मेचीनगरमा सार्वजनिक जग्गामा होटेल बनाएकोमा आपत्ति

मेचीनगरमा सार्वजनिक जग्गामा होटेल बनाएकोमा आपत्ति


मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटेलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ ।

नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मंगलबार पार्टीको प्रतिनिधिमण्डलले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै सो जग्गामा होटेलको निर्माण तत्काल रोक्न माग गरेको छ ।

एक दशक अघिसम्म नेपाल चिया विकास निगमको प्रधान कार्यालय रहेको चार हजार १५७ वर्गमिटर क्षेत्रफल भएको सो जग्गा निगमले ऋण बुझाउन नसकेपछि कृषि विकास बैंकले काठमाडौंका सुभाषराज काफ्लेलाई गत वर्ष बिक्री गरेको थियो ।

काफ्लेले किनेपछि सो जग्गालाई प्लटिङ गरी घडेरी बिक्री गर्ने योजनाअनुसार मेचीनगर नगरपालिकाबाट कित्ताकाटको सिफारिस लिँदा सार्वजनिक प्रयोजनका लागि पाँच कट्ठा १८ धुर जग्गा खाली छाड्ने सहमति भएको थियो । तर, जग्गाधनी काफ्लेले हालै सो खाली छाडिएको जग्गामा साततले होटेल निर्माण गर्ने भनी मेचीनगर नगरपालिकाबाटै निर्माणको अर्को सिफारिस लिएपछि सार्वजनिक जग्गा मास्ने षड्यन्त्रविरुद्ध उत्रिनुपरेको नेकपा मेचीनगरका नेता माधव अर्यालले बताए ।

सार्वजनिक प्रयोजनका लागि भनी एकपटक कित्ताकाट भई नक्सासमेत बनिसकेको जग्गामा शुरु गरिएको होटेल निर्माण रोक्न नगरपालिकाले अविलम्ब पहल गर्नुपर्ने ज्ञापनपत्रमा जोडदार माग गरिएको छ । पार्टीले बुझाएको ज्ञापनपत्र उपप्रमुख मीना उप्रेतीले ग्रहण गर्दै यस विषयमा नगरका प्रमुख विमल आचार्यले नै जवाफ दिनुपर्ने प्रतिक्रिया दिए ।

नगरपालिकाले सार्वजनिक हितका लागि छुट्याइएको जग्गामा किन होटेल निर्माणका लागि सिफारिस ग¥यो भनी प्रश्न गर्दा नगर प्रमुख विमल आचार्यले नगरपालिकाले होटेल निर्माणका लागि स्वीकृति नदिएको बताए ।