बैतडीका तटिय क्षेत्रमा बाढीको त्रास

बैतडीका तटिय क्षेत्रमा बाढीको त्रास


जनक साउद, बैतडी
वर्षातको समयका महाकाली नदी किनारका स्थानीय रातभर सुत्न सक्तैनन् । नदीमा पानीको सतह बढेका दिन बगाउने डरले उनिहरु सुत्न नसकेका हुन् ।

दशरथचन्द नगरपालिका–६, सेराका करिब एकसय घर परिवार सधै बाढीको त्रासमा हुन्छन् । बर्षेनी नदीले जमिन कटान गर्दै लगेपछि कुन दिन घर बगाउँछ भन्ने चिन्ताले उनिहरुलाई सताउने गरेको छ । गत वर्ष महाकाली नदीमा बाढी आउँदा ६ घर परिवार तीन दिनसम्म घर छोडेर आफन्तकोमा बसेको स्थानीय देवदत्त पन्त बताउँछन् । ‘नदी छेउमा रहेका घरमा बर्खामा सुत्न डर लाग्ने गर्दछ ।’ उनले भने, ‘नदीले बर्षेनी खेतीयोग्य जमिन कटान गर्दै लगेको छ । तटबन्धको राम्रो व्यवस्था नहुँदा बर्खामा समस्या हुने गरेको हो ।’

मनसुनको समय सुरु भएपछि नदी तटीय क्षेत्रका बासिन्दा बाढीकै त्रासमै बाच्नुपर्ने बाध्यता छ । नेपाल–भारत सीमा नदी महाकाली किनारको उब्जाउ फाँट सेरा अन्न उत्पादनको लागि राम्रो मानिन्छ तर हरेक बर्ष सो भाग कटानमा पर्दै आएको छ । नदी किनारका स्थानीय बर्खामा मात्र होइन अन्य महिना समेत नदीको जोखिममा छन् ।

नदीमा बाढी आएको जानकारी दिने पूर्व सूचना प्रणाली नहुँदा झन समस्या भोग्दै आएका हुन् । भारतको धौलीगंगा र चमेलिया जनविद्युत आयोजनाले बाँध खोल्दा पानीको सहत बढ्ने गरेको स्थानीय कैलाश जोशी बताउँछन् । उनका अनुसार धौलीगंगा बाँध खोलेपछि पानीको सतह बढेर बगाउने चिन्ताले गाउँलेहरु चिन्तित छन । नदीमा जल प्रवाहको स्तर खतराको संकेत दिने कुनै सयन्त्र नहुँदा तटिय क्षेत्रका बासिन्दा त्रासमा बस्न बाध्य हुन् । तटिय क्षेत्रमा तटबन्द र पूर्व सूचना प्रणालीको व्यवस्था भए सहज हुने स्थानीयको भनाइ छ ।