स्तनक्यान्सरबाट बचाउँछ गाजरले -नविन उप्रेती

स्तनक्यान्सरबाट बचाउँछ गाजरले -नविन उप्रेती


कुनै महिलालाई स्तनक्यान्सर सुरु हुन लागेको छ भने त्यो चरणमा गाजर र सखरखण्ड अत्यन्त प्रभावकारी उपचार सावित हुन सक्छ- वैज्ञानिकहरूले हालैको एक अनुसन्धानपछि दाबी गरेका छन् । गाजर र सखरखण्डमा पाइने अम्ल (रेटिनाइक एसिड) ले महिलामा हुने स्तनक्यान्सरको कारक कोशिकाहरूमा प्रारम्भिक चरणमा आउने परिवर्तनलाई रोक्ने काम गर्ने र क्यान्सर हुनुबाट बचाउने अनुसन्धानकर्ताहरूको कथन छ । भिटामिन ‘ए’बाट निस्कने उक्त अम्ल कोशिकाहरूको विकास, प्रसारण र जीवनलाई प्रभावित तुल्याउने रसायन छालालाई पुनर्ताजगी प्रदान गर्ने या फेरि युवा बनाउनेमा काम आउँछ । छालाको चाउरी मेटाउने ‘एन्टी रिङ्कल क्रिम’को निर्माणमा पनि सोही रसायन प्रयोग गरिन्छ ।

मुनरोको चिट्ठीको यत्रो भाउ !
विश्वविख्यात सुन्दरी अभिनेत्री मर्लिन मुनरो सन् १९४२ मा जम्मा १६ वर्षकी थिइन् । त्यही उमेरमा एक पुलिसकर्मीसँग विवाहबन्धनमा बाँधिन पुगेकी मार्लिनले आफूलाई पालनपोषण गर्ने महिला ग्रेस गेर्डार्डलाई ‘आमा’ सम्बोधन गरेर पेन्सिलले एउटा पत्र लेखेकी थिइन् । मर्लिनको सो चिट्ठी हालै ३७ लाख रुपैयाँ अर्थात् ५२ हजार ४ सय साठी डलरमा लिलाम भएको छ । लसएन्जलसस्थित लिलामीघरहरूले २५ हजार डलरसम्ममा बिक्री हुनसक्ने अनुमान गरे पनि दोब्बरभन्दा बढी रकममा बिकेको सो चिट्ठीमा मुनरोले विवाहपछि आफू घरेलु काममा व्यस्त रहेको र यसैमा आफूलाई आनन्द लागेकोलगायतका व्यहोरा खुलाएकी थिइन् । नोरमा जेन मोटेन्सन नामक महिलाकी छोरी मुनरोले २० वर्षकै उमेरमा अर्का पुरुष र त्यसको केही वर्षपछि लेखक आर्थर मिलरसँग विवाह गरेकी थिइन् । अमेरिकाका लोकप्रिय राष्ट्रपति जोन अफ केनेडीसँग समेत नाम जोडिएकी मुनरोको अल्पायुमै निधन भएको थियो ।

प्यारासिटामोलसँग होसियार !
तपाईंका बच्चा ५ महिनाभन्दा कम उमेरका छन् र तिनलाई जथाभावी मात्रामा प्यारासिटामोल खुवाउने गर्नुभएको छ भने होसियार । प्यारासिटामोल तथा प्यारासिटामोलयुक्त अन्य औषधिहरूको सेवन गरिरहने बच्चामा दमको रोग हुने खतरा सामान्य अवस्थाका केटाकेटीमाभन्दा दुई गुण बढ्ता हुने एक अनुसन्धानले देखाएको छ । त्यस्ता बच्चालाई बढ्दो उमेरसँगै एलर्जीको खतरा पनि केही गुणा ज्यादा हुने बताइएको छ । शोधकर्ताहरू यो निष्कर्षमा पुगेका छन् कि सामान्य ज्वरो आउनेबित्तिकै पनि बच्चालाई त्यसबाट राहत दिन प्यारासिटामोल खुवाइहाल्ने प्रवृत्ति अत्यधिक बढेको छ, त्यसैको परिणातिस्वरूप ६ वर्षको उमेर पुग्दानपुग्दै बच्चामा श्वास फुल्नेजस्तो दमका लक्षण अत्यधिक पाइएको छ । बेलिङ्टनको ओटागो विश्वविद्यालयका शोधकर्ताहरूले न्युजिल्यान्डको क्राइष्ट चर्चका १५ सय दमपीडित बच्चालाई सामेल गरी अनुसन्धान गरेका थिए, जसमा ९५ प्रतिशत बच्चालाई प्यारासिटामोल खुवाइने गरिएको थियो ।

कारको ह्यान्डिल पनि फोहोरको घर
कारमा सवार गर्नेहरूले साधारणतया कल्पना नै नगरेको विषयमा समेत सचेत हुनुपर्ने देखिएको छ । बेलायतका अनुसन्धानकर्ताहरूको भनाइमा विश्वस्त गर्ने हो भने कारचालकहरूले सावधानी अपनाउनैपर्ने हुन्छ । अध्ययनकर्ताहरूका अनुसार कारको ह्यान्डिल सार्वजनिक शौचालयको सिटभन्दा नौगुण ज्यादा प्रदूषित हुन्छ । क्विन मेरी विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार शौचालयको सिटको एक इञ्च क्षेत्रफलमा ८० किटाणु रहेका हुन्छन् भने कारको ह्यान्डिललगायतका भित्री भागमा त्यति नै क्षेत्रफलमा किटाणुको सङ्ख्या लगभग ७ सय हुन्छ । तर्सथ कारको उपयोगपछि सरसफाइमा विशेष ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।