संघर्षको विरासत र कांग्रेसको आत्मपरीक्षण

संघर्षको विरासत र कांग्रेसको आत्मपरीक्षण


श्रावण  ६ गते नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासमा एउटा सामान्य मिति मात्र होइन, एउटा युगलाई सम्झिने दिन हो । यो दिन नेपालले आफ्नो युगद्रष्टा राजनीतिज्ञ, प्रजातन्त्रका अथक योद्धा, प्रजातान्त्रिक समाजवादका प्रणेता, विलक्षण साहित्यकार तथा राष्ट्रिय चिन्तक विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई गुमाएको दिन हो । वि.सं. २०३९ साल साउन ६ गते उहाँको निधन भयो । आज उहाँको निधन भएको ४४ वर्ष पूरा भएको छ । समयले चार दशकभन्दा बढीको दूरी पार गरिसकेको छ, तर बीपीको विचार, दर्शन, राजनीतिक संस्कार र साहित्यिक चेतना नेपाली समाजमा अझै जीवन्त छन् । त्यसैले बीपी स्मृति दिवस केवल श्रद्धाञ्जली अर्पण गर्ने औपचारिक अवसर होइन, लोकतन्त्र, समाजवाद, राष्ट्रियता, नैतिक राजनीति र जनउत्तरदायी नेतृत्वप्रति पुनः प्रतिबद्ध हुने दिन पनि हो ।

वि.सं. १९७१ साल भदौ २४ गते भारतको वाराणसीमा जन्मनु भएका बीपीको जन्म नेपालबाहिर भए पनि उहाँको सम्पूर्ण जीवन, नेपाल र नेपाली जनताको स्वतन्त्रता, अधिकार र समृद्धिका लागि समर्पित रह्यो । उहाँको बाल्यकाल कुनै  सुविधा सम्पन्न वातावरणमा बितेन । उहाँको परिवार आफैं राणाशासनको दमनको सिकार बनेको थियो । बाल्यकालदेखि नै उहाँले निर्वासन, राजनीतिक उत्पीडन, अन्याय र स्वतन्त्रताको अभावलाई नजिकबाट देख्नुभयो । यही परिवेशले उहाँभित्र विद्रोह, लोकतन्त्र र सामाजिक न्यायप्रतिको अदम्य विश्वास निर्माण गऱ्यो ।

बीपीका पिता स्व. कृष्णप्रसाद कोइराला नेपालको लोकतान्त्रिक चेतनाका अग्रदूतमध्ये एक हुनुहुन्थ्यो । उहाँले राणा शासनको निरंकुशताको खुलेर विरोध गर्नुभयो, शिक्षाको विस्तारलाई राष्ट्रिय जागरणको आधार मान्नुभयो र नेपाली जनताको दयनीय अवस्थाबारे तत्कालीन शासकलाई निर्भीकतापूर्वक ध्यानाकर्षण गराउनुभयो । त्यसको परिणामस्वरूप उहाँ र उहाँको परिवारले निर्वासनको पीडा भोग्नुपऱ्यो । तर त्यो निर्वासन केवल भौगोलिक विस्थापन थिएन, त्यहीँबाट एउटा राजनीतिक विश्व विद्यालयको जन्म भयो, जहाँ देशप्रेम, सत्यप्रतिको निष्ठा, त्याग र जनसेवाको संस्कार हुर्कियो । त्यही संस्कारले बीपी, मातृकाप्रसाद, गिरिजाप्रसाद र तारिणीप्रसाद कोइरालाजस्ता व्यक्तित्व जन्मायो, जसले नेपालको लोकतान्त्रिक आन्दोलनलाई नयाँ दिशा दिए ।

भारतमा अध्ययनका क्रममा बीपी भारतीय स्वतन्त्रता आन्दोलनसँग जोडिनुभयो । महात्मा गान्धीको अहिंसा, जवाहरलाल नेहरूको लोकतान्त्रिक दृष्टि, जयप्रकाश नारायण र डा. राममनोहर लोहियाको समाजवादी चिन्तनले उहाँलाई गहिरो प्रभाव पाऱ्यो । ब्रिटिश शासनविरुद्धको आन्दोलनमा सक्रिय सहभागिता जनाउँदा उहाँ जेलसमेत पर्नुभयो । यही अनुभवले उहाँलाई लोकतन्त्र केवल शासन प्रणाली होइन, जनताको जीवनसँग गाँसिएको मूल्य हो भन्ने विश्वासमा अझ दृढ बनायो ।

नेपाल फर्किएपछि उहाँले राणाशासनविरुद्ध संगठित राजनीतिक आन्दोलनको नेतृत्व गर्नुभयो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापना, २००७ सालको जनक्रान्तिमा सक्रिय भूमिका, राणा शासनको अन्त्य, २०१५ सालको पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसको ऐतिहासिक विजय र नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा उहाँको उदय नेपाली इतिहासका गौरवपूर्ण अध्याय हुन् । तर लोकतान्त्रिक यात्राले लामो समय पाउन सकेन । २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार विघटन गरी बीपीलाई जेल हाल्नुभयो । उहाँले आठ वर्षभन्दा बढी जेल जीवन बिताउनुभयो, त्यसपछि लामो समय निर्वासनमा बस्नुभयो । तर पनि जेल, रोग, निर्वासन र दमनले उहाँको विचारलाई कहिल्यै झुकाउन सकेन ।

बीपीको राजनीतिक दर्शनको केन्द्रमा प्रजातान्त्रिक समाजवाद थियो । उहाँका लागि समाजवाद भनेको केवल सम्पत्तिको पुनर्वितरण वा राज्य नियन्त्रणको अवधारणा थिएन । उहाँका लागि समाजवाद भनेको आर्थिक समानता, सामाजिक न्याय, व्यक्तिगत स्वतन्त्रता र मानव मर्यादाको समन्वय थियो । उहाँले स्पष्ट रूपमा भन्नुभएको थियो-  ‘प्रजातन्त्रबिनाको समाजवाद अधिनायकवाद हो र समाजवादबिनाको प्रजातन्त्र असमानताको संरक्षण मात्र हो ।’ यही कारणले उहाँले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको वैचारिक धरातलमा उभ्याउनुभयो । प्रधानमन्त्री हुँदा भूमिसुधार, बिर्ता उन्मूलन, किसानमुखी नीति र प्रशासनिक सुधारका प्रयास त्यसैका प्रतिफल थिए ।

बीपीको प्रभाव नेपालको सीमाभित्र मात्र सीमित थिएन । उहाँ दक्षिण एसियाका लोकतान्त्रिक समाजवादी आन्दोलनका एक सम्मानित नेता हुनुहुन्थ्यो। उहाँले अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग घनिष्ठ सम्बन्ध राख्नुभयो । भारतका समाजवादी चिन्तक राममनोहर लोहिया, जयप्रकाश नारायण, अशोक मेहता लगायतसँग उहाँको वैचारिक सहकार्य थियो । उहाँले विश्वका लोकतान्त्रिक शक्तिहरूसँग नेपालको लोकतान्त्रिक आन्दोलनलाई जोड्ने पुलको भूमिका निर्वाह गर्नुभयो । नेपालमा लोकतन्त्र स्थापनाका लागि अन्तर्राष्ट्रिय जनमत निर्माण, सानो राष्ट्रको स्वाधीनताको पक्षमा आवाज उठाउने र लोकतान्त्रिक समाजवादलाई दक्षिण एसियाली सन्दर्भमा स्थापित गर्ने कार्यमा उहाँको योगदान उल्लेखनीय छ ।

बीपीको अर्को महान् योगदान राष्ट्रिय मेलमिलापको नीति हो । २०३३ सालमा लामो निर्वासनपछि उहाँ स्वदेश फर्कनुभयो । उहाँलाई थाहा थियो कि जेल पर्ने सम्भावना छ, तर उहाँले राष्ट्रलाई प्राथमिकता दिनुभयो । उहाँले प्रतिशोध होइन, मेलमिलापको राजनीति अघि सार्नुभयो । उहाँको विश्वास थियो कि राष्ट्रिय एकता र लोकतन्त्र एकअर्काका विरोधी होइनन्, पूरक हुन् । राष्ट्रभन्दा माथि कुनै पनि राजनीतिक स्वार्थ हुन सक्दैन भन्ने उहाँको दृष्टिकोण आजको विभाजित राजनीतिक परिवेशमा झन् सान्दर्भिक देखिन्छ ।

बीपी राजनीतिका मात्र होइन, नेपाली साहित्यका पनि अद्वितीय स्रष्टा हुनुहुन्थ्यो । ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘नरेन्द्रदाइ’, ‘मोदीआइन’, ‘श्वेत भैरवी’, ‘दोषी चस्मा’ र ‘हिटलर र यहुदी’ जस्ता कृतिहरूले नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादको नयाँ आयाम थपे । उहाँकाे साहित्यमा प्रेम, यौन मनोविज्ञान, सामाजिक संरचना, धार्मिक द्वन्द्व, मानवीय संवेदना र अस्तित्वबोधको गहिरो विश्लेषण पाइन्छ । उहाँले राजनीतिमा जस्तै साहित्यमा पनि मानिसलाई केन्द्रमा राख्नुभयो । त्यसैले उहाँका कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक र पठनीय छन् ।

आज नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको सबैभन्दा पुरानो राजनीतिक दलका रूपमा उभिएको छ । संविधान निर्माणदेखि लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससम्म पार्टीको योगदान महत्त्वपूर्ण छ । तर बीपीले कल्पना गरेको कांग्रेस विचारप्रधान, त्यागी, अनुशासित र जनउत्तरदायी संगठन थियो । आज भने कांग्रेसभित्र गुटगत प्रतिस्पर्धा, व्यक्तिकेन्द्रित राजनीति, वैचारिक बहसको कमी, संगठनात्मक कमजोरी र युवापुस्ताको घट्दो आकर्षणबारे प्रश्न उठिरहेका छन् । बीपीको तस्बिर कार्यालयमा राख्नु र उहाँको जयन्ती तथा स्मृति दिवस मनाउनु मात्र पर्याप्त हुँदैन; उहाँका विचारलाई संगठनको संस्कार, निर्णय प्रक्रिया र राजनीतिक व्यवहारमा उतार्न सकिए मात्र त्यो सच्चा सम्मान हुनेछ ।

आज नेपाल नयाँ चुनौतीहरूको सामना गरिरहेको छ । लोकतन्त्रमाथिको जनविश्वास कमजोर हुँदै गएको छ । भ्रष्टाचार, बेरोजगारी, आर्थिक असमानता, राजनीतिक अस्थिरता, अवसरवाद र नैतिक नेतृत्वको संकट गहिरिँदै गएको छ । विश्व कृत्रिम बुद्धिमत्ता र डिजिटल अर्थतन्त्रको युगमा प्रवेश गरिसकेको छ, तर लोकतान्त्रिक मूल्य र सामाजिक न्यायका प्रश्न अझै जीवित छन् । यस्तै परिस्थितिमा बीपीको सन्देश झन् सशक्त लाग्छ – ‘राजनीतिलाई विचार चाहिन्छ, विकासलाई न्याय चाहिन्छ, लोकतन्त्रलाई नैतिकता चाहिन्छ र राष्ट्रलाई इमानदार नेतृत्व चाहिन्छ ।’

४४ वर्षअघि एउटा महान् व्यक्तिको देहावसान भयो, तर एउटा विचारको मृत्यु भएन । बीपी कोइरालाले छाडेर जानुभएको राजनीतिक दर्शन, नैतिक नेतृत्व, प्रजातान्त्रिक समाजवाद, राष्ट्रिय मेलमिलापको भावना र साहित्यिक चेतना आज पनि नेपाली समाजका लागि मार्गदर्शक हुन् । उहाँलाई सम्झनु भनेको अतीतको गौरव गाउनु मात्र होइन, वर्तमानलाई सच्याउँदै भविष्यको बाटो तय गर्नु हो ।

यस ४४औँ बीपी स्मृति दिवसमा सबैभन्दा ठूलो श्रद्धाञ्जली फूल चढाउनु होइन, उहाँले देखाएको विचारलाई जीवन र राजनीतिमा उतार्नु हो । विशेषतः नेपाली कांग्रेसले बीपीलाई साँचो अर्थमा सम्मान गर्न चाहन्छ भने पार्टीभित्र विचारको पुनर्जागरण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, प्रजातान्त्रिक समाजवादप्रतिको स्पष्ट प्रतिबद्धता, नैतिक राजनीतिक संस्कार र जनविश्वास पुनःस्थापित गर्ने साहस देखाउनुपर्छ । 

विचार बाँचेसम्म बीपी बाँच्छन्, लोकतन्त्र बाँचेसम्म बीपीको सपना बाँच्छ र नेपालले नैतिक राजनीतिको खोजी गरिरहेसम्म बीपी कोइराला सदैव सान्दर्भिक रहिरहन्छन् ।

(लेखक नेपाली कांग्रेस झापाका सूचना, संचार तथा प्रचार विभाग प्रमुख हुन् ।)