दुई महिनामा एक खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन

दुई महिनामा एक खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन


अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको दुई महिनामा अर्थतन्त्रको आर्थिक सूचकांक सकारात्मक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज (मंगलबार) अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले साउन र भदौ महिनामा एक खर्ब २० अर्ब रुपैयाँ राजस्व जम्मा भएको तथा चालू खर्च रु. ९६ अर्ब र पुँजीगत खर्च रु. ६ खर्ब भइसकेको बताए ।

उनका अनुसार गत वर्षको सोही अवधिभन्दा यस वर्ष ३७ प्रतिशतले राजस्व संकलनमा वृद्धि भए पनि पुँजीगत खर्च भने सन्तोषजनक हुन सकेको छैन । मन्त्री खतिवडाले तरलताको अवस्था (लगानीयोग्य रकम) को अभाव नरहेको, पुँजी बजारमा सुधार आइरहेको करको दायरा बढ्दै गएको, कर्जाको ब्याजदरमा सुधार देखिएको जानकारी दिनुभयो ।

मन्त्री खतिवडाले राजस्व र आम्दानीको खर्च प्रणालीलाई पारदर्शी बनाउन विद्युतीय (इ) सेवा सञ्चालनमा आएको, उखु किसानलाई मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गरिएको, सार्वजनिक नीति लगानीसम्बन्धी विधेयक पेस हुने तयारीमा रहेको जानकारी दिए ।