विकृति–विसङ्गतिमा राखेप नै कारकतत्व

विकृति–विसङ्गतिमा राखेप नै कारकतत्व


sportखेलकुद लेख
राष्ट्रिय सङ्घ दर्ता
भनिन्छ– सङ्गठन नै ‘बल’ हो । सर्सर्ती हेर्दा यो भनाइसँग असहमत हुनसक्ने आधारहरू पनि छैनन् । एकता नै बल हो अर्थात् एकीकृत शक्तिको पर्याय नै सङ्गठन हो । हरेक समुदाय, सम्प्रदाय र क्षेत्र आदिमा सङ्गठनको आफ्नै मौलिक पहिचान रहन्छ र अपरिहार्यता तथा महत्व पनि । यसरी सङ्गठनको प्रसङ्ग उल्लेख गर्दा नेपालको परिपे्रक्ष्यमा अन्य क्षेत्रमा झैं खेलकुद क्षेत्रमा पनि चर्चा नगरिरहन सकिन्छ ।
नेपालमा खेलकुदको सूत्रपात मात्र होइन समयानुकूल समुचित विकास एवम् विस्तार गर्ने प्रयासको थालनी भएकोसमेत ६ दशक पुग्न लागिसकेको परिप्रेक्ष्यमा खेल क्षेत्रमा गरिएका साङ्गठिक विकासका प्रयासलाई अलग्याएर हेर्न पनि सक्ने अवस्था छैन । नेपालको खेलकुद क्षेत्रको सङ्गठित विकास क्रमको इतिहास ज्यादै छोटो रहेको छ । राणाशासन र प्रजातन्त्रको उदयपश्चात् पनि खेल क्षेत्रको सङ्गठित विकास प्रक्रियाले यथोचित गति अङ्गाल्न नसकेको तथ्य इतिहासको कालखण्डले प्रमाणित गरेको तीतो सत्य हो ।
विगतलाई सर्सर्ती पल्टाएर हेर्ने हो भने ०१५ सालमा मात्रै सरकारीस्तरबाट खेलकुदको सङ्गठित विकासको प्रयासलाई मूर्तरूप दिँदै राष्ट्रिय खेलकुद परिषद् नामको संस्था जन्मिएको थियो । यद्यपि क्रिकेट, फुटबललगायत खेलकुदमा समर्पित हुने सङ्घहरू तात्कालिक परिवेशअनुरूप नै स्थापित भइसकेको पाइन्छ । यसपछि सरकारीस्तरबाट स्थापित राखेप खेलकुदको सर्वशक्तिमान निकायको रूपमा क्रियाशील हँुदै आफ्नो कार्यसम्पादन गर्दै आएको छ । अझ नेपाल ओलम्पिक कमिटीको स्थापनाले खेलकुदमा सांगठनिक विकासको प्रक्रियालाई नयाँ मोड प्रदान गरेको थियो । यही क्रममा अर्थात् प्रजातन्त्रको उदयपश्चात् युवा तथा खेलकुद मन्त्रालयको स्थापनाले सैद्धान्तिक रूपमा सङ्गठित विकासको अभियानलाई अन्तिम रूप दिएको थियो । यसपछि राखेपअन्तर्गत विभिन्न खेल सङ्घहरूको निर्माण गर्ने प्रक्रिया अगाडि बढेको थियो जुन यद्यपि जारी छ । वर्तमान अवस्थामा राखेपमा लगभग एक सय ५० खेलका सङ्घहरू दर्ता भइसकेका छन् । यसप्रकार समग्रमा भन्नुपर्दा सिद्धान्ततः नेपाली खेल क्षेत्रको सङ्गठित विकास प्रक्रियाले लगभग मूर्तरूप प्राप्त गरिसकेको छ । यदि यसो नहुँदो हो त अहिलेको अवस्थामा राखेपको मातहतमा सयौँको सङ्ख्यामा खेलकुदका सङ्घहरू कदापि दर्ता हुने थिएनन् ।
एक अर्थमा भन्दा विविधपूर्ण खेलहरूको विशेषता र मौलिकताको आधारमा पृथक्–पृथक् सङ्गठन स्वाभाविक पक्ष हो भने राखेप, ओलम्पिक कमिटी र खेलकुद मन्त्रालय पनि यसै परिवेशभित्रका उपज हुन् । तर, सैद्धान्तिक रूपले हेर्ने हो वा बुझ्ने हो भने कुनै पनि कुराको परिणाममुखी विकास प्रक्रिया सम्भव नहुने तथ्यको आधारमा भन्ने हो भने ‘नेपाली खेलकुद क्षेत्रको सङ्गठित विकासक्रम एउटा भत्ता, औपचारिकता र कोरा सैद्धान्तिक धारणाको खोक्रो आदर्शभित्रबाट थोरै मात्रै पनि उम्कन सकेको देखिँदैन, पाइँदैन’ । यहाँका खेलकुदका सङ्घहरू धेरै छन् । निरन्तर एकपछि अर्को, अर्कोपछि अर्को गर्दागर्दै अहिले लगभग एक सय ५० को सङ्ख्यामा दर्ता भइसकेका छन् । तर, दुःखका साथ भन्नुपर्छ यतिका खेल सङ्घ दर्ता भइसक्दासमेत नेपालको ‘राष्ट्रिय खेल’को अहिलेसम्म वास्तविक पहिचान भने हुन सकेको छैन । राखेपमा यति धेरै खेल सङ्घहरूको दर्ता भइसकेपछि खेलहरूलाई सङ्गठित खेल सङ्घमार्फत गोलबन्द र परिचालन गरिएको छ भने पक्कै पनि खेलमा राम्रो गुणस्तर कायम भएको अनुमान लगाउन सकिन्छ । तर होइन, यहाँ खेलहरूको प्रवेश एवम् स्थापनाको क्रमले मात्रै तीव्रता पाएको छ । खेलको सक्रियता, विस्तार र विकास भने कछुवाको चालमा पनि हिँडेको देखिँदैन । सङ्घको स्थापनापश्चात्को गतिविधिलाई थोरै मात्र आँकलन गर्ने हो भने यहाँका प्रायः सङ्घहरू लेटर प्याड र साइनबोर्डमै सीमित छन् । त्यति मात्र होइन, राखेपअन्तर्गतका सङ्घहरू सुविधा कुम्ल्याउन र विदेश भ्रमण गर्नका लागि मात्र खोलिएकाजस्ता देखिएका छन् । वास्तविक रूपमा भन्नुपर्दा सङ्घहरू निश्चित व्यक्तिविशेषका सुविधा र आम्दानीका स्रोत र साधन बनेका छन् भन्दा अतिशयोक्ति नहोला ।
युवराज लामा राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव भएर आएपछि खेल सङ्घको दर्तामा पूर्णविराम लाग्ने अनुमान गरिएको थियो । तर, उहाँले पनि यसमा उदारता देखाइदिँदा अहिले राखेप खेलकुद सङ्घहरूको जालो बन्न पुगेको छ । लामाको उपस्थितिमा केही खेलहरूले पूर्ण जीवनदान पाए पनि कोही अहिले पनि कुम्भकर्णकै निद्रामा प्रायः मृत अवस्थामा छन् । खेलाडी, प्रशिक्षक र पदाधिकारीको त कुरै छोडौँ सङ्घको पदाधिकारीहरूको विवरण नभएका सङ्घहरू पनि भेटिएका छन् । लथालिङ्ग र भताभुङ्ग स्थितिबाट गुज्रिरहेका यी सङ्घहरूको उद्देश्य, कार्यक्रम, नीति तथा योजना स्वयम् ती सङ्घका पदाधिकारीहरूले समेत ओकल्न नसकेको अवस्था छ । कतिपय कागजी घोडामा सीमित छन् भने कतिपय कागजी घोडामा मात्रै दौडिरहेका छन् । यस्ता सङ्घहरू राखेपको फाइलअन्तर्गत कन्टेनरमा पुग्ने क्रमको लाइनमा रहेका छन् । विडम्बना, अहिलेसम्म यसो हुन सकेको छैन, राखेपले आफ्नो लाचारी प्रस्तुत गरिरहेको छ । जुन…. लाई भन्दा देख्नेलाई लाज भएको छ ।
यति हुँदाहुँदै पनि सुविधा प्राप्ति र विदेश सयरको गन्ध पाउनेबित्तिकै सङ्घका चंखचतुरे पदाधिकारीले रेडिमेड कार्यक्रमको आवरणमा सुविधा भोगिरहेका छन् । नैतिकता र इमानदारितालाई बन्धक राखेर सबैखाले सुविधा प्राप्तिमा -याल काढ्ने ब्बाँसे पदाधिकारीहरू अहिले पनि नेतृत्ववर्गको हिमायतीको रूपमा प्रस्तुत हुँदै आफ्नो स्वार्थसिद्ध गरिरहेका छन् । यसो गर्दा कतिपयले राष्ट्रिय खेलाडी, प्रशिक्षक आदिलाई बन्धक राख्ने गरेका छन् भने कतिपयले नातावाद कृपावादको पुरस्कार जितेका छन् । यहाँ एक–दुई सङ्घको मात्र कुरा नगरौँ अधिकांश सङ्घहरू यही हविगत व्यहोरिरहेका छन् । प्रायः नियति नै बनिसकेको यो क्रम वर्षेनी तीव्र गतिमा बढिरहेको छ । यस्ता गम्भीर समस्याले खेलकुदलाई गाँजे पनि यसको कारकतत्व राखेप नै हो फरक नपर्ला । होइन भने सङ्घहरूको दर्ता, परिचालन र सक्रियता आदि सम्बन्धमा निगरानी राख्ने काम राखेपले किन गर्न सकेको छैन यो अनुत्तरित प्रश्न बनेको छ । राखेप औपचारिकताको साङ्गोमा जकडिनु अहिले विडम्बना भएको छ । राखेपले चाहेर पनि यसमा खरो उत्रिन नसक्नु स्वयम् सङ्घहरूको लागि समेत प्रत्युत्पादक भएको छ । तसर्थ आर्थिक, भौतिक, प्राविधिक आदि सुविधा र सहुलियत प्राप्तिमा कतिपय सङ्घ ठगिएको वास्तविकता एकातिर छ र पनि यसमा तत् सङ्घको जिम्मेवारीले नै त्यसो भएको ठोकुवा गर्न सकिन्छ । त्यसैले अब सङ्घहरूको प्राविधिक, भौतिक, आर्थिक सम्पन्नता, क्रियाशीलता एवम् सक्रियताको निश्चित मापडण्ड राखेप र मन्त्रालयले अवलम्बन गर्नुपर्छ र कामको आधारमा माम भनेझैं राम्रोलाई पुरस्कार र नराम्रोलाई सजायको कडा व्यवस्था लागू गर्नैपर्छ । यसका लागि कानुनी, सैद्धान्तिक र व्यावहारिक पक्षको तारतम्य मिलाउन राखेप वा मन्त्रालयको नेतृत्व वर्गले पहिले सक्रिय हुनुपर्छ । होइन भने समस्याको पहाड मजबुद हँुदै जानेछ ।
वर्तमान अवस्थामा राखेपको प्रतिष्ठामाथि ऐंजेरू लागेको छ । ऐंजेरू आफैँ लाग्ने भए पनि अहिलेको ऐंजेरू भने खुद राखेपले लगाएको हो । तसर्थ यसलाई कसरी काटेर फ्याँक्ने त्यो राखेपको जिम्मेवारी भएको छ । खेलकुदको वातावरणलाई दूषित बनाउँदै खेलकुदलाई नैै समाप्त गर्ने गरी पलाएका यस्ता सङ्घहरूलाई सदाका लागि समाप्त गर्न राखेपले अब कस्तो कदम उठाउँछ त्यो अहिले हेर्न लायक बनेको छ । आफूलाई खेलकुद बुझेको व्यक्तिको रूपमा प्रमाणित गर्न पनि सदस्यसचिव युवराज लामाले यो कदम उठाउन उचित समय आएको छ । हेरौँ, छोटो समयमा खेलकुदमा उत्कृष्ट कार्य गरेर वाहवाही बटुलेका लामा यो कार्य गर्नमा कति सक्षम हुन्छन् र खेलकुदलाई सही दिशामा मार्गदर्शन गर्न सफल हुन्छन् त्यो अहिले प्रतीक्षाको विषय बनेको छ । अन्यथा लामाले जति फुर्ती गरे पनि उनको कार्यकाल यिनै सङ्घका कारणले ओझेलमा पर्ने, प्रायः निश्चित छ । सबैलाई चेतना भया ।

खेल समाचार

नेपाल कप फुटबल जनकपुरमा
नेपाल कप फुटबल प्रतियोगिता जनकपुरमा हुने भएको छ । २९ फागुनदेखि ८ चैतसम्म जनकपुरको जिल्ला खेलकुद विकास समितिको मैदानमा हुने उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहने आयोजक स्पोर्टस् फर अल क्लब नेपालका अध्यक्ष लोकबहादुर शाहीले हालै आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । नकआउटको आधारमा खेलाइने सो प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । अनुमानित १२ लाख ५० हजार रुपैयाँ खर्च हुने सो प्रतियोगिताका लागि मुख्य प्रायोजकको भने खोजी भइरहेको आयोजक जनाएको छ । उक्त प्रतियोगितामा चौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोक, लालबन्दी स्पोर्टस् क्लब लालबन्दी, गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देही, एन्फा कास्की, मुनाल क्लब झापा रहेका छन् । त्यसैगरी, कस्तुरी युवा क्लब लहान, सप्तरी–११ राजविराज, मनिमण्डप युवा फुटबल क्लब जनकपुर, युवा स्पोर्टस क्लब वीरगन्ज, सुनसरी–११ धरान, श्वेत गणेश युवा क्लब काठमाडौं र हेरेचा स्पोर्टस् क्लब विराटनगरले
सहभागिता जनाउनेछन् ।
काठमाडौंबाहिरका प्रतिभा पहिचान गराउने उद्देश्यले नेपाल कप फुटबल आयोजना गर्न लागेको क्लब नेपालका अध्यक्ष लोकबहादुर शाहीले बताए । अब स्पोर्टस् फर अल क्लबले अखिल नेपाल फुटबल सङ्घको ‘डी’ डिभिजन क्लबहरूमा सहभागी भएर विजयी हुँदै ‘ए’ डिभिजनमा जाने लक्ष्य रहेकोसमेत अध्यक्ष शाहीले बताए ।
आजभन्दा २१ वर्षअगाडि आफूहरूले वाइवाइलाई प्रायोजकको रूपमा भित्याउन सफल भएको र त्यहीँबाट नै नगद पुरस्कारको संस्कार बसेको र अहिले एक करोडसम्म पुरस्कार राशि रहेकोमा आफूहरूलाई खुशी लागेको
शाहीले बताए । प्रतियोगिताबाट निस्कने राम्रा खेलाडी राष्ट्रका लागि दिन पाए आफ्नो क्लबको योगदान हुने शाहीले बताए । सो कार्यक्रममा क्लबका उपाध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी मणि शाह, कोषाध्यक्ष दीपक शाही, पूर्वराष्ट्रिय खेलाडी जीवन लामालगायतको उपस्थिति रहेको थियो ।

विमेन स्पोर्टस् पुनर्जागरण हुने
दश वर्षअगाडि महिला खेलाडीलाई प्रोत्साहन गर्ने र उत्प्रेरणा दिने उद्देश्यले स्थापना भएको ‘विमेन स्पोर्टस् नेपाल’ पुनः जुर्मुराउने भएको छ । दश वर्ष अगाडि विभिन्न कार्यक्रम गर्दै संस्थालाई क्रियाशील गर्दै अगाडि बढाइरहेको संस्था आफ्नो अमेरिका प्रस्थानपश्चात् मृतप्रायः अवस्थामा रहेकोमा अब पुनः यसलाई चलायमान बनाइने संस्थाकी अध्यक्ष सीता पाण्डेले बताएकी छिन् । संस्थाले अब नियमित रूपमा खेल र महिला खेलाडीको विकास, विस्तारका लागि खेलकुदकर्मी, विशेषज्ञ तथा सञ्चारकर्मीहरूको सल्लाह र सुझावका आधारमा कार्यक्रम गर्ने विज्ञप्तिमा जनाइएको छ । यसका साथै महिला खेल र खेलाडीको विकासका लागि कलम चलाउने र सम्प्रेषण गर्ने एक पत्रकार र एक प्रशिक्षकलाई वर्ष पत्रकार र वर्ष प्रशिक्षक घोषित गर्दै नगद १० हजारले सम्मान गरिनेसमेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

मारमोट हाफ म्याराथन हुने
नेपाल शेर्पा विद्यार्थी मञ्चको आयोजनामा ‘मारमोट खुला प्रथम ऐतिहासिक ल्होसार हाफ म्याराथन २०७०’ आयोजना हुने भएको छ । शेर्पा समुदायका विद्यार्थीलाई समाजका विभिन्न क्षेत्रमा नेतृत्व प्रदान गर्ने उद्देश्यले स्थापित मञ्चले शेर्पाहरूको नववर्ष ल्होसारका अवसरमा ‘युनाइटेड उई पार्टिसिपेट, युनाइटेड उई सेलिब्रेट’ भन्ने नाराका साथ पुरुषतर्फ २१ किलोमिटरको हाफ म्याराथन र महिलातर्फ १० किलोमिटर दौड हुने भएको छ । खेलकुदका माध्यमले सबै जात जातिलाई एकै ठाउँमा ल्याई भ्रातृत्वको भावना विकास गरिने मञ्चका अध्यक्ष दुजाङ जाङ्बु शेर्पाले जनाए । प्रतियोगितालाई आगामी दिनमा अन्तर्राष्ट्रियस्तरमा लैजानेसमेत उद्देश्य रहेको अध्यक्ष शेर्पाले बताए ।
प्रतियोगिताको हाफ म्याराथन चुच्चेपाटी, स्वयम्भू, चुच्चे पाटी र १० किलोमिटर दौड चुच्चेपाटी, बसुन्धरा, चुच्चेपाटी हुँदै समापन हुने कार्यक्रम रहेको छ । समयावधि तोकिएको प्रतियोगितामा पुरुषतर्फ तीन र महिलातर्फ दुई घन्टा रहेको छ । १० लाख अनुमानित लागत रहेको दौडमा प्रथम, दोस्रो, तेस्रो, चौथो, र पाँचौँ स्थान हासिल गर्नेले पुरुषतर्फ ३०, २०, १०, पाँच र तीन हजार र महिलातर्फ १५, १०, पाँच, तीन र दुई हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने निश्चित समयमा दौड पूरा गर्नेलाई प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको प्रथम पुरस्कार नेपाल पर्वतारोहण सङ्घले र दोस्रो पुरस्कार ट्राभल एजेन्सी नेपालले व्यहोर्ने भएकोसमेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । फागुन १७ गते हुने म्याराथनमा तीन हजारको सहभागित रहने आयोजकले बताएको छ ।

एसियन गेमका लागि राष्ट्रिय टिम प्रशिक्षणमा
लुम्बिनी च्याम्पियनसिप अगाडि स्थगित रहेको राष्ट्रिय
टिमको प्रशिक्षण गत सातादेखि पुनः सञ्चालन भएको छ । सातदोबाटोस्थित लुम्बिनी कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले १० खेलका राष्ट्रिय खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपमा छनोट भएका एथलेटिक्सका १२, बक्सिङका १०, जुडोका १४, उसुका २३, करातेका २१, तेक्वान्दोका १६, ब्याडमिन्टनका १२, टेबलटेनिसका १०, भारोत्तोलनका १२ र कुस्तीका सात खेलाडी सो प्रशिक्षणमा सहभागी छन् । क्रिकेटका १४ जना र ट्रायथलनका दुईजना भने सो प्रशिक्षणमा सुरुदेखि नै सहभागी रहेका छन् ।
कार्यक्रममा सदस्यसचिव लामाले खेलाडीहरू समय र तालिकाअनुसार चल्न सक्नुपर्छ, अन्यथा प्रगति हुन सक्दैन, हामीसँग संसार जित्ने अद्भूत शक्ति छ, गिनिज बुकमा
नाम लेखाउने खेलाडी पनि यही माटोका उत्पादन हुन् भन्दै खेलाडीमा आत्मविश्वास र दृढसङ्कल्प आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

सीसीआरसीलाई बेनोज स्मृति उपाधि
सीसीआरसी कलेजले सहिद बेनोज स्मृति छैटौँ अन्तरकलेज (प्लस टु) बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा सीसीआरसीले ट्रिनिटीलाई ६७–४४ ले परातिज गरेको थियो । सीसीआरसीले साविक विजेता ट्रिनिटीबाट उपाधि खोस्ने क्रममा चारै क्वाटरमा हावी रहेको थियो । विजयी टोलीका हिमाल तामाङ किरण पुनले सर्वाधिक १९/१९ स्कोर गरेका थिए । हिमाल प्रतियोगिताका मस्ट भ्यालबुएल प्लेयर घोषित भए ।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा प्राइमले टाइम्स कलेजलाई ६३–३९ ले पराजित गरेको थियो । विजेता खेलाडीलाई प्रमुख अतिथि अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष शरद रसाइली र काठमाडौं जिल्ला अध्यक्ष पेशल दाहालले पुरस्कार वितरण गरेका थिए । विजयी सीसीआरसीलाई ५० हजार, उपविजयी ट्रिनिटीले ३० हजार तथा तेस्रो हुने प्राइमलाई १५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

राष्ट्रिय शारीरिक सुगठनमा काठमाडौंको वर्चस्व
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत चौधौँ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा काठमाडौंको वर्चस्व कायम गरेको छ । सात स्पर्धामा समावेश प्रतियोगितामा काठमाडौंले सर्वाधिक चार स्वर्ण जितेको थियो । भक्तपुर, सुनसरी र काभ्रेपलाञ्चोकले एक–एक स्वर्ण बाँडेका थिए । नेपालगन्जस्थित कभर्डहलमा भएको ५५ केजीमा भक्तपुरका सुरेश दुवाल पहिलो, काठमाडौंका रवि महर्जन दोस्रो र रूपन्देहीका प्रदीपकुमार कर्माचार्य तेस्रो भएका थिए । सन् २०१२ मा चीनको ग्वान्झावमा भएको एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका कास्य विजेता काठमाडौं पुजन तामाङले ६० केजीमा स्वर्ण जिते भने रूपन्देहीका कृष्णप्रसाद श्रेष्ठले रजत र कास्कीका कमल भण्डारीले कास्य प्राप्त गरे ।
पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेलेका काठमाडौंका सचित प्रधानले ६५ केजीमा शीर्ष स्थान हात पारे । सचित दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको तीन फरक संस्करणका स्वर्णधारी हुन् । भक्तपुरका रामकृष्ण तमाखु दोस्रो र बाँकेका इशा अली सिद्दिकी तेस्रो भए । राष्ट्रिय खेलकुद परिषद्को तत्वावधान तथा बाँके जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घको सहयोगमा सञ्चालित प्रतियोगिताको ७० केजीमा काठमाडौंका ज्ञाननारायण महर्जनले बाजी मारेका थिए । मोरङका इन्द्र सापकोटा दोस्रो र रूपन्देहीका मनोज अग्रवाल तेस्रो भएका थिए । काठमाडौंका महेश्वर महर्जन ७५ केजीमा विजेता बने । बाँकेका दीपेन्द्र भण्डारी दोस्रो र बर्दियाका खगेन्द्रप्रसाद धमला तेस्रो स्थानमा रहे । ८० केजीमा तोर्णबहादुर भुजेल (पारस) ले सुनसरीलाई स्वर्ण दिलाएका थिए । काठमाडौंका किरण श्रेष्ठ दोस्रो तथा ललितपुरका पुजन महर्जन तेस्रो भए । ८० केजीमाथि काभ्रेपलाञ्चोकका सरोज मानन्धर पहिलो, बर्दियाका लालबहादुर परियार दोस्रो र ललिपुरका जय महर्जन तेस्रो भए ।
दुईदिने प्रतियोगितामा नेपाल आर्मी क्लब र विभिन्न २५ जिल्लाका ७१ पुरुष खेलाडीले सात स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पहिलो दिन प्रि–जजिङ राउन्ड भएको थियो । त्यसबाट प्रत्येक तौल समूहबाट ५–५ खेलाडी फाइनल चरणलाई छनोट भएका थिए । आयोजक सङ्घका महासचिव दिनेश राजभण्डारीका अनुसार नेपालगन्जमा पहिलोपटक शारीरिक सुगठनको राष्ट्रिय प्रतियोगिता भएको हो । विजेतालाई बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओली, आयोजक सङ्घका उपाध्यक्ष विजयलाल कायस्थ, आयोजक सङ्घका पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ र घनश्याम मुखियालगायतले पुरस्कार प्रदान गरेका थिए । सो अवसरमा लामो समयदेखि शारीरिक सुगठन खेलको विकास र विस्तारमा योगदन पु-याएबापत पुष्पकुमार श्रेष्ठ, शिवध्वज राई र लक्ष्मण केसीलाई स्वर्ण पदक र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । शारीरिक सुगठनको समापनसँगै लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत विभिन्न ३१ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । ३३ खेल समावेश लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत पौडी र गल्फ हुने बाँकी छ ।

श्यामद्वारा सन्न्यास
नेपाली शारीरिक सुगठन खेलका एक मात्र विश्व च्याम्पियनसिपका पदक विजेता श्याम श्रेष्ठले खेलाडी जीवनबाट शुक्रबार सन्न्यास लिएका छन् । श्यामले सन् २०१० मा भारतको बनारसमा भएको दोस्रो डब्लुबीपीएफ पुरुष विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा कास्य जितेका थिए । विभिन्न नौ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका श्यामले सन् २००१ मा नेपालमै भएको दोस्रो दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । नेपाल व्यायाम मन्दिर, ज्याठाबाट करियर सुरु गरेका काठमाडौंको छेत्रपाटीनिवासी ४२ वर्षीय श्यामले अन्तिम प्रतियोगिताका रूपमा भैरहवामा गत फागुनमा भएको दोस्रो अम्बुजा सिमेन्ट राष्ट्रव्यापी खुला शारीरिक सुगठन च्याम्पियनसिप खेलेका थिए । ‘सन्न्यास लिए पनि कुनै न कुनै रूपमा शारीरिक सुगठनसँग आबद्ध भइरहन्छु । यो खेलबाट टाढा रहन सक्दिनँ,’ श्यामले भने ।

जुडोमा उमेश र सुनिता उत्कृष्ट
नेपाल प्रहरीका उमेश मगर र काठमाडांैकी सुनिता मगर पाँचौँ अम्बिका स्मृति राष्ट्रव्यापी खुला तौल जुडो प्रतियोगिता २०७० को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरूले नगद एक–एक हजार पुरस्कारसमेत प्राप्त गरेका थिए । नेपाल जुडो सङ्घको आयोजना तथा जुडो सङ्घका पूर्वउपाध्यक्ष स्व. अम्बिकाबहादुर क्षेत्रीको परिवारको आर्थिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष ५० देखि ७३ केजीमुनिको तौल समूहमा काठमाडौंका मोहन सुनिवारले काठमाडांैकै सरोज महर्जनलाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए ।
यस्तै ७३ केजीमाथि १०० केजीसम्मको तौल समूहमा सेनाका शिवबहादुर बरामले सेनाकै कालुमान तामाङलाई हराउँदै पहिलो स्थान हासिल गरेका थिए । खुसिबुस्थित बहुउद्देश्यीय हलमा आयोजित प्रतियोगिताको महिला ४० देखि ५७ केजीमुनिको प्रतिस्पर्धामा नेपाल प्रहरीकी सरिता चौधरीले स्वर्ण जितेकी थिइन् ।
उनले नुवाकोटकी सुस्मिता लावतीलाई फाइनलमा पराजित गरेकी थिइन् । एकदिने प्रतियोगिताको ५७ देखि ७८ केजीतर्फको प्रतिस्पर्धामा काठमाडौंकी सुनिता मगरले बाजी मारिन् । उनले फाइनलमा सुशीला अधिकारीलाई रजतमा चित्त बुझाउन बाध्य पारेकी थिइन् । विजयी प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले नगद तीन, दुई र एक हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेका थिए ।
विजयी खेलाडीहरूलाई स्व. अम्बिकाबहादुर क्षेत्रीका छोराद्वय आमोद क्षेत्री र प्रमोद क्षेत्री, सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्य, प्रशिक्षक एवम् प्राविधिक कमिटीका अध्यक्ष खड्गबहादुर दाहाल, प्रमुख प्रशिक्षक वीरेन्द्र रञ्जित र ओलम्पियनद्वय ऋषिराम प्रधान र गंगाबहादुर डङ्गोलले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ ३६ र महिलातर्फ ३८ खेलाडीको सहभागिता रहेको थियो ।