झापामा एक अर्ब लगानीमा चाउचाउ उद्योग स्थापना

झापामा एक अर्ब लगानीमा चाउचाउ उद्योग स्थापना


झापामा एक अर्ब रुपैयाँको लागतमा चाउचाउ उद्योग सञ्चालनमा आएको छ । झापाको मेचीनगर–१४ स्थित दुवागढीमा एक अर्ब रुपैयाँको लगानीमा मनषा थाई फुड्स प्रालि सञ्चालनमा आएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा उद्योग सञ्चालक अजय अग्रवालले झापामा औद्योगिक क्षेत्रको विकास गर्ने उद्देश्यले चाउचाउ उद्योग सञ्चालनमा ल्याएका बताए । ‘सरकारले एक घर एक रोजगारीको अवधारणा ल्याएको छ, रोजगारी सिर्जनाका लागि पनि उद्योग स्थापना गरेका छौँ,’ सञ्चालक अग्रवालले भने । उद्योग पूर्ण क्षमतामा सञ्चालन आएपछि करिब तीन सयजनाले रोजगारी पाउने सो अवसरमा उनले बताए ।

उद्योगमा पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल र अजय अग्रवालले संयुक्त लगानी गरेका छन् । मनषा थाई फुड्स मेची अञ्चलमै पहिलो तयारी चाउचाउ उद्योग रहेको सञ्चालक पर्शुराम अग्रवालले जानकारी दिए ।

पहिलो चरणमा उद्योगबाट उत्पादित चाउचाउ नेपालका सातै प्रदेश र भारतीय बजारमा निर्यात गर्ने लक्ष्य रहेको जनाइएको छ । सञ्चालक ओमप्रकाश अग्रवालले भने, ‘निकट भविष्यमै अमेरिका र अस्ट्रेलियासमेत निर्यात गर्ने योजना रहेको छ ।’

उद्योगमा हालसम्मकै अत्याधुनिक प्रविधि र मेसिनको प्रयोग गरेर चाउचाउ उत्पादन शुरु गरिएको सञ्चालक गणेश प्याकुरेल बताउँछन् । ‘क्षमताको हिसाबले हाम्रो उद्योग नेपालमै पहिलो हो,’ सञ्चालक प्याकुरेलले भने । उद्योगबाट दैनिक साढे सात लाख प्याकेट तयारी चाउचाउ उत्पादन गर्न सकिने सो अवसरमा जानकारी दिएयो ।

पूर्ण प्रशोधित तरिकाले चाउचाउ उत्पादन गर्ने भएकाले एक प्याकेट चाउचाउ उत्पादन गर्न २० मिनेट लाग्नेछ । ‘अब हरघर मग्मगाउँछ’ भन्ने मूल नाराका साथ कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई उद्योगले ‘ब्रान्ड एम्बेसेडर’ का रूपमा नियुक्त गरेको छ ।

उद्योगबाट मग मग, प्यारी, रेलिमाई, गट्टुबट्टु ब्रान्डका चाउचाउ र चिजबल, चिजरिङ, कुटुकुटु, पोटेटो क्याकर, कर्न फ्लेक्स, चोकोसलगायतका स्न्याक्स उत्पादन हुनेछन् ।