अन्तरविचारहरु

अन्तरविचारहरु


antarbicharकाङ्ग्रेसको जड मधेसमै छ– रामचन्द्र पौडेल (उपसभापति, नेपाली काङ्ग्रेस)
० तपाईं मेची–महाकाली अभियानको तयारी गर्दै हुनुहुन्छ, कस्तो अभियान हो यो ?
– मतदाता एवम् आमजनताले नेपाली काङ्ग्रेसलाई पहिलो दल बनाइदिएका छन्, त्यसका लागि जनता र पार्टीका सदस्य एवम् कार्यकर्तालाई उनका घर–आँगनमा पुगेरै कृतज्ञता व्यक्त गर्नु आवश्यक छ । यसरी जनताका घरआँगनमा पुगेको बेला जनताका आवश्यकता वा सुख–दु:ख बुझ्ने अवसर पनि हासिल हुन्छ । अब अगाडिका दिनमा हामी कसरी जान्छौँ, हाम्रा घोषणापत्रमा उल्लेख भएका प्रतिबद्धताहरूलाई कसरी साकार रूप दिन्छौँ भन्नेबारे जनतासँग प्रत्यक्ष अन्तरक्रिया गरेर सुझाव लिने–दिने गर्न पनि यो अभियानले प्रसस्तै सघाउनेछ । पहिलो र दोस्रो चरणमा हामी मूलत: मधेसका जिल्लामा केन्द्रित हुँदै छौँ । विशेषगरी मधेसी जनताका सवाल र जनजातिका मुद्दामा नेपालमा चर्को बहस भइरहेको छ । यसबारे काङ्ग्रेसको दृष्टिकोण आमतप्कामा लगेर प्रस्ट्याउनु आवश्यक छ, जुन मेची–महाकाली अभियानले मद्दत पु-याउनेछ । नेपाली काङ्ग्रेस, मधेस र लोकतन्त्र यी तीन तत्व एक–अर्कासँग गाँसिँदै आएको, पर्यायवाचीजस्तै बन्दै आएको सन्दर्भलाई अविच्छिन्न तुल्याउन पनि यस्तो अभियान आवश्यक छ भन्ने हामीलाई लागेको छ । नेपालका जनजातिसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन पनि यो अभियान आवश्यक परेको छ । यति मात्र नभई आगामी स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका स्थानीय तहका कार्यकर्तालाई त्यसका निम्ति तयार पार्नु पनि यस अभियानको उद्देश्य हो ।
० तपाईंले मधेसलाई विशेष फोकस गर्ने कुरा गर्नुभयो, के मधेससँग काङ्ग्रेसको सम्बन्ध बिग्रेको ठहरमा पुगेको हो तपाईंहरू ?
– काङ्ग्रेसको जरा नै मधेसमा छ । मधेसबाटै काङ्ग्रेसले आफ्नो आन्दोलन सुरु गरेको थियो । मधेसबाट प्रजातन्त्रको आन्दोलन र क्रान्तिलाई ठूलो तागत या ऊर्जा प्राप्त भएको हो । त्यसैले अहिले पनि मधेस काङ्ग्रेसका लागि एक महत्वपूर्ण आधारका रूपमा रहेको छ । तथापि, यदाकदा काङ्ग्रेस र मधेसबीच अनेकखाले मामलामा असमझदारी भएजस्तो अवस्था पैदा हुने वा पैदा गराइने प्रवृत्ति देखिँदै आएको छ । तर, अब त्यस्तो कुनै गलतफहमी रहनुपर्ने आवश्यकता नै छैन भन्ने बुझ्नु र बुझाउनु आवश्यक छ । मधेसमा एकसेएक नेताहरू छन्, जुझारू कार्यकर्ताहरू छन्, उनीहरूले त्यहाँका जनताको सेवा गरिरहेका छन् । यो यथार्थ पाटोलाई बुझाउनुपर्ने देखिएको छ । मधेसी जनताको स्वाभिमान, संस्कृति, स्वपहिचान र विकास–उन्नतिमा काङ्ग्रेसको योगदान रहँदै आएको बुझाउनुपरेको छ ।
० सङ्घीयताको कोणबाट काङ्ग्रेसले मधेसलाई हेर्ने दृष्टिकोणचाहिँ के हो नि ?
– नेपाली काङ्ग्रेस नै मधेसी जनता र सङ्घीयताको सच्चा पक्षधर हो भन्ने जान्दाजान्दै पनि यहाँ मधेसी तथा आमजनतालाई दिग्भ्रमित तुल्याउने प्रयास हुँदै आएको छ । यहाँ सङ्घीयता दिलाउने नाममा केही पार्टीहरू खुले, तर सङ्घीयता भन्ने कुरा अप्रजातान्त्रिक वातावरणमा कहीँ पनि सम्भव छैन । लोकतन्त्रको पूर्णतामा सङ्घीयता साकार हुन्छ । अधिनायकवादी मुलुकमा कहीँ पनि सङ्घीयता नभएको कारण पनि त्यही हो । बहुलवादमा विश्वास नगर्नेहरू सङ्घीयताका पक्षधर हुनै सक्दैनन् । तर, यहाँ लोकतन्त्रविपरीतको सिद्धान्त लिनेहरूले समेत सङ्घीयताको चर्को नारा लगाएर जनतामा भ्रम छर्न खोजेका छन्, यसबारे पनि जनतालाई सजग गराउनैपर्ने भएको छ । काङ्ग्रेसले अवलम्बन गरेको बहुदलीय प्रजातन्त्र वास्तवमा सङ्घीयताको निम्ति अत्यन्त उपयुक्त र उर्वर रहन्छ । आगामी चैत ७ देखि सुरु हुने मेची–महाकाली अभियानले यी कुराहरू पनि जनतामाझ प्रस्ट पार्ने छ ।
० मधेसवादी दलहरू एक मधेस प्रदेशको कुरा गरिरहेका छन्, यसको समाधानचाहिँ कसरी खोज्नुहुन्छ नि तपाईंहरू ?
– कतिपय मधेसवादी नेताहरूसँग कुरा गर्दा मेरो मनमा प्रश्न उठ्छ कि सङ्घीयताको मर्म उहाँहरूले कति पक्रिन सक्नुभएको छ ? किनकि, लोकतन्त्र–सोकतन्त्रभन्दा पनि हामीलाई सङ्घीयता चाहिएको छ भन्ने कुरा उहाँहरू गर्नुहुन्छ । लोकतन्त्रको अभावमा मधेसी जनताको उत्थान, सम्मान कसरी सुरक्षित हुन्छ, मधेसको पहिचान कसरी स्थापित हुन्छ ? हुनै सक्दैन । लोकतन्त्रमा मात्रै मधेसले आफ्नो पहिचान, अधिकार, सम्मानका मुद्दामा मुखरित हुने अवसर पाएका छन् । यो बुझाएपछि सायद एकोहोरो रूपमा उठाइएका वा उठ्ने गरेका त्यस्ता छिटफुट मुद्दामा मधेसवादी दलहरूले पनि धारणा बदल्नेछन् । त्यसो त एक मधेस प्रदेश भन्ने नारामा मधेसका पार्टी वा नेताहरूले पहिलेझैँ कट्टरता प्रदर्शन गरेको मैले पाएको छैन ।
० काङ्ग्रेसलाई त अलोकतान्त्रिक र मधेसविरोधी दलको संज्ञा दिन्छन् नि मधेसी नेताहरूले, किन होला ?
– मधेसमा मजबुत जनाधार भएको काङ्ग्रेसजस्तो पार्टीलाई कमजोर पार्न पाए आफ्नो दुनो सोझिन्थ्यो कि भन्ने गलत चिन्तन बोकेका छिटफुट नेताले त्यस्तो भने होलान् । काङ्ग्रेसको जरोकिलो उखेल्न पाए आफू बलियो भइन्थ्यो कि भनी ठान्नेहरूले काङ्ग्रेसजस्तो लोकतन्त्रको सच्चा हिमायती दललाई कमजोर बनाउँदा उल्टै आफूलाई घाटा हुन्छ भन्ने बुझ्न नसकेका मात्रै हुन् । माओवादीलाई सङ्घीयतावादी भनी विश्वास गरेर उससँगै सुरमा सुर मिलाउने अनि काङ्ग्रेसको विरोध गर्ने केही मधेसवादी दल वा नेताहरूले के बुझ्नु आवश्यक छ भने नेपालमा सङ्घीयता हुन नदिने अनर्थकारी कुराको जड नै यही हो । हामी यो प्रस्ट्याउन चाहन्छौँ कि सबै नेपालीलाई अधिकारसम्पन्न तुल्याएर राष्ट्रको मालिक बनाउन काङ्ग्रेस कटिबद्ध छ । मेची–महाकाली अभियानको खाँचो यसकारण पनि परेको छ ।
० यो अभियान संविधानलेखन कार्य र स्थानीय निकायको निर्वाचनको पक्षमा कति प्रभावकारी हुन सक्ला नि ?
– प्रकारान्तरले मूलत: यिनै उद्देश्यपूर्तिका लागि नै त हो यो अभियान । यो अभियान प्रभावकारी हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
० स्थानीय निकायको निर्वाचन कहिलेसम्ममा गराउने तपाईंहरूको सोच हो नि ?
– आगामी जेठभित्रै गराउनुपर्छ भन्ने सोचका साथ हामी आफ्नोतर्फबाट पहल गरिरहेका छौँ, सरकारलाई पनि यसैअनुरूप घचघच्याइरहेका छौँ । चैतभरमा मेची–महाकाली अभियान सम्पन्न गरेर हामी आमकाङ्ग्रेस कार्यकर्ता, शुभचिन्तक, मतदाता र समस्त नेपाली जनतालाई जेठमा चुनाव गर्ने वातावरण पैदा गर्दै त्यसका लागि तयार रहन अपिल पनि गर्दै छौँ । देशका सबै गाविसका सबै वडासम्म यो अभियान लैजाने हाम्रो सोच र प्रयास रहनेछ ।
० संविधान बन्नु कहिले–कहिले तर प्रमाणीकरण र जारी कसले गर्ने भनी प्रमुख दलहरूबीच विवाद किन चलेको होला ?
– पार्टीहरूबीच आ–आफ्ना धारणालाई लिएर कहिलेकाहीँ मतमतान्तर, छलफल र विवाद हुनु अनौठो कुरा होइन । यसको समाधान निस्कन्छ । यसलाई ठूलो रूपमा प्रस्तुत गर्न खोज्दा कसैको पनि हित हुँदैन । गणतन्त्रमा गएका छौँ हामी, र यस व्यवस्थाको सर्वोच्च प्रतीक राष्ट्रपति नै हुने हुनाले त्यो ओहोदाको मर्यादा र सम्मान हामीले राख्न सक्नुपर्छ । यस कोणबाट विचार–मन्थन भएपछि छलफलले एउटा निचोड निकालिहाल्छ । गणतन्त्रलाई सम्पूर्णता दिनका लागि हाम्रा क्रियाकलाप उन्मुख हुनुपर्छ ।
० अन्त्यमा, मेची–महाकाली अभियान तपाईंले आफूलाई पार्टीमा विशेष तवरले स्थापित गर्नका लागि चाल्न लागेको कदम भनेर कसैले टिप्पणी गरिदियो भने के भन्नुहुन्छ ?
– त्यसरी आरोप लगाउनुको कुनै तुक हुँदैन । कुनै व्यक्तिगत मुद्दा लिएर अभियान सुरु गर्न लागिएको होइन र त्यसो गर्नुपर्ने कुनै आवश्यकता पनि छैन । पार्टीको समग्र सोच, योजना र धारणालाई जनतामाझ लैजाने, संविधान निर्माण र स्थानीय चुनावको माहोल थप सुदृढ तुल्याउने, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताका बारेमा काङ्ग्रेसमाथि गरिएका प्रहारलाई निस्तेज तुल्याउनेलगायतका उद्देश्यले मेची–महाकाली अभियान सञ्चालन गर्न लागिएको पुन: म प्रस्ट्याउन चाहन्छु ।

निर्वाचनमा गरिएका प्रतिबद्धता भुल्नुहुन्न– भरतलाल न्याछ्यों
भरतलाल न्याछ्यों, ललितपुर उपमहानगर समिति नेपाली काङ्गे्रसका सभापति हुनुहुन्छ । ०३६ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएका भरतलालले साढे तीन दशक लामो राजनीतिक यात्रामा विभिन्न जिम्मेवारी पूरा गर्नुभएको छ । शैक्षिक र सामाजिक सेवाको क्षेत्रमा समेत सक्रिय उहाँलाई ललितपुर उपमहानगरपालिकाको भावी मेयरको रूपमा लिन थालिएको छ । न्याछ्याेंलाई ललितपुरका समस्या के हुन् भनी सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘ललितपुर नगर क्षेत्रलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा भाग पुरानो बस्ती रहेको ऐतिहासिक नगर र अर्को चक्रपथ आसपासको क्षेत्र । ऐतिहासिक नगरमा संस्कृति–सम्पदाको संरक्षण, व्यवस्थापन र प्रवद्ध्र्रनको समस्या रहेको छ भने चक्रपथ आसपास विकसित हुँदै गएको क्षेत्रमा सडक, ढल, सुरक्षा, फोहोर व्यवस्थापन रहेका छन् । साथै खानेपानी आपूर्ति, ढल व्यवस्थापन, सुरक्षा दुवै क्षेत्रमा त्यत्तिकै समस्याका रूपमा रहेका छन् ।
० नेपालकै नमुना सहर ललितपुरलाई बनाउन के गर्नुपर्ला ?
– ललितपुर नेपालको प्रबुद्ध नागरिकहरू बसोबास गर्ने ऐतिहासिक नगर हो । ललितपुरलाई नेपालकै नमुना सहरको रूपमा विकास गर्न दीर्घकालीन र अल्पकालीन योजनाहरू बनाएर सांस्कृतिक, ऐतिहासिक सम्पदाको संरक्षण, आधारभूत स्वास्थ्य र शिक्षा सुविधा प्रदान गर्ने, सुरक्षित सहरको रूपमा स्थापना गर्ने र भौतिक सुविधाहरू खानेपानी, ढल, फोहोर व्यवस्थापन एवम् सडकको व्यवस्थापनका साथै सडकबत्तीको उचित व्यवस्था र अहिले देखिएका सहरी गरिबको ७.६ प्रतिशतलाई अझ न्यून बनाउनुपर्छ ।
० ललितपुरका तीन क्षेत्रमा काङ्गे्रसले जितेको छ, यसलाई कायम राख्न सकिएला ? अर्थात् ललितपुरलाई काङ्गे्रसको प्रभाव क्षेत्रको रूपमा कायम राख्न के गर्नुपर्ला ?
– संविधानसभा निर्वाचनमा ललितपुरको तीनै क्षेत्रमा विजयी भएको सन्दर्भमा नेपाली काङ्गे्रसको घोषणापत्रमा व्यक्त प्रतिबद्धताअनुसार एक वर्षमा संविधान निर्माण, ६ महिनामा स्थानीय निर्वाचनका साथै लोडसेडिङलाई न्यून गर्न आवश्यक पहल गर्नाका साथै सभासद्हरूले निर्वाचन प्रचार–प्रसारका क्रममा वचनअनुसार जनताका आधारभूत समस्यालाई समाधान गर्दै अन्य वचनहरू पूरा गर्ने एवम् नगरवासीको प्रत्यक्ष सम्पर्कमा रहने, स्थानीय निकायमा पनि नेपाली काङ्गे्रसका उम्मेदवारहरूलाई विजयी बनाउन पार्टी एकताबद्ध भई लाग्नुपर्छ । स्थानीय निकायलाई नगरका सबै जनताको सेवा गर्ने एकाइको रूपमा विकास गर्नुपर्दछ ।
० नेपाली राजनीतिमा कम्युनिस्टहरूको प्रभाव बढिसकेपछि नेपालको राजनीतिक र आर्थिक क्षेत्रमा परेको प्रभावबारे तपार्इंको धारणा के छ ?
– नेपाली राजनीतिमा कम्युनिस्टहरूको प्रभाव बढेको प्रमुख कारण भनेको नेपाली काङ्गे्रसले आफ्नो आन्तरिक व्यवस्थापन गर्न नसक्नु नै हो । राष्ट्रियता, लोकतन्त्र एवम् समाजवाद आदर्श रहेको नेपाली काङ्गे्रस पार्टीभित्रको गुटगत राजनीतिलाई न्यून गर्दै कार्यकर्ताको मूल्याङ्कन परिपाटीको सुरुवातका साथै छलफल, प्रशिक्षण, अन्तरक्रियालाई बढाउँदै लगिएमा कम्युनिस्टहरू हिंसात्मक, डेटएक्सपायर भएको र छलछामको राजनीतिले गर्दा विकास निर्माणका कार्यहरूमा परेको नकारात्मक असर कमी भई मुलुकको विकास हुनेछ ।
० जातीय र क्षेत्रीय मुक्तिका कुरालाई कसरी व्याख्या–विश्लेषण गर्नुहुन्छ ?
– नेपाल विभिन्न भाषा, जाति, संस्कृति तथा सामाजिक विविधताले परिपूर्ण मुलुक हो । यो नेपालको विशेषता पनि हो पुँजी पनि हो । यसलाई भाषा, जाति, संस्कृतिका आधारमा कुण्ठित गरिनुहुँदैन । यसको सम्मान, पहिचान र हक–अधिकारका साथै सम्बद्र्धनका लागि संवैधानिक व्यवस्था गरिनुपर्छ । नेपालको सामाजिक न्यायसहितको आर्थिक विकासका लागि सीमान्तकृत वर्ग, आदिवासी, दलित, महिला आदिलाई अधिकारसम्पन्न बनाउने अहिलेको आवश्यकता हो र क्षेत्रीय, भाषिक, सांस्कृतिक, राजनीतिक अधिकार सङ्घीयताबाट प्राप्त हुनुपर्दछ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी बडापत्रका साथै अन्तर्राष्ट्रिय सन्धि–सहमतिको सम्मान गर्दै सम्पूर्ण जनताको समान अधिकार एवम् मान्यताको ग्यारेन्टीका लागि सङ्घीयता आवश्यक भएको हो ।