सुदूरपश्चिमका जिल्लामा बूढी पोल्ने पर्व मनाइँदै

सुदूरपश्चिमका जिल्लामा बूढी पोल्ने पर्व मनाइँदै


डडेल्धुरालगायत सुदूरपश्चिमका जिल्लामा आज बूढी पोल्ने पर्व मनाइँदै छ ।

असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व मनाइने गरिन्छ । विजयोत्सवका रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ । किम्बदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला अर्थात् गोठालाले पुतनाको शव दहन गरेको पण्डित कृष्णदत्त ओझाले बताए ।

द्वापर युगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान् श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्ण भने बाँचेको खुसियालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको बताइन्छ । भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोटबिरुवाको लिंगोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने चलन छ । पुतनाको स्वरूपमा तयार गरी सिँगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरि घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईवस्तुलाई लगाउने चलन छ । राक्षसनीको आकृतिबाट जलेको खरानी पशु चौपायामा लगाएमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ । यस पर्वमा रातभरि डेउडा, भुवाजस्ता सांस्कृतिक कार्यक्रम गर्ने चलन छ ।