सुर्खेतमा प्रहरीद्वारा अवैध मदिरा नष्ट

सुर्खेतमा प्रहरीद्वारा अवैध मदिरा नष्ट


अवैध घरेलु मदिरा उत्पादनका लागि राखेको दुई हजार लिटर कच्चापदार्थ सुर्खेत प्रहरीले शनिबार नष्ट गरेको छ ।

स्थानीय प्रतिनिधि, पत्रकारलगायत यहाँका सम्पूर्ण सरोकारवालाको रोहवरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई हजार लिटर मदिरा बनाउन राखिएको कच्चापदार्थ नष्ट गरेको हो । आठ थान भाँडावर्तनसहित तयारी अवस्था राखिएको ३५० लिटर अवैध घरेलु मदिरा पनि नष्ट गरिएको जिप्रका सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

तिज पर्वलाई अवसर पारेर प्रहरीले शुरु गरेको ‘अवैध मदिरा खोजतलास तथा नष्ट अभियान’अन्तर्गत प्रहरीले यो अभियान थालेको हो । ‘अवैध घरेलु मदिरा उत्पादन विगतभन्दा निकै नियन्त्रण आएको छ,’ प्रवक्ता चौधरीले भने, ‘समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न हामी खोजतलास अभियानलाई अझ सशक्त बनाएर लैजान्छौँ ।’