खानेपानी मन्त्रालयका सचिव हटाउने तयारी !

खानेपानी मन्त्रालयका सचिव हटाउने तयारी !


सरकारले निर्धारण गरेको नियम उल्लंघन गरी विदेश भ्रमणमा गएको अभियोगमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई खानेपानी सचिवबाट हटाउने तयारी भएको बुझिएको छ । नेपाल सरकार कार्य सम्पादन नियमावली, २०६४ अनुसार सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने प्रावधान छ । तर सचिव ठाकुर अनुमति नलिई भदौ १२ गते बेलायत उडेका थिए ।

विदेश भ्रमणप्रति विशेष रुचि राख्ने पात्रका रूपमा सम्बद्ध कर्मचारीबीच चिनिएका ठाकुरले यसअघि भारत भ्रमण गर्दा पनि मन्त्रिपरिषदको स्वीकृति लिएका थिएनन् । बेलायत र भारत भ्रमण गर्दा सरकारको अनुमति नलिएको कारण देखाएर ठाकुरलाई हटाउन लागिएको स्रोतले जनाएको छ ।


(विदेश भ्रमणका लागि सचिव ठाकुरले मगाएको विदेशी निजी कम्पनीको निम्तोपत्र)

बेलायत यात्राका लागि भदौ ५ गते उनले मन्त्रिपरिषदमा स्वीकृतिका लागि प्रस्ताव लगेका थिए । तर अहिलेसम्म मन्त्रिपरिषदबाट सो प्रस्तावमा स्वीकृति जनाइएको छैन । स्वीकृति नआएपछि सचिव ठाकुरले भ्रमणका लागि बिदा लिएर आफूखुशी विदेश उडेका थिए । अनुमति नलिई कार्यालयबाट आफैं छुट्टी मिलाएर रातो पासपोर्ट प्रयोग गरी विदेश उडेको ‘चार्ज’ गजेन्द्रमाथि लगाइएको छ ।


(ठाकुरको हाजिरी कपी)

बेलायतको एउटा निजी कम्पनी एंगलियन वाटर सर्भिसबाट नेपालका दुईजना पदाधिकारीका लागि निम्तो आएको मन्त्रालयसुत्र बताउँछ । निम्तोमा सचिव ठाकुरको नाम नभए पनि पछि सचिव ठाकुरले भ्रमणमा आफ्नो नाम पारिदिन आग्रह गरेपछि पुनः सचिवकै नाममा अर्काे चिठी आएको थियो । यसपछि सचिव ठाकुर, मन्त्रालयका सहसचिव अनिलभद्र खनाल र खानेपानी मन्त्री बिना मगरका निजी सचिव दिनेशसागर भुसाल विदेश उडेका थिए ।

पहिले भारत यात्रामा जाँदा पनि अनुमति नलिएको र यसरी पटक–पटक नियम उल्लंघन गरेको आरोप सचिव ठाकुरमाथि लागेको छ । नेपाल सरकारका सचिव एउटा निजी कम्पनीको निम्तोमा सरकारी अनुमतिबेगर नै विदेश भ्रमणमा गएको विषयलाई सरकारले गम्भीर रूपमा लिएको सुत्रको भनाई छ ।