राजन घिमिरे, अष्ट्रेलिया
गत हप्ता विश्व साइकलयात्री पुष्कर शाहले आफ्नो फेसबुकमा राखेका भाँडा माझ्दै गरेको तस्बिर भाइरल बन्न पुग्यो । तस्बिर मात्र नभई उनले स्वदेश छोडेको र अब अष्ट्रेलियामै भाँडा माझेर बस्ने निधो गरेको भन्ने समाचारसमेत चर्चामा रह्यो ।
पुष्करले ती तस्बिर अष्ट्रेलियाको मेलबर्नमा रहेको एक रेष्टुरेन्टमा खिचेका थिए । तस्बिर भाइरल भएपछि विश्वभरका शुभचिन्तकहरूबाट माया, सद्भभाव र सहानुभूतिका सन्देशहरू आएको शाहले बताए । तस्बिरबारे विभिन्न मिडियामा नकारात्मक खबरहरू फैलिएपछि उनी बिचलित पनि हुन पुगे ।
पुष्कर भन्छन्- ‘मैले ती तस्बिरहरु राज्यको आँखा खुलाउने उद्देश्यले प्रतीकात्मक हिसाबले मात्र फेसबुकमा राखेको थिएँ, तर साथीहरूले मलाई एक शब्द पनि नसोधिकन म विदेशिएको र देश छाड्न बाध्य भएको भन्ने लाइनबाट खबर सम्प्रेषित गर्नुभयो । वास्तवमा त्यो भ्रम र गलत नै हो ।’
सिडनीमा भेटिएका उनले घटना र विचारसँग कुरा गर्दै अगाडि भने- ‘मुलुक र माता छोडेर म भागेको पनि छैन र भाग्दिनँ पनि । म मेरा शुभ चिन्तकहरूलाई यो सन्देश पठाउन चाहन्छु कि म दशैँ मनाउन दुई हप्ताभित्रै नेपाल जाँदै छु ।’ अरू के के खुलासा गरे त उनले ? आखिर पुष्करले भाँडा माझेको वास्तविकता के हो त ? किन त्यसो गरे उनले ?
बाँकी कुरा उनकै शब्दमा…
मैले ११ बर्ष लगाएर १५० वटा देश घुमेँ । भारतबाट यात्रा शुरू गरेको थिएँ भने क्रोएशियामा पुगेर यात्रा टुंग्याएँ। अष्ट्रेलिया आगमन मेरो सातौँ पटक हो । भाँडा माझेर वा लुकेर विदेशिने हो भने म पहिलोपटक सन २००० मा अष्ट्रेलिया आउँदा नै बस्थेँ होला । म अहिले पर्यटक भिसामा आएको हुँ । मैले कानुनी रूपमा काम गर्न मिल्दैन । यहाँ मैले भाँडा त माझेकै हुँ तर काम गरेर पैसा कमाउन वा यतै जमेर बस्ने उद्देश्यले गरेको होइन । राज्यको आँखा खुलोस् भनी एकप्रकारले दबाब दिन र हाम्रो मूलुकका थुप्रै दाजुभाइ दिदीबहिनीहरू, प्रतिभाहरू विदेशिन बाध्य छन्, तिनीहरूलाई मूलुकमा नै बस्ने वातावरण गराई देउ भनेर प्रतीकात्मक ब्यंग्य थियो त्यो । मलाई दुई छाक खान र लगाउन स्वदेशमै पुग्छ । मेरी बुढी भएकी आमालाई छाडेर म कसरी परदेशिन सक्छु ?
कुनै पनि देशमा गैरकानुनी रूपमा बस्न मलाई मेरो स्वाभिमानले दिँदैन । मैले कसैलाई उठाउन र झक्झकाउन प्रतीकात्मक रूपमा तस्बिर राख्दा यस्तो गलत रूपमा भाइरल भयो…।
प्रतिक्रिया