गुटको लडाइँले खस्कँदै बेल्जियम कांग्रेस

गुटको लडाइँले खस्कँदै बेल्जियम कांग्रेस



– सन्तोष न्यौपाने, बेल्जियम

नेपाली काङ्ग्रेसनिकट नेपाली जनसम्पर्क समितिको सङ्गठन बेल्जियममा विगत लामो समयदेखि नै अस्थिरता र कचरमचर रहँदै आएको छ । स्वदेशमा रहेको रोगले जनवर्गीय सङ्गठनका रूपमा विदेशी भूमिमा रहेका दलहरूलाई पनि ग्रस्त पार्नु एउटा दुःखद कुरा नै हुन आउँछ । किनकि, प्रवासी भूमिमा बसेर राजनीतिमा लुछाचुँडी गर्नु कुनै कोणबाट उपयुक्त देखिँदैन ।

बेल्जियममा जनसम्पर्क समिति स्थापना भएको पनि झन्डै दुई दशक हुन थालेको छ । यो अवधिमा यहाँ धेरै खिचातानी र उथलपुथल भएको देखिन्छ । ध्रुव पौडेलको अध्यक्षतामा स्थापना भएको जनसम्पर्क समिति निष्क्रिय भएको भन्दै जनआन्दोलनताका गोपाल सापकोटाको अध्यक्षतामा पुनः अर्को समिति गठन भएको थियो । रमाइलो कुरा के छ भने पौडेल र सापकोटाका दुवै समितिहरूमा महासचिवचाहिँ एउटै व्यक्ति भए । त्यसपछि यहाँ प्रायः दुई समिति सञ्चालनमा रहिआएका छन् ।

जनआन्दोलनपश्चात् दुई समितिलाई एक बनाउने उद्देश्यअनुरूप सन् २००६ अक्टोबर महिनामा दुवै समितिबीच एकता भयो । एकताको लगत्तै तत्कालीन पार्टी महामन्त्री रामचन्द्र्र पौडेलको उपस्थितिमा समितिको प्रथम महाधिवेशन सम्पन्न भएको थियो । जुन अधिवेशनले इन्द्र क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गऱ्यो । नयाँ समिति गठन भएको ६ महिना पनि नपुग्दै फेरि मनोज केसीको अध्यक्षतामा नेपाली काङ्ग्रेस प्रजातान्त्रिकसँग सम्बद्ध जनसम्पर्क समिति गठन गरियो । नेपालमा काङ्ग्रेस दुई चिरामा रहेको बखत यहाँ पनि तत्कालीन अवस्थामा मनोज केसीको समिति गठन हुनु स्वाभाविक नै रहेको बेल्जियम काङ्ग्रेसका अगुवाहरू मान्दछन् ।

तत्कालीन का.वा. सभापति सुशील कोइरालाको उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेल्जियमको दोस्रो महाधिवेशन सन् २००८ मा सम्पन्न भयो । महाधिवेशनमा वरिष्ठ सदस्यहरूको सहमतिमा गंगाधर गौतम अध्यक्ष भए । लिखित सहमति पत्रअनुसार कार्य समिति गठन गर्नका लागि १३ सदस्यीय कार्यदल बनाइयो । सहमतिमा कार्यसमिति गठन गर्न गठित उक्त समितिको एउटा पनि बैठक नबोलाई अध्यक्षले मनोमानी पूर्ण ढंगले कार्यसमिति गठन गरे । यसैबाट बल्लतल्ल एक भएको बेल्जियम काङ्ग्रेसमा फेरि विभाजनको बिउ रोपियो ।

अधिवेशनको एक वर्ष पनि नपुग्दै उल्का घिमिरेको अध्यक्षतामा बेल्जियम काङ्ग्रेस पुनः विभाजित भयो । घिमिरेको समिति गठन भएपश्चात् दुई धारमा विभाजित भएकै कारण एनआरएन आईसीसी सदस्य पदमा जनसम्पर्क समितिले उठाएका उम्मेदवार प्रेम गुरुङ पराजित हुन पुगे । चुनावमा सङ्गठनले उठाएको उम्मेदवारलाई हराउनमा उल्का समूहमाथि दोष थोपर्दै सङ्गठनबाटै अन्तर्घात भएको कुरा बाहिर निस्कियो ।

यस्तै प्रकारले टुटफुट र अन्तर्घात बेल्जियम काङ्ग्रेसमा भइराखेको छ । गुटको लडाइँ एकदमै चर्को रूपमा रहेको छ । बीचमा कोइराला पक्षधरले बीपी स्मृति प्रतिष्ठान गठन गऱ्यो, जसको उद्देश्य गंगाधर पक्षलाई चुनौती दिनु थियो । तर, यो पनि धेरै टिक्न भने सकेन ।

बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै भनेजस्तै स्वदेशको खराब राजनीति निर्मुल हुन सकेको छैन । नेपाली काङ्ग्रेसको गुटको राजनीतिले उसलाई त असर गरेको छ नै एनआरएन बेल्जियमलगायत यहाँका सामाजिक संस्थाहरूमा पनि उत्तिकै प्रभाव पारेको छ ।

बेतिथि–बेतिथिमा रहेको जनसम्पर्क समिति बेल्जियममा सन्तोष जोशीको कार्यकाल केही सन्तोषजनक रूपमा नै अगाडि बढ्यो । जोशीले सकभर मिलाएर अगाडि बढ्ने काम गरे । जोशी समितिको अध्यक्ष हुँदा एनआरएन बेल्जियममा काङ्ग्रेसकै गंगाधर गौतम अध्यक्ष बने । उनलाई अध्यक्ष बनाउन गुट–उपगुटमा विभाजित सबै एक बन्न पुगे ।

तर, अचम्मलाग्दो कुरा के भयो भने जब सीता सापकोटा जसस बेल्जियमको अध्यक्ष बनिन् तब गंगाधर गौतम पक्ष पुनः जागृत बन्यो । उनी सापकोटाको कार्यकाल असफल बनाउन पूर्ण रूपमा लागिपरेका देखिएको छ । गौतम तिनै हुन् जसलाई सीता सापकोटालगायत टिमले असफल बनाउन बीपी स्मृति प्रतिष्ठान खोलेको थियो । त्यो खोल्न उल्का घिमिरेलगायतको टिमले समर्थन गरेको थियो । गौतम र उल्का घिमिरेकै कारण बेल्जियम समाजमा केही समय अगाडि नैतिक रूपमा गिरेका समितिका वरिष्ठ पदाधिकारी कमल सिटौलालाई पुनः समितिभित्र फर्कायो । सापकोटा पक्ष निरीह बन्यो ।

गुटको द्वन्द्वको पछिल्लो उदाहरण नेताहरूको युरोप भ्रमण र कार्यकर्ताको पछौटे पनलाई लिन पनि सकिन्छ । देउवा खेमाका नेता आउँदा गंगाधर गौतम र उनका कट्टर समर्थकहरू दिलोज्यान दिएर पछि पर्दछन् । युरोप घुमाएर नेपाल फिर्ता गर्दछन् । पछिल्लो उदाहरण विमलेन्द्र निधिको युरोप भ्रमण र आउँदै गरेका रामचन्द्र पौडेलको युरोप भ्रमणलाई लिन सकिन्छ । निधिको पिछा नछोडेका गौतम पौडेलको भ्रमणको घुमाउरो पाराले असफल गराउन लागिपरेका छन् । देउवा पक्ष नै यो मामलामा अगाडि छ । आज मात्रै बेल्जियम उत्रेका पौडेललाई देउवा पक्षका कोही पनि स्वागत गर्न गएनन्, पूर्ण बहिष्कार गरे । गुटको लडाइँ कति सम्म गहिरिएको छ भन्ने यसले पनि प्रस्ट पारेको छ ।

आज आइतबार भइरहेको एनआरएन बेल्जियमको कार्यक्रमको गौतम प्रवक्ताजस्तै देखिन्छन् भने सोही दिन रामचन्द्र पौडेल सम्मिलित जसस लक्जेम्बर्गको कार्यक्रमबारे मौन छन् ।

केन्द्रदेखि शाखासम्म विस्तार भयको गुटको लडाइँले बेल्जियम काङ्ग्रेस भित्र–भित्र ध्वस्त भएको छ । गुटकै आन्तरिक द्वन्द्वको कारण गत एनआरएन कार्यकालमा आफ्नो उम्मेदवार सन्तोष जोशीलाई हराएर लोक दाहाल विजयी गराउन सफल बने । यसमा धेरैले दोष गंगा गौतम समूहलाई नै दिए । यो पनि विगतमा भएजस्तै अर्को अन्तर्घात जसस बेल्जियमलाई भएको थियो ।

बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै भनेजस्तै स्वदेशको खराब राजनीति निर्मुल हुन सकेको छैन । नेपाली काङ्ग्रेसको गुटको राजनीतिले उसलाई त असर गरेको छ नै एनआरएन बेल्जियमलगायत यहाँका सामाजिक संस्थाहरूमा पनि उत्तिकै प्रभाव पारेको छ । यो फोहोरी खेल र गुटबन्दीको द्वन्द्व गौतम पक्ष र सापकोटा पक्ष दुवै मिलेर सदाका लागि निमिट्यान्न पार्न उत्तिकै जरुरी देखिन्छ । होइन भने विदेशी साहुको कामदार बनेर नेपालको फोहोरी राजनीति गर्दै ठूलो बुज्रुक नेता बन्नुमा कुनै तुक र इज्जतिलो देखिँदैन ।