ओसामा बिन लादेन वास्तवमा नै भन्ने भए अहिलेसम्मको इतिहासमा संसारको सबैभन्दा चिनिएको, बोलिएको अनि सुनिएको र करोडौँ धन तथा स्रोतहरूको खर्च गरिएर खोजिएको कुख्यात अपराधी वा आतङ्ककारी भनेर मानिएका छन् । खासगरी २००१ सेप्टेम्बर ११ मा न्युयोर्कस्थित टि्वनटावरलाई अमेरिकी हवाईजहाजहरूको प्रयोग गरेर ध्वस्त बनाउने योजनालाई कार्यान्वयन गराउन सफल भएका ओसामालाई लगातार १० वर्षसम्म अमेरिकीलगायतका संसारभरका विविध जासुसी संस्था अनि अन्तर्राष्ट्रिय सेनाहरूको प्रयोगमा खर्च गरिएका अजस्र साधन तथा स्रोतहरू मानवइतिहासमा असाधारण मानिएको हो । त्यति ठूलो परिमाणमा करोडौँ डलर खर्च गरी मारिएका ओसामा इतिहासमा मेटिने नाम होइनन् ।
तर अब, जब ओसामा बिन लादेनको मृत्यु भइसकेको सन्दर्भमा को वा कसले संसारको मोस्टवान्टेड म्यानको टाइटलका लागि ओसामाको नामलाई प्रतिस्थापन गर्लान् वा गरेकाछन् त भन्ने अर्को स्वाभाविक चासो जगाउने खालको प्रश्न सर्वत्र उठेका छन्, जसलाई अमेरिकी मिडिया कम्पनी ‘फोब्र्स’ले हरेक वर्ष, ‘यूएस ल इन्फोर्समेन्ट एजेन्सी’लगायतका जासुस एसेन्सीहरूका सौजन्यताबाट प्राप्त जानकारीहरू प्रमुख दसको शीर्षक राखी प्रकाशित गर्ने गर्छ । आपराधिक जगत्मा कुख्याती कमाएका र संसारका विभिन्न कानुनहरूको दायराहरूबाट भाग्दै तथा लुक्दै गरेका अपराधीहरूका टप-टेनको लिस्टमा गत हप्तासम्म शिखरमा ओसामा बिन लादेन रहेका थिए र उनको अन्त्येष्टिको लगत्तै त्यो लिस्टमा अहिले प्रमुख रूपमा पाँच नाम अगाडि आएका छन् । ती हुन् –
१) जोक्बिन गजम्यान लोएरा
मेक्सिकन ड्रग लर्डको टाइटलबाट जानिएका गजम्यान अहिले मोस्ट वान्टेड म्यानको लिस्टमा शिखरमा आएका छन् । पाँच फुट छ फिटका गजम्यान जसलाई एल च्यापो अर्थात् पुड्के भन्ने उपनामले बोलाइन्छ, ले मेक्सिकोको कुख्यात सिनालोआ कार्टेललनामको सङ्गठनलाई चलाउँछन् । यस कार्टेलले कोकिनहरूलाई अमेरिकामा आयात गर्ने गर्छ र जसलाई रोक्न लागिपरेका मेक्सिकनलगायत अमेरिकन सुरक्षा अधिकारीहरू अनि अन्य विरोधी सङ्गठनका हजारौँ सदस्यलाई शिरोच्छेदन गरी या गोली हानी हत्या गरेको छ । सन् २००३ मा गल्फ कार्टेलका विरोधी शत्रु ओसिएल कार्डेसको गिरफ्तारीपछि गजम्यान मेक्सिकोको सबैभन्दा शक्तिशाली ड्रगको नाइके भएका थिए । त्यसको लगत्तै अन्य शत्रु कार्टेललगायत अमेरिकी तथा मेक्सिकन सुरक्षा अधिकारीहरूका हजारौँका हत्यामा गजम्यानको संलग्नता रहेको बताइएको छ । खासगरी पैसाको अत्यधिक प्रयोग गरेर मेक्सिकन उच्च अधिकारीहरूलाई आफ्नो पक्षमा मिलाउन सफल भएका गजम्यान मेक्सिकन पावरहाउसको रूपमा स्थापित हुँदै छन् । सन् १९९३ मा ड्रगहरूको सप्लाई गरिएको र घुसहरू खुवाएको आरोपमा मेक्सिकन कानुनबाट समातिएका गजम्यानलाई मेक्सिकन सरकारले अमेरिकालाई बुझाउन अस्वीकार गरेको थियो । केहीपछि जेलका सुरक्षा गार्डहरूलाई घुस ख्वाएर आफूलगायत अन्य सत्तरीजना कैदीलाई भगाउन गजम्यान सफल रहेका थिए । इन्टपोल, अमेरिकी सरकार तथा मेक्सिकोलगायत छिमेकी देशहरूले प्रशस्तै धन र स्रोतको प्रयोग गरेर गजम्यानको खोजी गरिरहेका छन्, जसको टाउकोको मोल पचास लाख अमेरिकी डलर कायम गरिएको छ । फोब्र्सकै एक र्सर्वेक्षणमा प्रकाशित गरिएको जानकारीमा गजम्यान संसारको ६०औँ ‘मोस्ट पावरफुल पर्सन’ मानिएका छन् जसको सम्पत्ति दश करोड यूएस डलर रहेको छ ।
२) दाउद इब्राहिम
दाउदले डी-कम्पनी जसले मुर्म्बईमा अपराधी सञ्जाल विछ्याएको छ । लागू औषधिहरू, हतियारहरूको ओसार-पसारलगायत विभिन्न हत्याहरूमा संलग्नता राख्ने दाउदलाई बताइएअनुसार अलकाइदासँग कार्यगत सम्बद्ध रहेको मानिएको छ । सन् १९९३ को मुर्म्बई -बर्म्बई) बमकाण्ड जसबाट २५७ जना मानिस मारिएका थिए को मास्टरमाइन्ड दाउदले नै गरेका थिए । एक हल्लाअनुसार, उनी यस घडी पाकिस्तानमा प्लास्टिक र्सजरी गरी अर्कै नाम र रूपमा रहेका छन् भने अर्को हल्लाअनुसार, उनी अहिले दुबईमा छन् र त्यहाँबाटै माफिया सञ्जाल चलाइरहेका छन् ।
३) सेमिवन मोगिलेभिच
केही देशका सुरक्षा अधिकारीहरूका अनुसार मोगिलेभिच संसारभरमा फैलिएका रसियन हरेक क्राइम सेन्डिकेटहरूका बोसहरूका पनि बोस हुन् । मोगिलेभिच फोब्र्समा राखिएको प्रकाशनअनुसार, अमेरिकामा एक सय पचास मिलियन यूएस डलरको घपलाको निम्ति, एफबीआईको ‘मोस्ट वान्टेड’को लिस्टमा दसौँ स्थानमा छन् ।
४) माट्टेव मेस्सिना डेनारो
सन् २००६ मा बर्नार्र्डो प्रोभेनाजानोको गिरफ्तारीपछि कोसा नोस्ट्राको हेड भएका सिलिकन माफिया बोस हुन् डेनारो । रेबन्स चस्माको पागलपनकै हदको प्रेमीको रूपमा हेरिएका चिरपरिचित ‘प्ले-ब्याय’ डेनारो सन् २००३ देखि कानुनहरूसँग बच्दै भाग्दै हिँडेका छन् ।
५) अलिम्ज्हान टोख्टाखोउनोभ
उज्बेग मोब्स्टर टोख्टाखोउनोभ फोब्र्सको लिस्टमा पाँचौँ स्थानमा छन् । उज्बेगलगायत वरपरका विशाल आपराधिक गतिविधिहरूलाई आफ्नो नियन्त्रणमा राख्ने टोख्टाखोउनोभमाथि, सन् २००२ को विन्टर ओलम्पिक्समा रसियन स्केटिङ टिमलाई जिताउनका लागि निर्णायकहरूलाई किनेको भन्ने प्रसिद्ध आरोप अद्यावधि साम्य भएको छैन । सो खेलमा क्यानाडियन जोडीले गोल्ड मेडल जितेको दर्शकलगायत सबैलाई स्पष्ट थियो ।
अपराधीहरू संसारमा एक जान्छन् अनि त्यसको तुरुन्तै अर्को आउँछन् । सामाजिक स्वरूपमा नै यसले सम्पूर्ण व्यवस्थामा जरो गाडेको हुन्छ । अपराधको उन्मूलन गर्न सकेमात्र अपराधीहरूको सफाया हुने वास्तविकता रहे तापनि कुनै एक मोस्ट वान्टेडको गिरफ्तारीपछि या मृत्युपछि सम्बद्ध सङ्काय तथा निकायहरूमा खुसी मनाइने परम्परा आमरूपमा सर्वत्र व्याप्त छ । अहिले चुनावको सन्दर्भमा, अमेरिकी आमरूपको चर्चा भएको छ ओसामा बिन लादेनको मृत्यु तर त्यही हालतमा विश्वव्यापी सञ्जाल बनाएर फराकिएको अलकायदाको सम्भावित आक्रमण तथा बदलालाई गौण रूपमा हेरिएको लाग्दछ । हुन त भर्खरै अलकाइदाले अर्को नेता चुनिसकेको छ र उक्त नेतृत्वले बदलाको विगुल पनि फुकिसकेका छन् । आस्थामा स्थापित अतिवादबाट सङ्क्रमित समूहहरूलाई साधारणतया अन्य आपराधिक समूहसँग तुलना गर्न पक्कै सकिँदैन । आतङ्क फैलाउन प्रतिबद्ध रहने यी अतिवादी समूहलाई मात्र एक मौकामा मात्र लक्की हुन काफी हुन्छ भने आमजिन्दगी बाँच्ने सर्वसाधारणलाई सयौँपटक नै लक्की हुन जरुरी पर्छ बाँच्नका लागि । ओसामा बिन लादेनको मृत्युले पक्कै पनि संसार पहिलेभन्दा सुरक्षित नभएको पक्का छ । अमेरिकालगायत बेलायतमा जनमानस सशङ्कित रहेका छन् । खासगरी भीडभाडदेखि टाढै बस्नु यो सन्दर्भमा समयसापेक्ष सावधानी हो ।
प्रतिक्रिया