बिर्तामोड–भद्रपुर सडकखण्ड चार लेनको बन्दै

बिर्तामोड–भद्रपुर सडकखण्ड चार लेनको बन्दै


झापामा पहिलोपटक बिर्तामोड–भद्रपुर सडकखण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र बिर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर लामो सो सडकलाई कालोपत्र गर्दै स्तरोन्नति गर्ने काम शुरु भएको हो ।

२७ करोड रुपैयाँको लागतमा उक्त सडकको स्तरोन्नति २७६ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी आशिष प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले ठेक्का लिएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलले जानकारी दिए । अस्तव्यस्त हुँदै गएको बिर्तामोडदेखि सदरमुकाम भद्रपुर जोड्ने मुख्य मार्गको स्तरोन्नतिको काम शुरु भएसँगै अब विकासका कामले गति लिन थालेको बिर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार सिवाकोटीले बताए ।

बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत २ दशमलव ८ किलोमिटर सडक चार लेनको बनाइने र बाँकीलाई दुई लेनअन्तर्गत फराकिलो बनाइने इन्जिनियर पौडेलले बताए । ठेकेदार गुप्ताले तोकिएको समयमा काम सम्पन्न गर्ने उल्लेख गरे ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्मको सडकखण्ड भत्किएको वर्षौँ बिते पनि बन्न सकेको छैन । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा तीन वर्षअघि नै उक्त सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो । ठेकेदार कम्पनी ‘थोदुङ–लोहनी–सिंह एन्ड ब्रदर्श जेभी’ले सम्झौताबमोजिम काम नगरेपछि सडक निर्माण ओझेलमा परेको थियो ।