जुनियर च्याम्पियन स्यान्टु श्रेष्ठ

जुनियर च्याम्पियन स्यान्टु श्रेष्ठ


sportटेटेका नम्बर १
खेलकुद कुन चरीको नाम हो उनलाई थाहा थिएन । खेलकुदको विशेषता, आवश्यकता र प्रभावशालीताबाट त उनी कोसौँ दूर थिए । स्कुलमा को–कसले के–के खेल्थे उनका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तै थियो । तर, समयको वेगले त्यो अन्जान बालकको मार्ग नै परिवर्तन गरिदियो अर्थात् खेलकुदको मार्गमा ल्याएर उभ्याइदियो । जसको उनले कल्पनासमेत गरेका थिएनन् । यसरी एक्कासि खेलकुदमा होमिनुपर्दा शुभारम्भमा केही असजिलो महसुस भए पनि त्यसपछि खेलकुद उनको मनमस्तिष्कमा बसेको थियो । साँचो अर्थमा भन्नुपर्दा टेबुलटेनिस खेलप्रति उनको प्रगाढ माया गाँसिएको थियो । यही प्रगाढ मायाले होला टेबुलटेनिस खेल्न थालेको दुई वर्षमा नै उनी टेटेका उदीयमान खेलाडीको रूपमा आवरणमा देखिएका छन् । प्रायः सबै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर जुनियर च्याम्पियन बनेर तहल्का मच्चाइरहेका उनी हुन्– स्यान्टु श्रेष्ठ ।
०६८ सालको कुरा हो, त्यतिबेला स्यान्टु पाँच कक्षामा अध्ययनरत थिए । नर्सरीदेखिको साथी इफ्तेखारले ख्यालख्यालमै त्यत्तिकै स्कुलमा टेबुलटेनिस खेल्न लगेपछि स्यान्टुले टेटेमा प्रवेश गरेका थिए । उनलाई त्यसबेला टेटे खेल्न आउँदैनथ्यो, खालि अरूले खेलको हेरेर बस्थे । अरूले खेलेको चाखमानी हेर्दाहेर्दै स्यान्टुलाई टेटेले आकर्षित गरेको थियो । भित्रैदेखि टेटे खेल्ने मन बनाएकै बेला संयोगवश उनको भेट नेपालकी नम्बर एक महिला खेलाडी तथा नोबेल एकेडेमीकी टेटे प्रशिक्षक नविता श्रेष्ठसँग भयो । ‘के खोज्छस् कानो आँखा’ भनेझँै श्रेष्ठकै प्रशिक्षणमा स्यान्टुले टेटेको क–ख सिक्ने अवसर पाए । टेटेमा उत्कृष्ट प्रदर्शन गरिरहेको बेलामा उनको भेट टेटेका वरिष्ठ प्रशिक्षक शङ्कर गौतमसँग रंगशालामा भयो । पौडी खेलाडी दाइ बनिन सेन्सा श्रेष्ठकोे खेल हेर्न आउँदा भएको जम्काभेटमा गौतमले ‘दाइभाइ किन एउटै खेल खेल्ने, टेटे खेल’ भनेर मार्गदर्शन र प्रेरणा दिएपछि स्यान्टुले टेटेलाई आत्मसात् गरेका थिए । पढाइसँगै प्रशिक्षणको तालमेल मिलाएर टेटेमा होमिएका थिए ।
स्कुलबाट सीधै लैनचोर पुगेका ११ वर्षीय स्यान्टुले त्यसपछि बिहान दुई घण्टा सञ्जय अर्याल गुरुसँग एक महिना प्रशिक्षण लिएका थिए । उनको प्रतिभामा निखार आउँदै गरेको बेलामा बिहानको समय उनका लागि अमिल्दो र बाधक बनेको थियो । तसर्थ उनले बिहानको समय छोडी बेलुकी प्रशिक्षण गर्ने निधो गरेका थिए । अर्को महिनादेखि बेलुकी समय मिलाएका स्यान्टुलाई सुशीलकुमार पौडेल र सन्ध्या शाक्यले प्रशिक्षणमा साथ दिएका थिए । यसरी हुने बिरुवाको चिल्लो पात भनेझैं स्यान्टुले पनि आफ्नो खेलमा व्यापक सुधार र स्तरीयता ल्याउन सफल भएका थिए । उनको झाङ्गिँदो प्रतिभालाई आत्मसात् गर्दै किरण गुरु र सन्ध्या शाक्यले बेलुका एक घण्टाको साटो दुई घन्टा प्रशिक्षण गराएका थिए । जुन यद्यपि जारी छ ।
टेबुलटेनिस खेल्न थालेको पहिलो वर्ष अर्थात् ०६८ सालमै स्यान्टुले विभिन्न जुनियर प्रतियोगिता खेल्ने मौका पाएका थिए । उनले पहिलोपटक क्याब्रिज इन्टरस्कुल प्रतियोगितामा अन्डर–१० मा प्रतिस्पर्धा गरेका थिए । व्बाइज सिङ्गलमा प्रतिस्पर्धा गरेका स्यान्टुले आफ्नो पहिलो सहभागितामै स्वर्ण पदक जितेर सनसनी फैलाएका थिए । पहिलो प्रतियोगितामा नै स्वर्ण पदक जितेपछि उनको खुट्टाले भुइँ छोडेको थियो । उनलाई संसार जितेको अनुभूति भएको थियो । उनको यो उत्कृष्ट प्रदर्शनले प्रशिक्षक र परिवार खुसीले गद्गद् थिए । सबैलाई स्यान्टुले भविष्यमा केही गर्छ भन्ने विश्वास पलाएको थियो । यसपछि निकै हौसिएका स्यान्टुले आफ्नो प्रशिक्षणलाई अझ कठिन पारेका थिए । सोही वर्ष भएको अन्डर–१२ विद्यालयस्तरीय प्रतियोगिताको फाइनलमा पुगे पनि भावुक जोशी र शिवसँग उनी पराजित भएका थिए । तेस्रोपटक भने दुईपल्टको बदला लिँदै प्रथम स्थान हासिल गरेका थिए ।
सफलताको सिँढी चढ्दै गएका स्यान्टुले भक्तपुरमा सम्पन्न भएको छैटौँ राष्ट्रिय टेबुलटेनिसमा उत्कृष्ट प्रदर्शन गर्दै ‘वेष्ट प्लेयर’को उपाधि हासिल गरेपछि उनको चर्चाले शिखर छोएको थियो । त्यसलगत्तै भएको स्वर्गीय पूर्णमान बज्राचार्य मेमोरियल राष्ट्रव्यापी खुला टेटेको सिङ्गलतर्फ स्वर्ण र टिम इभेन्टमा स्यान्टुले रजत जितेर आफूलाई उदीयमान खेलाडीको सूचीमा अग्रस्थानमा राखेका थिए । त्यस्तै नक्सालमा ०६९ मा नक्सालमा आयोजना भएको खुला टेटे च्याम्पियनसिपमा पनि सिङ्गलतर्फ स्वर्ण र टिम इभेन्टमा रजत पदक जित्दै सफलतको झन्डा गाड्दै गएका थिए । यसैगरी ०७० मा कीर्तिपुरमा आयोजित हरेराम जोशी मेमोरियल यू–१४ टेटे प्रतियोगितामा सिङ्गलतर्फ प्रथम स्थान हासिल गर्दै दश हजार नगदसमेत जितेका थिए । उनले टेटेमा पाएको यो पहिलो नगद पुरस्कार थियो । सोही साल भएको अन्तरविद्यालय खुला टेटेमा पनि प्रथम स्थान हासिल गर्दै नगद २५ सयसँगै रनिङ सिल्डसमेत प्राप्त गरेका थिए । यसरी राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका स्यान्टुले पहिलोपटक भारतको दिल्लीमा २०१३ मा आयोजना भएको साउथ एसियन जुनियर टेटे च्याम्पियनसिपमा सहभागिता जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । नौलो अनुभवका साथ पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्रिएका स्यान्टुले त्यहाँ सिङ्गलतर्फ कुनै चमत्कार देखाउन नसके पनि ‘क्याडेड व्बाई’ टिमतर्फ भने नेपाललाई कास्य पदक दिलाउन सफल भएका थिए ।
०७० साल स्यान्टुका लागि अविष्मणीय रह्यो । यसक्रममा उनले प्रतिस्पर्धा गरेका सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सबैकोे ध्यान आफूतर्फ आकर्षित गर्न सफल भएका छन् । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप तथा ३६औँ राष्ट्रिय टेटे च्याम्पियनसिपमा अन्डर–१८ मा प्रतिस्पर्धा गरेका स्यान्टुले नेपाल अधिराज्यभरिका खेलाडीलाई पछार्दै जुनियर च्याम्पियन बनेका थिए । जुनियर च्याम्पियन बनेपछि सबैको आँखाको नानी बन्न पुगेका स्यान्टुले हालै सम्पन्न भएको ग्यालेक्सी ओपन छैटौं राष्ट्रिय टेटे च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो जुनियर च्याम्पियनको उपाधि रक्षा गर्न सफल भएका थिए । स्यान्टुको यस्तो प्रभावशाली प्रदर्शनबाट निकै प्रभावित प्रशिक्षक किरण श्रेष्ठले स्यान्टु भविष्यमा टेटेको नम्बर एक खेलाडी बन्ने दाबी गरेका छन् । ऊ अहिले एकदमै राम्रो खेलाडीको रूपमा देखिएको छ, त्यसका लागि भविष्यमा पनि उसले कति मिहिनेत र समय दिन्छ त्यसमा उसको प्रदर्शन भर पर्छ । तसर्थ प्रशिक्षण र समय उसका लागि महत्वपूर्ण छ । अहिले जस्तै लगनशीलताका साथ खेल्यो र समय दियो भने स्यान्टुको भविष्य छ, ऊ राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट खेलाडी बन्ने पक्का छ– श्रेष्ठले भने । त्यस्तैै स्यान्टुलाई नियमित प्रशिक्षण गराइरहेकी प्रशिक्षक सन्ध्या शाक्यले स्यान्टुलाई ‘विशेष’ खेलाडीको संज्ञा दिएकी छिन् । छोटो समयमा स्यान्टुले पाएको सफलता र उपलब्धिको विश्लेषण गर्दै टेटेको स्टार बन्ने दाबी गरेकी छिन् । स्यान्टुलाई परिवारको सपोर्ट छ, जसलाई परिवारको सपोर्ट हुन्छ त्यसले छिट्टै प्रगति गर्नसक्छ, त्यो सम्भावना आफूले स्यान्टुमा देखेको शाक्यले बताइन् । स्यान्टु अन्तर्राष्ट्रिय खेलाडी बन्ने कुरामा आफू ढुक्क रहेकी शाक्यले भविष्यमा अन्तर्राष्ट्रियस्तरमा पदक जितेर मुलुकको प्रतिष्ठा बढाउनेसमेत बताइन् ।
०५७ सालमा राजकुमार र तारा श्रेष्ठका कान्छा छोराका रूपमा जन्मिएका स्यान्टु अहिले नोबेल एकेडेमीमा कक्षा नौमा अध्ययनरत छन् । पढाइमा समेत अब्बल रहेका स्यान्टुले टेटेमा पाएको सफलताप्रति उनको बुबाले प्रसन्नता व्यक्त गरेका छन् । उनले यो सबै गुरुहरूको मिहिनेतको फल भएको पनि बताए । आज स्यान्टु जुनियर च्याम्पियन बन्नुमा बुबा राजकुमारको पनि उत्तिकै हात रहेको छ । ठीक समयमा प्रशिक्षण स्थलमा पु-याउने र लैजाने उनको दिनचर्याले स्यान्टुलाई यहाँ पु-याएको प्रशिक्षकहरूको दाबी छ । हामीले असल अभिभावक पाएका छौँ, सबै अभिभावक यस्ता हुँदैनन् भनेर बुबा राजकुमारको खुलेर प्रशंसा गरेका छन् । र पनि राजकुमारले पढाइलाई पहिलो र खेलकुदलाई दोस्रो प्राथमिकतामा राखेका छन् । तर, यसको ठीक उल्टो स्यान्टुले खेललाई पहिलो र पढाइलाई दोस्रो स्थानमा राखेका छन् । हेरौँ, बुबा–छोराको सोच अहिले भिन्न भए पनि भविष्यमा कसले कसलाई को उत्कृष्ट भन्नेमा सहमति गराउँछ त्यो हेर्न लायक भएको छ ।

खेल समाचार
बादोरियोमा सरस्वती टिम च्याम्पियन
सरस्वती डोजोले प्रथम युथ राष्ट्रिय बादोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन सरस्वतीले पाँच स्वर्ण, ६ रजत र नौ कास्य जितेको थियो । नेपाल बादोरियो कराते डो सङ्घ, शाखा डोजो त्रिपुराद्वारा आयोजित प्रतियोगितामा चार स्वर्ण, चार रजत र एक कास्यसाथ देवीनगर डोजो दोस्रो र रिम्स डोजोले तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित तेस्रो स्थान हात पारेको थियो । जोरपाटीस्थित छहारी क्लबमा भएको प्रतियोगिताअन्तर्गत पुरुषमा केन्द्रीय डोजोका लक्ष्मण तामाङ र महिलामा आयोजककी शीतल गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, नेपाल कराते महासङ्घका महासचिव एवम् दक्षिण एसियाली बादोरियो कराते महासङ्घका अध्यक्ष हरिशरण केसीलगायतले पुरस्कार वितरण गरेका थिए । दुईदिने प्रतियोगितामा तीन सय ५० खेलाडीले २३ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

पर्वतीय खेलकुद महोत्सव सुरु
पर्वतीय खेलकुद महासङ्घ, नेपालको तत्वावधान तथा महासङ्घमा आबद्ध विभिन्न ११ खेल सङ्घको आयोजनामा दोस्रो पर्वतीय खेलकुद महोत्वस हालै सुरु भएको छ । सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले महोत्सवको उद्घाटन गरेका थिए । महोत्सवमा आयोजक महासङ्घमा आबद्ध विभिन्न ११ खेल सङ्घका १२ प्रतियोगितामध्ये पोखरामा सात र काठमाडौंमा पाँच प्रतियोगिता हुनेछन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडलले यस्तो खेलकुद महोत्सव देशको अर्थतन्त्रमा वृद्धि गर्न उपयोगी सावित हुने धारणा व्यक्त गरे । आयोजक महासङ्घका अध्यक्षसमेत रहेका राखेपका सदस्यसचिव युवराज लामाले विश्वका केही मुलुकमा मात्र पर्वतीय खेलकुद महोत्सव हुने गरेको जानकारी गराउँदै आगामी दिनमा महोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्दै लैजाने महासङ्घको योजना रहेको बताएका थिए ।

रोडरेसमा भूमिराज र कान्छीमायाको वर्चश्व
मातृभूमि रोडरेसको खुलातर्फ पाँच किलोमिटर दौडको पुरुषमा नेपाल प्रहरीका भूमिराज राई र महिलामा एपीएफकी कान्छीमाया कोजू पहिलो भएका छन् । पुरुषमा नेपाल आर्मीका विनोद सिजापति दोस्रो र प्रहरीका लक्ष्मण काफ्ले तेस्रो भए । महिलामा विजेश्वरी स्कुलकी संगीता खड्का दोस्रो र आर्मीकी सरिता बासी तेस्रो स्थानमा रहे । दुवै स्पर्धामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजारका दरले नगद पुरस्कार प्राप्त गरेका थिए ।
सानोठिमीको लोकन्थलीमार्ग मातृभूमि स्कुलद्वारा आयोजित रोडरेसको पाँच किलोमिटर दौडतर्फ अभिभावक÷शिक्षकको पुरुषमा लक्ष्मण थापा पहिलो, ओम पौठा दोस्रो र रामेश्वर कार्की तेस्रो भए । महिलामा कविता सुब्बा, ममिता नेपाल र रविता श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहेका थिए । पुरुष र महिलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः तीन हजार, दुई हजार र एक हजारका दरले नगद पुरस्कार जिते । विद्यालयतर्फ चार किलोमिटर दौडको छात्रमा आर्यन कोइरालाले स्वर्ण, सुमन राईले रजत र बबिन शाहीले कास्य जिते । विजेतालाई नेपाललाई पहिलोपटक अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलगायतले पुरस्कार प्रदान गरेका थिए । खुला र अभिभावक÷शिक्षकतर्फ दुई सय तथा छात्र÷छात्रामा एक सय २० प्रतिस्पर्धी सहभागी थिए ।

क्योकुसिनमा सलिना च्याम्पियन
आयोजक वनस्थली क्योकुसिन कराते डोजोकी सलिना लामाले १०औँ वनस्थली तीर्थरत्न बज्राचार्य स्मृति कप राष्ट्रव्यापी पुरुष तथा महिला तौलसमूह फुलकन्ट्याक्ट कराते प्रतियोगिताको महिला ५५ केजीमा स्वर्ण जितेकी छिन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सलिनाले नवलपरासीकी सुजाता राईलाई पराजित गरिन् । त्यस्तै पुरुषको ४५ केजीमा मित्र युवाका अर्जुन लामा पहिलो भए । फाइनलमा उनले बनेपाका पुजन दाहालको चुनौती समाप्त पारेका थिए । नवलपरासीका दलबहादुर रानामगर पुरुषको ५५ केजीमा शीर्ष स्थानमा रहे । उनले फाइनलमा ठमेलका रामबहादुर लामालाई पाखा लगाए । विजेतालाई नेपाल क्योकुसिन कराते डो सङ्घका अध्यक्ष सिहान जगतप्रसाद गौचनलगायतले पुरस्कार प्रदान गरेका थिए । एकदिने प्रतियोगितामा ५० पुरुष र ३० महिला खेलाडीले तीन स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकका प्रमुख प्रेम लामाले जनाएका छन् ।

पाम ‘ए’लाई सीडब्लूसीएन जुडो उपाधि
पाम ‘ए’ले सीडब्लूसीएन जुडो कप दोस्रो राष्ट्रव्यापी जुडो प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन पाम ‘ए’ले ६ स्वर्ण, पाँच रजत र एक कास्य जितेको थियो । नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा आयोजक बाल वातावरण केन्द्र, नेपाल (सीडब्लूसीएन) ‘ए’ तीन स्वर्ण, दुई रजत र एक कास्यसाथ दोस्रो भयो । तेस्रो स्थान प्राप्त गरेको होपेडले दुई स्वर्ण र उत्ति नै कास्य हात पारेको थियो । प्रतियोगिताको पुरुषमा न्यु होराइजन ‘सी’का मनीष चौहान तथा महिलामा पाम ‘ए’की पूजा श्रीवास्तव उत्कृष्ट खेलाडी चुनिए । मनीषले ३० केजीमुनि र पूजाले ४४ केजीमुनि स्वर्ण जितेका थिए । प्रतियोगिताको अन्तिम दिन प्रतियोगितामा समावेश १८ वटै स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
पुरुषतर्फ २५ केजीमुनि ओसिड ‘बी’का आशबहादुर कामी, ३५ केजीमुनि पाम ‘ए’का सुबोध मण्डल, ४० केजीमुनि होपेडका लक्ष्मण जीसी, ४५ केजीमुनि आयोजक ‘ए’का सन्जोग भट्ट, ५० केजीमुनि पाम ‘ए’का रोशन दोङ, ५५ केजीमुनि आयोजक ‘बी’का दिनेश मगर, ६० केजीमुनि आयोजक ‘ए’का नितेश राई तथा ६० केजीमाथि होपेडका हिमपर्व खत्रीले स्वर्ण जितेका थिए । त्यस्तै महिलाको २८ केजीमुनि न्यु होराइजन ‘ए’की सकुन सुनुवार, ३२ केजीमुनि ओसिड ‘बी’की अनिता श्रेष्ठ, ३६ केजीमुनि पाम ‘ए’की स्वस्तिका सुवेदी, ४८ केजीमुनि आयोजक ‘ए’की सीता सार्की, ५२ केजीमुनि आयोजक ‘बी’ विनिता सुनार, ५७ केजीमुनि पाम ‘ए’की मनिता प्रधान श्रेष्ठ तथा ५७ केजीमाथि मेन डोजो ‘ए’की पुनम श्रेष्ठले पहिलो स्थान हात पारेका थिए । दुईदिने प्रतियोगितामा एक सय ६७ खेलाडीले १८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

एक प्रतिशत बजेट आवश्यक ः मन्त्री पौडेल
नवनियुक्त युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले खेलकुदको विकासका लागि राज्यको कुल बजेटमध्ये एक प्रतिशत बजेट छुट्याउनुपर्ने बताएका छन् । राखेपद्वारा आयोजित स्वागत कार्यक्रममा मन्त्री पौडेलले भने, ‘अहिले वामे सरेको अवस्थामा रहेको खेलकुदलाई उठ्न, हिँड्न र कुद्ने बनाउन राज्यको कुल बजेटमध्ये एक प्रतिशत (करिब ५ अर्ब) बजेट चाहिन्छ ।’ दक्षिण एसियामा नेपाललाई उत्कृष्ट बनाउन पूर्वाधार, प्रशिक्षण र खेलाडीको संरक्षण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि खेलकुदलाई राज्यको एजेन्डा बनाउनुपर्ने बताए । उनले खेलकुदको विकासका लागि राम्रा, सकारात्मक र खेलाडीको पक्षमा ध्यान दिई आफ्नो गतिविधि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै नराम्रा कुरालाई सफा गर्दै जाने बताए । उनले विभिन्न दलले आफ्नो घोषणापत्रमा खेलकुदलाई समावेश गर्नु खेलकुदको विकास पक्षमा सहयोग हुने बताए । त्यस्तै मन्त्री पौडेलले खेलकुदका पूर्वाधारको संरक्षण गर्न जरुरी भएको बताउँदै विभिन्न क्षेत्रमा खेलाडीलाई कसरी सुविधा दिन सकिन्छ त्यसतर्फ पनि ध्यान दिन आवश्यक भएको बताए । उनले विभिन्न जाति, भाषा, लिङ्ग, क्षेत्र, गरिब, धनी आदि भनेर नछुट्याउने माध्यम खेलकुद भएको बताउँदै सबै खेलाडीको वर्गीकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।
राखेप सदस्यसचिव युवराज लामाले आफ्नो कार्यकालमा पार्टीको आस्थाका आधारमा कसैप्रति पूर्वाग्रही नभएको भन्दै विभिन्न सङ्घमा पनि आफ्नो मान्छे राख्नुप-यो भनी कसैलाई दबाब नदिएको बताए । ‘म माओवादीको तर्फबाट परिषद्मा आए पनि अन्य पार्टीमा आस्था राख्ने कसैलाई पनि पेल्ने काम गरिनँ । कर्मचारी, सङ्घका पदाधिकारीको हकमा त्यही लागू हुन्छ । सङ्घमा पनि माओवादीको मान्छे हाल्नु भन्ने दबाब दिएनौँ,’ उनले भने, ‘खेलाडी कुनै पार्टीविशेषको हँुदैन । केवल राष्ट्रका हुन्छन् । हामीले खेलकुदको स्पिरिटबाहेक केही हेरेनौँ ।’ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले खेलकुद बुझेकै व्यक्ति मन्त्रीमा नियुक्त हुनु खेलाडीका लागि खुसीको कुरा भएको बताउँदै राम्रो काममा खेलाडी सङ्घले सदैव साथ दिने प्रतिबद्धता जनाए । उनले खेलाडीको प्रशिक्षण, सुविधा र भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बताउँदै मन्त्री पौडेलको कार्यकालमा खेलकुदमा नयाँ अध्याय थपिने विश्वास व्यक्त गरे । राखेप कर्मचारी सङ्घका महासचिव फणीन्द्र पौडेलले अहिलेको परिषद् बोर्डले खेलकुद र खेलाडीको हितमा राम्रो काम गरेकाले नेपाल सरकारमा पनि खेलकुदप्रति विश्वास बढ्दै गएको बताए ।

एसियाली आईटीएफ वैशाखमा
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा सातौँ एसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिप वैशाख ५ गतेदेखि राजधानीमा हुने भएको छ । प्रतियोगितामा विभिन्न चार विधामा २० राष्ट्रका तीन सय खेलाडीको सहभागिता रहन प्रतियोगिता संयोजक अञ्जुनाथ श्रेष्ठले जानकारी गराएका छन् । हालसम्म नेपालसहित १३ राष्ट्रको सहभागिता निश्चित भएको उक्त अवसरमा जानकारी दिइएको थियो । स्पाइरिङ, प्याट्रन, सेल्फ डिफेन्स र स्पेसल टेक्निकमा प्रतिस्पर्धा हुनेछ । ६० स्वर्ण, ६० रजत र एक् सय २० कास्यका लागि वैशाख १० गतेसम्म प्रतिस्पर्धा हुनेछ । स्पाइरिङतर्फ २५ नेपाली खेलाडीको छनोट पूरा भइसकेको छ । प्रतियोगिता सञ्चालन गर्न करिब ४५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

सुसन र सुजनालाई बुद्धिचाल उपाधि
आयोजक ग्रिनल्यान्ड आवासीय माविका द्वय सुसन गौतम र सुजना लोहनीले दोस्रो मनोहर स्रोत केन्द्रस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । सुसन छात्र र सुजना छात्रामा च्याम्पियन बनेका थिए । प्रतिस्पर्धामा सुसन र विवेकले समान ४.५ अङ्क जोडे पनि प्रोग्रेसिभ अङ्कका आधारमा विवेकले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । सुसनको प्रोग्रेसिभ अङ्क १४.५ र विकेशको प्रोग्रेसिभ अङ्क १४ रहेको थियो । समान चारै अङ्क जोडेका तीन प्रतिद्वन्द्वीलाई प्रोग्रेसिभ अङ्कमा उछिन्दै विराज पुडासैनी तेस्रो भएका थिए । विराजको प्रोग्रेसिभ अङ्क १३.५ थियो । छात्रामा च्याम्पियन बनेकी सुजनाले स्पष्ट अग्रता बनाउने क्रममा पाँच अङ्क बटुलेकी थिइन् । समान चार–चार अङ्क बनाए पनि प्रोग्रेसिभ अङ्कका आधारमा पायोनियरकी अनिशा न्यौपाने दोस्रो र पायोनियरकै आभा पुडासैनी तेस्रो भए । अनिशाको प्रोग्रेसिभ अङ्क १४ र आभाको प्रोग्रेसिभ अङ्क १३ थियो । छात्र र छात्रा दुवै समूहमा पहिलो र दोस्रो हुने आगामी अप्रिल १५ देखि १९ तारिखसम्म बंगलादेशको ढाकामा हुने अन्तर्राष्ट्रिय अन्तरविद्यालय बुद्धिचालका लागि छनोट भएको आयोजकले जनाएको छ । विजेतालाई नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशी, ग्रिनल्यान्डका प्रिन्सिपल एवम् काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष थकिनकुमार गुरुङलगायतले पुरस्कृत गरेका थिए ।

न्यु डाइमन्डलाई उपाधि
महाशिवरात्रिको उपलक्ष्यमा जलजले क्लबको आयोजनामा महाशिवरात्रि पर्व महिला तथा पुरुष फुटबल र भलिबल प्रतियोगिताअन्तर्गत महिला भलिबलको उपाधि न्यु डाइमन्ड एकेडेमीले जितेको छ । उपाधि जित्ने क्रममा न्यु डाइमन्डले फाइनल खेलमा संखुवासभालाई २५–११ र २५–१२ र २५–३ ले पराजित
गरेको थियो । सहभागी चार टोलीबीचको राउन्डरोबिन खेलको आधारमा प्रतिस्पर्धा भएको थियो । उपाधि विजेता न्यु डाइमन्डलाई प्रमुख अतिथि नन्दकुमार फागो चोङबाङले नगद २५ हजारसहित पुरस्कार प्रदान गरेका थिए ।