हजार आठ सय ५० अनुमानित खर्च रहेको प्रतियोगिताको स्व. अम्बिकाबहादुर क्षेत्रीको परिवारले एक लाख ५० हजार व्यहोर्ने र बाँकी रकम सङ्घले व्यहोर्ने सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाए । स्व. क्षेत्रीका छोरा प्रमोद क्षेत्रीले सङ्घका कोषाध्यक्ष विपिन श्रेष्ठलाई एक लाख ५० हजारको चेक हस्तान्तरण गरे । छोरा प्रमोदले यस प्रतियोगितालाई अनन्तकालसम्म निरन्तरता प्रदान गरिने र त्यसका लागि १० लाखको अक्षयकोष खडा गरिसकेको जानकारी गराएका थिए । प्रतियोगितामा पुरुषतर्फ ३६ र महिलातर्फ ३८ खेलाडीको सहभागिता रहनेछ ।
गुप्तबासमा पूर्वराजारानी– बबिता बस्नेत
राजधानीमा पूर्व श्री ५ बडामहारानी कोमलको जन्मोत्सव मनाउन भव्य तयारी भइरहँदा पूर्वराजदम्पती भने अचानक गुप्तबासमा जानुभएको छ । यही फागुन ५ गते उहाँहरू निर्मलनिवास छोडेर शिवपुरीतर्फ लाग्नुभएको छ । शिवपुरी डाँडापारि खोचमा पूर्वराजाको कुटी रहेको बताइन्छ, जहाँ बेलाबेलामा उहाँ ध्यान गर्न जाने गर्नुहुन्छ । यसपटक पनि उहाँ पूर्वबडामहारानी र आफ्ना सीमित सहयोगीका साथ कुटीबासमा हुनुहुन्छ । टेलिफोनलगायतका कुनै पनि सञ्चारसम्पर्क नहुने उक्त स्थानमा सुरक्षाकर्मी भने साथमा भए–नभएको बुझ्न सकिएको छैन । त्यसो त सहर–बजारमै हिँड्दा पनि हिजोआज पूर्वराजाले सुरक्षाकर्मीलाई सकेसम्म साथ लाने गर्नुभएको छैन । उहाँ करिब दश दिन उक्त एकान्तबासमा रहनुहुने थाहा भएको छ । यही फागुन ७ गते पूर्वरानी कोमलको जन्मोत्सव पर्छ । सामान्यतया उहाँको जन्मोत्सव विभिन्न कार्यक्रमका साथ तीन दिनसम्म मनाउने गरिएको छ । यसपटक पनि उहाँको जन्मोत्सव मनाउन विभिन्न समिति निर्माण भएका छन् र फागुन ७ गते निर्मलनिवासमा गएर शुभकामना चढाउने कार्यक्रमसमेत राखिएको छ । दरबारका अनन्य भक्त राधेश्याम थापालगायतले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कविगोष्ठी, मन्दिरहरूमा पूजाआजा, वृद्धाश्रममा खाना वितरणलगायतका कार्यक्रम राखेका छन् । पूर्वबडामहारानीलाई पूजाको प्रसाद, शौभाग्यका सामान तथा अन्य उपहारहरू चढाउने कार्यक्रम पनि तय गरिएको थियो । तर, अचानक राजदम्पती शिवपुरीतर्फ प्रस्थान गरेपछि ती सबै कुरा दरबारमा पु-याई राजाका स्वकीय सचिव सागर तिम्सिनालाई बुझाउने कार्यक्रम रहेको बुझिएको छ । उहाँमार्फत पूजाको प्रसाद शिवपुरी पुग्ने बताइएको छ ।
यसअघि पूर्वराजाले फागुन ४ गते भारतका कङ्ग्रेस आईका नेता करण सिंहलाई निर्मलनिवासमा भेट्नुभएको थियो । नेता सिंह दरबारका नातेदार हुन् । विगतको भारत भ्रमणमा करण सिंह र पूर्वराजाको दुईपटक नयाँदिल्लीमा ‘लन्च मिटिङ’ भएको थियो । ‘फलो अप मिटिङ’का रूपमा काठमाडौंमा भेट्ने कार्यक्रम तय भएअनुरूप नै उक्त भेटघाट भएको स्रोतले जनाएको छ । गुप्तबासमा जानु एक दिनअघि मात्र राजनीतिक भेटघाटमा व्यस्त रहनुभएका उहाँ लगत्तै एकान्तबास जानुलाई अर्थपूर्ण रूपमा लिइएको छ । तर, एक सूत्रले जनाएअनुसार, आफ्नो ‘मेडिटेसन’सँगै पूर्वराजा बडामहारानी कोमलका लागि त्यता जानुभएको हो । नियमित चिना देखाउने क्रममा ज्योतिषीले पूर्वबडामहारानीलाई यसपटकको जन्मदिनमा सकेसम्म घरबाट टाढै रहन भनेकाले उहाँहरूले त्यसका लागि शिवपुरीलाई उपयुक्त स्थल मान्नुभएको हो ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्रले आर्थिक संस्कृतिबिनाको राष्ट्रियता र सबै क्षेत्रीय विकासबिनाको प्रजातन्त्र सार्थक नहुने बताउनुभएको छ । ६४औँ प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनताका नाममा शुभकामना सन्देश दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रजातन्त्रमा सबैको समान अवसर, समान कदर र समान प्रकारको विवेक र परख हुन्छ, हुनुपर्छ भन्दै उहाँले भन्नुभएको छ, ‘प्रजातान्त्रिक शासन पद्धतिलाई आमजनताको सुख, शान्ति र समृद्धितर्फ उन्मुख गराउन राष्ट्रका सबै शक्ति, वर्ग एवम् समुदायमा आफ्नो मनोकाङ्क्षाअनुरूप उपयुक्त विधि, नीति र पद्धति कायम गर्नुपर्दछ । विशिष्ट प्रकारको मौलिक राष्ट्रियता तथा राष्ट्रिय परिवेशअनुरूपको सार्थक प्रजातन्त्र हरेक राष्ट्रको सुन्दर आभूषण हो । हाम्रो राष्ट्रियताको मौलिक आदर्शलाई हामीले हाम्रो आफ्नो आर्थिक समृद्धिका निम्ति बढी केन्द्रित बनाउँदै जानुपर्छ । हाम्रो स्रोत र साधनको भरपूर उपयोग गर्दै राष्ट्रिय जगलाई आर्थिक उपलब्धिका आधारमा अझ बढी मजबुत पार्न सक्नुपर्छ ।’
प्रतिक्रिया