रास्वपाले आन्दोलनमा पोखरावासीको साथ नपाएपछि…

रास्वपाले आन्दोलनमा पोखरावासीको साथ नपाएपछि…


सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पर्दैगर्दा रास्वपाका सभापति रवि लामिछानेले कानुनी प्रक्रियालाई आफूले सघाउने अभिव्यक्ति दिए पनि इसविपरीत उनको पार्टीले विरोध प्रदर्शनलाई जारी राख्ने भएको छ । आज (७ कात्तिक) पोखराको सृजनाचोकमा रास्वपाले विरोध प्रदर्शन गर्ने भएको छ ।

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै सो दलले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ । लामिछानेलाई गत शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा पुऱ्याइएको थियो । उनलाई आइतबार अदालतमा उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी वकीलसमक्ष बयान सुरु भएको छ ।

शनिबार पोखराके चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आइतबार शहीदचोक, सोमबार पृथ्वीचोकबाट महेन्द्रपुल र मंगलबार जिरोकिमिदेखि अमरसिंहचोकसम्म विरोध प्रदर्शन गरेको थियो । रास्वपाको यस प्रदर्शनका लागि देशभरबाट एक हजार भन्दा बढी नेता ∕ कार्यकर्ता पोखरामा भेला भएको बताइएको छ ।

यसक्रममा रास्वपाको आन्दोलनमा पोखरावासीको साथ नपाएपछि रास्वपाका नेताहरुले घरदैलो गर्दै स्थानीयलाई सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् । सो पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ, डा. तोसिमा कार्की, सोविता गौतम, मनिष झा, रमेश प्रसाईंलगायतका नेताहरुले स्थानीयको घर-घरमा पुगेर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।